रिपोर्ट शनिबार, वैशाख १३, २०७७

देहातका तरकारी व्यापारीको दुःख– 'प्रहरीको डरले मध्यराततिरै शहर पस्छौं'

मुकेश पोखरेल

देहातका तरकारी व्यापारीको दुःख– 'प्रहरीको डरले मध्यराततिरै शहर पस्छौं'
बुटवलमा तरकारी बेच्न आएका रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का प्रभु लोध ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का प्रभु लोध (४०) को पेशा हो, साइकलमा टोल–बजार डुलेर तरकारी बेच्नु। २० वर्षयता उनले बुटवलमा तरकारी बेच्दै आएका छन्।

झण्डै ३५ किलोमिटर टाढाको मानपकडी गाउँबाट उनी साइकलको अघि–पछि तरकारीका बोरा बाँधेर बुटवल आउँछन्। घरघरमा पुगेर काउली, मुला, साग, खुर्सानी, धनियाँ लगायत सिजन अनुसारका तरकारी बिक्री गर्छन्।

गाउँबाट शहर आउने र फर्कने उनको समय तालिका र हिंड्ने बाटो २० वर्षसम्म एउटै थियो। तर, कोरोनाभाइरस (कोभिड–१९) महामारीको प्रभावले अरु क्षेत्रलाई जस्तै उनको नियमित कामलाई पनि प्रभावित बनायो।

संक्रमण रोकथामका लागि घोषित लकडाउन (बन्दाबन्दी) शुरू हुनुअघि उनी बिहान ५ बजे साइकलको पाइडल ठेल्दै गाउँबाट हिंड्थे। तर, अहिले रातको १ बजे नै बुटवल बजारतर्फ लाग्छन्। “उज्यालो हुँदा बाटोमा पुलिसले भेट्यो भने पिट्छ”, बाध्यता सुनाउँदै लोध भन्छन्, “पुलिसले नभेटोस् भनेर मध्यरातमा हिंड्छु।”

साइकलमा ल्याएको तरकारी उनी बिहान ९ बजेसम्म बिक्री गरिसक्छन्। तर, घर फर्कने वेला सधैं हिंड्ने मूल बाटो हिंड्न पाउँदैनन् उनी। बन्दाबन्दीमा मानिसको आवतजावतमा प्रहरी र स्थानीयले ठाउँठाउँमा अवरोध गर्ने भएकाले उनी बस्तीभन्दा टाढाको बाटो भएर तिनाउ खोला किनार हुँदै फर्किन्छन्।

महामारी विरुद्धको बन्दाबन्दीले प्रभु लोध एक्लैको नभई गाउँको तरकारी बजारमा पुर्‍याई बिक्री गरेर दुई छाक जुटाउने धेरैको दैनिकी बदलिएको छ। त्यसमध्येका एक हुन्, रामकेश कहार। प्रभु जस्तै रामकेश पनि राति १/२ बजे नै गाउँबाट तरकारी लिएर शहरतिर लाग्छन्।

बन्दाबन्दीमा धानेको तरकारी आपूर्ति

साइकलमा तरकारी बिक्री गर्ने लोध र कहार जस्ता खुद्रे व्यापारीहरुले बन्दाबन्दीको समयमा एकातिर शहरवासीको आवश्यकता पूरा गरेका छन्, अर्कातिर गाउँका किसानको उत्पादन खेर जान दिएका छैनन्।

अहिले भारतीय बजारबाट तरकारी आउन बन्द छ। हाटबजार चलेका छैनन्। चितवन लगायतका कतिपय जिल्लामा तरकारी बिक्री नभएर खेतबारीमै खेर गइरहेका समाचारहरु आएका छन्। तर, रुपन्देहीमा अहिलेसम्म तरकारी बिक्री भएन भन्ने गुनासो छैन। लोध र कहार जस्ता साइकलमा तरकारी बिक्री गर्ने ६० भन्दा बढी व्यापारीले रातारात गाउँको उत्पादन शहर पुर्‍याएर त्यहाँको आवश्यकता धानिरहेका छन्।

कोरोनाभाइरस महामारीको समयमा भारतीय तरकारी आयातमा कडाइ गरिएपछि नेपाली किसानले फाइदा लिन पाएका छन्। माग राम्रो भएकाले भिण्डी, लौका, काँक्रा, घिरौलाको मूल्य प्रतिकिलो रु.१ सयभन्दा बढी छ। बन्दाबन्दी अघि यी तरकारीको मूल्य प्रतिकिलो रु. ५०/६० को हाराहारीमा थियो।

बन्दाबन्दी भएपछि उद्योगधन्दा र रोजगारीको बाटो बन्द भएपछि धेरैले रोजीरोटी गुमाएका छन्। साइकलमा डुलेर तरकारी बिक्री गर्ने लोध र कहारको आम्दानीमा भने कुनै फरक परेको छैन। कहारका अनुसार, एक जनाले साइकलमा ६० देखि १ सय किलोसम्म तरकारी बोकेर ल्याउँछन् र त्यति बिक्री गर्दा दैनिक रु.६ सयदेखि रु.८ सयसम्म बचत हुन्छ।

प्रतिकृया दिनुहोस