टिप्पणी आइतबार, वैशाख १४, २०७७

‘सूचना–महामारी’को खतरा

हिमालखबर

‘सूचना–महामारी’को खतरा
स्केच: भानु भट्टराई

भ्रम छर्ने र गलत सूचना प्रवाहले कोरोना महामारीका वेला समाजमा आतंक फैलाउने मात्र होइन, सद्भाव समेत बिथोल्न सक्छन् भन्ने पाठ विगतबाट हाम्रा सञ्चारमाध्यमले सिक्नुपर्छ।

विमल पोखरेल

विश्वव्यापी रुपमा कोभिड–१९ महामारी तीव्र गतिले फैलिइरहेको छ । कतिपय देशले महामारी नियन्त्रणमा सफलता प्राप्त गरिरहेका छन् । अधिकांशका लागि यो एक्काइसौं शताब्दीकै ठूलो लडाइँ बनेको छ।

कोरोना महामारी बारे सञ्चारमाध्यमकै कारण क्षणभरमै संसारभरका खबर प्राप्त गर्न सजिलो भएको छ । रोग, संक्रमण र उपचारका यद्यावधिक जानकारी हासिल गर्न र सचेत हुन सञ्चारमाध्यमको भूमिका सशक्त छ । खासगरी पछिल्लो समय द्रुतगतिमा विकसित डिजिटल मिडियाले महामारीविरुद्धको एउटा अस्त्र झैं बनेको छ।

तर, हामीले स्वीकार्नुपर्छ, महामारीको सन्दर्भमा धेरै सञ्चारमाध्यमले भ्रामक र असत्य समाचार पनि प्रवाह गरिरहेका छन् । यसले जनमानसमा भ्रम फैलिएको छ, असत्य कुरा सत्य ठानी पत्याउँदा समाजमा क्षति पनि पुगेको छ।

पत्रकार, सम्पादकहरु सामाजिक सञ्जालको भर परेका कारण पनि यस्ता दुर्घटना भएका छन् । अनलाइनमा भ्युज बढाउने दौडले पनि समस्या निम्त्याएको छ । तर, कोरोनाको सन्दर्भमा त्यो दौड प्रत्युत्पादक हुन सक्छ।

हतारका समाचार
गएको डिसेम्बर अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसले करीब तीन महीनापछि मात्र नेपाललाई बन्दाबन्दीको अवस्थामा पु¥यायो । तर, यो प्रकोपका समाचार जनवरी पहिलो साताबाटै आउन थालेका थिए।

चीनमा दैनिक हजारौंको संक्रमण, सयौंको मृत्यु भइरहँदा पनि पश्चिमी मिडिया चीनप्रति पूर्वाग्रही भइरहे । कोरोनालाई चिनियाँ भाइरस भनियो, यूरोपमा भएका चिनियाँ नागरिकप्रति दुव्र्यवहार गरिए । भाइरसविरुद्ध चीनले गरेको बन्दाबन्दीलाई केही पश्चिमी देशहरुले मानवअधिकार विरोधीको संज्ञा दिए । विरोध गरे । माओत्सेतुङको मुखमा मास्क लगाएको तस्वीर प्रकाशन बारे पनि विवाद उत्पन्न भयो।

जनतालाई छिटो सूचना दिनु सञ्चारमाध्यमको कुशलता हो । तर परिपक्व नभइसकेका, विवाद आउन सक्ने खालका र तत्कालै नदिएर नबिग्रने समाचार सम्पे्रषणमा धैर्य गर्नुपर्छ । तर, यस्तो धैर्य नेपाली सञ्चारमाध्यमले पटकपटक गुमाएका छन्।

कोरोनाको सन्दर्भमा पनि यस्तै भयो । भारतको अस्पतालमा उपचाररत् वीरगञ्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोना संक्रमित समाचार आयो । अस्पतालले आधिकारिक विज्ञप्ति जारी नगर्दै वीरगञ्जका प्रमुख जिल्ला अधिकारीको भनाइको भरमा समाचार बनाइयो । जुन लगत्तै गलत ठहरियो । समाचारका कारण ती व्यवसायी र तिनको परिवारजनलाई पर्नसक्ने असर मूल्यांकन गर्न हाम्रा कतिपय सञ्चारमाध्यमले आवश्यकसम्म ठानेनन्।

मुटु, मिर्गौला वा अन्य रोगले मृत्यु भएका कतिपय मानिसमा पनि कोरोनाकै आशंका गरिएका समाचार पनि आइरहेका छन् । ट्राभल हिस्ट्रीका आधारमा शंका नै नगरिनुपर्ने बिरामीलाई समेत मिडियाले कोरोना पीडित बनाइदिएका छन्।

आरडीटीको हल्ला
गत चैत पहिलो सातामा विदेशबाट आएका र तिनीहरुसँग सम्पर्कमा रहेका सबैलाई अहिलेसम्म कोरोनाभाइरस परीक्षण गरिसक्नुपथ्र्यो । तर, आजसम्म परीक्षण सकिएका छैनन् । उनीहरुमाथिको परीक्षण जति छिटो गर्न सक्यो, त्यति नै मुलुकमा महामारी परिस्थितिको आकलन गर्न सकिन्थ्यो । शुरुमा विदेशबाट आएका व्यक्तिहरुको पीसीआर (पोलिमेरास चेन रियाक्सन) परीक्षण गर्ने गरिएको थियो । पीसीआर विशेष प्रकारको ल्याबमा विशेषज्ञले नै गर्नुपर्ने, महंगो र ढिला रिपोर्ट आउने परीक्षण हो।

महामारीको समयमा समुदायमै र्‍यापिड डायग्नेष्टिक टेस्ट (आरडीटी) गरिन्छ । विशेषज्ञहरुका अनुसार आरडीटीले भाइरस पत्ता लगाउने नभएर भाइरसका कारण शरीरमा उत्पन्न हुने एन्टीबडी अवस्था पत्ता लगाउने हो । भाइरस पत्ता लगाउन पीसीआर परीक्षण नै गर्नुपर्ने हुन्छ।

तर, सञ्चारमाध्यमहरुले आरडीटी पोजेटिभ रिपोर्टकै आधारमा व्यापक रुपमा कोरोना संक्रमण भेटियो भनेर प्रचार गरे । यसले समाजमा आरडीटी पोजेटिभ देखिएका व्यक्तिहरु बारे नकारात्मक धारणा उत्पन्न विकास भयो, सबैलाई सारिसक्यो, कस्तो अपराधी रहेछ भन्नेसम्मका हल्ला चले । अझ, सञ्चारमाध्यमले त नेगेटिभ र पोजेटिभ जस्ता अंग्रेजी शब्द नभई ‘कोरोना पुष्टि भयो या भएन’ जस्ता प्रष्ट शब्दावली प्रयोग गर्नुपर्ने हो।

खै धार्मिक संवेदनशीलता ?
जनकपुरको पैसा आतंक अर्को खतरनाक सञ्चारमाध्यमको प्रचार थियो । दुई जना महिलाले पैसा छरेर कोरोना फैलाउँदै हिंडेको आशंका गरिएको भनेर शहर आतंकित भयो।

पैसा आतंकपछि ती महिलालाई नियन्त्रणमा लिइयो र फेरि अर्काे अफवाह फैलाइयो, उनीहरु मुस्लिम महिला हुन् भन्ने । उनीहरुको धार्मिक पहिचान किन र कसले सार्वजनिक गर्‍यो ? प्रहरीले बन्दाबन्दी उल्लंघन गरेर नियन्त्रणमा लिएका अन्यको धार्मिक पहिचान खुलाइएको थियो?

आवरणमा अल्पसंख्यक मुसलमानहरुमाथि सामाजिक र मानसिक हिंसा मच्चाउन को उद्यत छ ? र, यस्ता तत्वको उक्साहटमा जानी, नजानी कतै हाम्रा सञ्चारमाध्यम त प्रयोग भइरहेका छैनन् ? यसतर्फ गम्भीर हुनुपर्छ । महामारीको बेला धार्मिक हिंसा हुनसक्ने कुनै पनि समाचार, सन्देश जनतामा जान दिनुहुँदैन ।

यस्ता अफवाहबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने उदाहरण हामीले १६ भदौ, २०६१ को घटनाबाट बेहोरिसकेका छौं । इराकमा आतंकवादीहरुले १२ जना नेपालीको बर्बरतापूर्ण हत्या गरेको खबर फैलिएपछि यो दिन काठमाडौंलगायत देशभर मुसलमान समुदायमाथि सांघातिक हमला गरिएको थियो । ठूलो जनधनको क्षतिपछि काठमाडौंमा कर्फ्‍यु नै लगाउनुपरेको थियो । हामीले यस्ता घटनाबाट पाठ सिकिरहनुपर्दछ।

भारतीय कतिपय मिडियाले पनि अहिले त्यहाँका मुसलमानहरुमाथि कोरोनाको बहानामा थप सामाजिक र मानसिक हिंसा मच्चाएका छन् । नेपाली नागरिकसमेतलाई आरोप लगाइरहेका छन् । भारतीय मिडियाको गैरजिम्मेवारीपूर्ण व्यवहारलाई सरकारले खण्डन गरिसकेको छ । यस्तो हामी नेपालीले उच्चस्तरको सावधानीका साथ सबै धर्मावलम्बीबीच राष्ट्रिय एकता कायम गर्नुपर्दछ।

पाठकप्रतिको जिम्मेवारी
राज्यको चौथो अंग मानिएको सञ्चारमाध्यमप्रति जनताको विश्वास र भरोसा हुनु लोकतन्त्रका लागि सुखद कुरा हो । आफ्नो यही साखलाई विस्तार गर्दै लैजाने हरेक सञ्चारमाध्यमको दायित्व हो।

भ्रम फैलाउने, झूटा र अनावश्यक सामग्री पनि हेरिने गर्छन् तर कतिपयले त्यसकै आधारमा धारणा समेत बनाउँछन्।

तर, हामीले विचार गर्नुपर्ने अर्को पक्ष पाठक हुन् । सबै पाठकमा सञ्चारमाध्यममा दिइएको सूचना पर्गेल्ने, विश्लेषण गर्ने, सत्य—असत्य छुट्याउने एकनासको क्षमता हुँदैन । त्यसैले भ्रम फैलाउने, झूटा र अनावश्यक सामग्री पनि हेरिने गर्छन् तर कतिपयले त्यसकै आधारमा धारणा समेत बनाउँछन्।

यहाँनेर गलत सूचना र धारणालाई चिर्ने जिम्मेवारी पनि मिडियाकै हो । मूलधारका मिडियाले समयमै सही सूचना सम्प्रेषण गर्न नसकेकै कारण गलत धारणा विकसित भएका हुन्।

त्यसैले पनि मिडिया चनाखो बन्नुपर्छ । राज्यका निकायले जिम्मेवारी पूरा गरेनन् भने मिडियाले आफ्ना समाचारले पार्ने जोखिम समयमै आकलन गर्नुपर्छ । आफूलाई विवेकी बनाउनुपर्छ । र, महामारीका बेला यो जिम्मेवारीको झनै बढी आवश्यकता छ।

(पोखरेल अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष हुन्।)

 

प्रतिकृया दिनुहोस