थप समाचार शनिबार, वैशाख १३, २०७७

कोरोनामुक्त ६१ वर्षीया पानादेवी भन्छिन्- रोग जितेर आएँ, अब चर्पी बनाउँछु

रासस

कोरोनामुक्त ६१ वर्षीया पानादेवी भन्छिन्- रोग जितेर आएँ, अब चर्पी बनाउँछु
तस्वीर: प्रकाश मिश्र / रासस

कोरोनाभाइरसको संक्रमण भएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक रोगमुक्त भएर अस्पतालबाट बिहीबार घर फर्किएकी छन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ दिनको उपचारपछि उनी घर फर्केकी हुन्। विकसँग राससका प्रकाश मिश्रले गरेको कुराकानी:

कोरोनालाई पराजित गर्नुभएको छ, कस्तो लागिरहेको छ ?

मलाई दमको रोग छ, त्यसैले कहिलेकाहीँ चिन्ता हुन्थ्यो। त्यस बाहेक मलाई म ठीक हुन्छु भन्ने विश्वास थियो। मैले हिम्मत कहिल्यै हारिनँ, जहिले पनि ठीक हुन्छु भन्ने सोचेर बस्थें। अन्तिममा सबै डाक्टर, नर्सहरूको रेखदेखले म ठीक भएँ। सबैलाई सताइरहेको यो रोगलाई जित्न सकेकोमा निकै खुशी छु।

अस्पतालमा डाक्टर तथा नर्सहरूको व्यवहार कस्तो पाउनुभयो ?

मैले खूबै राम्रो व्यवहार पाएँ। उहाँहरू मलाई आमा भनेर बोलाउनुहुन्थ्यो, सरसफाइमा ध्यान दिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। आमा धेरै चिन्ता नगर्नुस्, तपाईं सञ्चो भइहाल्नुहुन्छ भनेर हिम्मत बढाउनुहुन्थ्यो। डाक्टर तथा नर्सहरूलाई धेरै धेरै धन्यवाद छ।

शुरुमा कोरोना लाग्यो भनेर थाहा पाउँदा कस्तो लागेको थियो, म ठीक हुन्छु जस्तो लागेको थियो ?

म वीरगञ्जबाट आउनेबित्तिकै क्वारेन्टिनमा बसें। शुरुमा कुनै लक्षण नदेखिएपछि घर गएँ तर तीन दिनपछि कोरोना लागेको भन्ने खबर सुन्दा डर नलाग्ने कुरै भएन। शुरुमा म धेरै डराएको थिएँ। तर पछि लाग्यो, काल नआई कसरी मरिएला र ? त्यसैले हिम्मत बढाएर बसें र कोरोनालाई जितेर घर आएको छु।

तपाईंलाई कोरोना ठीक भयो भनेर डाक्टरले भन्दा कस्तो लागेको थियो ? कसलाई सम्झनुभयो ?

ओहो, कुरै नगर्नुस्, कत्ति खुशी थिएँ भन्ने कुरा म भन्नै सक्दिनँ। मलाई यो रोग ठीक भयो भन्ने सुन्दाका बखत आफ्ना छोरा, नाति, आफन्त तथा देवीदेउता सम्झिएँ। माथितिर हेरेर बेस्सरी चिच्याएँ, सोच्नुस् त्यति खुशी मैले जीवनमा कहिल्यै पाएको थिएन। मैले आफूलाई आफ्ना सारा दुश्मन हराएर आएको सैनिक जस्तो सोचिरहेको थिएँ।

तपाईंसँग त मोबाइल पनि छैन, अस्पतालमा ११ दिन कसरी बिताउनुभयो ?

अस्पतालको कोठामा आफ्ना बालबच्चा सम्झने, बस्ने, सुत्ने, त्यसै गरी बिताएँ। कहिले घर जान पाउँला सोचेर बसिरहन्थें। एक्लै बस्दा मनमा नकारात्मक कुरा आउन सक्छन् भनेर जहिले पनि आत्मविश्वास बढाएर बसें।

अहिले अस्पतालबाट घर फर्किसकेपछि कसरी दिन बिताइरहनुभएको छ ?

अस्पतालमा त एउटा कोठामा एक्लै थिएँ। न्यास्रो पनि लाग्थ्यो, तर यहाँ घर आइसकेपछि अलग्गै सानो भान्सा छ, त्यसमा एक्लै बस्छु। बिहान उठेर आँगन लिप्छु, खाना पकाउँछु, खान्छु। घरमा अरू त सबै कुरा ठीक छ, तर चर्पी छैन। त्यसैले जङ्गलमा गएर दिसापिसाब गर्छु, त्यति दुःख छ। चर्पी भएको भए धेरै दुःख हुँदैन थियो। बिहानै उठेर जङ्गल गएर दिसापिसाब गरेर आउँछु। मेरो एउटै चाहना छ, अब चर्पी बनाउने।

घर फर्किसकेपछि आफन्त, छिमेकीको व्यवहार कस्तो पाउनुभएको छ ?

सबैले राम्रै गरेका छन्। छरछिमेकीहरु तपाईं कोरोना लागेर अस्पताल जाँदा गाउँमा त्रास थियो, ठीक भएर आएपछि सबै त्रास हराएको छ भन्छन्। कोरोना जितेर अस्पतालबाट आएको आज तेस्रो दिन भएको हुनाले टाढैबाट बधाई दिएर जान्छन् गाउँलेहरु।

यो रोगलाई कसरी हराउन सकिंदो रहेछ ?

यो रोगलाई मैले त मेरो हिम्मतले हराएको हुँ। सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो। यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ। म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ, हिम्मत गरेपछि अरूले हराउन नसक्ने कुरै छैन।

प्रतिकृया दिनुहोस