टिप्पणी शनिबार, वैशाख १३, २०७७

महामारीमा तब्लिगी जमातको मूर्खता

हिमालखबर

महामारीमा तब्लिगी जमातको मूर्खता

मुस्लिम समुदायलाई हिंसा मार्फत जिहाद होइन, आफूभित्रकै अराजकता विरुद्ध लड्न प्रेरित गर्ने तब्लिगी जमातले महामारीका बेला समेत धर्मप्रचारमा खटिरहनु बुद्धिमत्ता होइन, मूर्खता हो । 

 वासिंगटनस्थित अलजजिरा टेलिभिजनका का पत्रकार मेहदी हसन लेख्छन्, “कोरोनाभाइरसले इस्लामोफोबियाको मूर्खता उदांगो पारिदिएको छ ।” लाग्छ, भारत र नेपालमा इस्लामोफोबिया भएकाहरुको कोभिड १९ प्रतिको दृष्टिकोणप्रति यो भनाइ केन्द्रित छ ।

भारतीय संचारमाध्यमहरु र कतिपय सरकारी अधिकारीले समेत कोभिड १९ संक्रमणमा मुस्लिम समुदाय र तब्लिगी जमातलाई दोष दिइरहेका छन् । मानौं यो जमात नै महामारीको मुख्य कारण हो । नेपालमा पनि कसैकसैले संक्रमणलाई साम्प्रदायिक रंग दिने प्रयास गरेका छन् । त्यस्ता घृणा फैलाउनेहरुलाई उत्तरदायी बनाउन सरकारले ठोस कदम भने चाल्नुपर्ने देखिन्छ ।

यो लेख तब्लिगी जमातको बचावट होइन । यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न अघि बढ्न सकिन्छ भन्ने मेरो उद्देश्य हो ।

पहिलो त भारतीय संचारमाध्यमहरुमा एक नेपाली मुस्लिमले २०० भन्दा बढी कोरोना संक्रमित मुस्लिम भारतमा पठाएर संक्रमण फैलाउन खोजिरहेको समाचार सार्वजनिक भयो । यो कुरा कतिसम्म कृत्रिम र कमजोर थियो भने, त्यतिबेलासम्म नेपालमा संक्रमितको संख्या १० भन्दा बढी थिएन । त्यसपछि जनकपुरमा दुई मुस्लिम महिलाले आफ्ना थुक लगाएका पैसाहरु बाटोमा फालेर संक्रमण फैलाउन खोजेको भन्ने अफवाह फैलियो । पछि पुष्टि भयो, न ती महिला संक्रमित थिए न उनीहरुले पैसा फालेका थिए । पैसा आफैं खसेको थियो ।

अहिले उदयपुरमा तब्लिगी जमातमा आबद्ध मानिसमा कोरोना संक्रमणलाई लिएर समाचार आइरहेका छन् । संचारमाध्यमहरुका अनुसार ती भारतीय नागरिक हुन् । उनीहरुलाई एउटा मस्जिदमा भेटियो, जहाँ उनीहरु प्रायः बस्ने गर्छन् । तर, कतिपय सञ्चारमाध्यमले उनीहरु त्यहाँ ‘लुकेर बसेको’सम्म भनिरहेका छन् ।

तब्लिगी जमातका सदस्य भारतकाे दिल्लीस्थित निजामुद्दिन मर्कज अगाडि । तस्वीर: मिडियम

के हो तब्लिगी जमात?

सबैभन्दा पहिले तब्लिगी जमात के हो, जान्न जरुरी छ । करीब एक सय वर्षअघि स्थापित यो संस्थाका शाखा अहिले एक सय ५० भन्दा बढी देशहरुमा छन् । संस्थाको मुख्य उद्देश्य मुस्लिमहरुलाई इस्लामको साँचो मार्गमा लिएर जाने हो ।

यो जमातले भारत र सम्भवतः दक्षिण एसियाकै सबैभन्दा ठूलो मदरसा दारुल—उलूम—दिओबन्द मा केन्द्रित हनफी विचारधारा आत्मसात गर्छ । एकै समयमा एकसाथ हिंड्ने व्यक्तिहरुको संख्यालाई हेर्दा, आजको समयमा यो जमात इस्लाम प्रचार गर्ने सबैभन्दा ठूलो संस्था हो भन्दा फरक पर्दैन  । जमातका सदस्यहरु तलबी होइनन्, उनीहरु आफ्नो काँधमा अत्यावश्यक सामग्रीहरु बोकेर लण्डन र न्यूयोर्क जस्ता महानगरमा यात्रा गर्छन्, मुस्लिम समुदायहरुलाई खोज्दै विकट, कुनाकाप्चामा समेत पुग्दछन् ।

यो संस्थाले आफूलाई पूर्णरुपमा ‘गैरराजनीतिक’दाबी गर्दै सबै प्रकारका राजनीतिक संस्थाहरु र घटनाप्रति पूर्ण रुपमा ‘तटस्थ’ता को नीति अख्तियार गर्दै आएको छ । यस्तो चरम तटस्थताका कारण कहिलेकाहीँ उनीहरुप्रति मानिसहरुको निराशा पनि अभिव्यक्त हुनेगर्दछ । जस्तै, बाबरी मस्जिदको विनाश र त्यसपछिका परिणाममा समेत यो संस्था मौन रह्यो ।

भनिन्छ, पाकिस्तानमा यो संस्थाको जमातमा उग्र वा कट्टरपन्थी मुस्लिमहरु समेत सहभागी हुन्छन् । तर बुझ्न जरुरी के छ भने यो संस्थाले आफूकहाँ आउनमा कसैलाई पनि रोकतोक गर्दैन । किनकि उग्र विचारधाराका व्यक्तिहरु पनि सही मार्गमा आऊन् र आफ्ना नराम्रा क्रियाकलाप त्याग्न सकून् भन्नेमा  या संस्थाको विश्वास रहिआएको छ ।

मानिसले मानिस मार्ने ‘जिहाद’जस्ता क्रियाकलापमा कहिल्यै संलग्न नहुने र आफैभित्रको अराजकतासँग लड्ने जिहाद (जिहाद—बिन—नफ्स) मा केन्द्रित हुने यो संस्थाको मुख्य धार्मिक प्रचार विधि हो ।

भारतमा सन् १९४९ मा जब राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई प्रतिबन्ध लगाउने सोच बनेको थियो, त्यहीबेला तब्लिगी जमातलाई पनि प्रतिबन्ध लगाउने प्रस्ताव आयो । यस विषयमा भारतीय स्वतन्त्रता सेनानी एवं प्र्रथम शिक्षा मन्त्री मौलाना अबुल कलाम अजादले भनेका थिए, “यी तब्लिगी जमाते जमिनमुनि र आकाशमाथिको कुरा गर्छन्, यिनीहरुबाट कसैलाई केही खतरा छैन ।”त्यसपछि भारत र पाकिस्तान मात्र होइन, सम्पूर्ण विश्वले नै तब्लिगी जमातलाई यसै दृष्टिकोणबाट हेर्ने गरेको पाइन्छ ।

धेरै राष्ट्रका सरकारहरुले तब्लिगी जमातलाई आफ्नो प्यारो बनाएको भएता पनि यसलाई फरक ढंगबाट हेर्नेमा स्वयं मुस्लिम समुदाय भित्रैका विभिन्न समूह पनि रहेका छन् । दुई वर्षअघि मात्र जमातले ‘नेतृत्वमा शिक्षाको महत्व नकार्दा’यसको वैचारिक नेतृत्व दिँदै आएको संस्था दिओबन्द जमातबाट टाढिएको थियो । प्रखर र प्रभावशाली बौद्धिक मौलाना वाहिद्दुदीन खानले पनि जमातले अवलम्वन गर्दै आएको विधीलाई ईंगित गर्दै भनेका थिए, “जमातको प्रारम्भिक उद्देश्य मेवतका मुस्लिम (जो आदिवासी थिए)लाई सच्चा मुस्लिम बनाउने थियो, तर अहिले उनीहरु सबै मुस्लिम समुदायलाई मेवती बनाउन खोज्दैछन् ।”

साउदी अरेबियाले १३ फेब्रुअरी २०२० मा सरकार अन्तर्गतका सबै मस्जिदका इमामहरुलाई शुक्रबारको प्रार्थनामा तब्लिगी जमातका विधीहरु बिरुद्धमा बोल्न निर्देशन दिएको छ । भारतीय इतिहासकार इरफान हबिब त तब्लिगी जमातलाई ‘इस्लामकै दुश्मन’समेत भन्ने गर्छन् ।

एकदिन मोहम्मद, एक सहयात्रीसँग यात्रामा थिए, बाटोमा आराम गर्ने ठाउँ आइपुग्यो । सहयात्रीले ऊँट नबाँधीकन खुल्ला छाडिदिएछन्   मोहम्मदले किन त्यसो गरेको भनेर सोध्दा उनले भनेछन्, अल्लाहले हेर्नेछन् ।

जवाफमा मोहम्मदले भने, पहिले आफ्नो ऊँट बाँध, अनि अल्लाहको भरोसा गर । के जमातलाई यो कथा थाहा थिएन ?

ऊँट र मोहम्मदको प्रसंग झैं जमातीहरुले पनि पहिले आफूलाई संक्रमण भए, नभएबारे स्वास्थ्य जाँच गराउनुपर्छ, अनि मात्र अल्लाहमाथि भरोसा राख्नुपर्छ ।

जमातको कमजोरी

यतिबेला संसार नै कोभिड १९ संक्रमणले ग्रसित छ, तर यो जमातका धर्म प्रचारक १५० भन्दा बढी देशहरुमा खटिइरहेका छन् । यहिँनेर तब्लिगी जमातले मूर्खता गरेको छ । उसले महामारीका बेला शिक्षा र बौद्धिकता आत्मसात गरेन । त् यो सँगै अन्तर्राष्ट्रिय समुदाय र सरकारहरुले यो समय धर्म प्रचार गर्ने होइन भन्ने कुरा तब्लिगी जमातलाई किन सम्झाउन सकेनन् ? भन्ने प्रश्नको जवाफ पनि खोज्न जरुरी छ ।

इस्लामका संस्थापक धर्मगुरु मोहम्मदले भनेका छन्, “कुनै पनि ठाउँमा महामारी हुँदा त्यहाँभित्र र त्यहाँबाट बाहिर नजाऊ ।” संक्रमणमा परेका एकजनाले हात मिलाउन खोज्दा स्वयं मोहम्मदले उनीसँग हात मिलाएका थिएनन् ।

एकदिन मोहम्मद, एक सहयात्रीसँग यात्रामा थिए, बाटोमा आराम गर्ने ठाउँ आइपुग्यो । सहयात्रीले ऊँट नबाँधिकन खुल्ला छाडिदिएछन् ।  मोहम्मदले किन त्यसो गरेको भनेर सोध्दा उनले भनेछन्, “अल्लाहले हेर्नेछन् ।”

जवाफमा मोहम्मदले भने, “पहिले आफ्नो ऊँट बाँध, अनि अल्लाहको भरोसा गर ।” के जमातलाई यो कथा थाहा थिएन ?

खाडी क्षेत्रका मुलुकहरुमा कोरोना महामारी शुरु हुने बित्तिकै मस्जिदहरु बन्द गरियो । यस्ता विपत्का घडीमा अनिवार्य प्रार्थनाका लागि अजाननै संशोधन गरिएको छ । अहिले अजान भन्छ, “घरबाटै प्रार्थना गर ।”

यतिबेला तब्लिगी जमातको यो कमजोरीले सम्पूर्ण मुस्लिम समुदाय नै बदनाम बनिरहेको छ । त्यसैले जमातले गल्ती मनन् गर्नुपर्छ । अनि, आफूलाई संक्रमण भए, नभएबारे स्वास्थ्य जाँच गराउनुपर्छ । ऊँट र मोहम्मदको कथा प्रसंग झैं पहिले आफ्नो उपचार गराउनुपर्छ, अनि मात्र अल्लाहमाथि भरोसा राख्नुपर्छ ।

(मोहम्मद अयुब विकास, विश्वव्यापीकरण र श्रम आप्रवासनमा केन्द्रित अनुसन्धानकर्ता हुन् ।)

प्रतिकृया दिनुहोस