टिप्पणी विहीबार, वैशाख ११, २०७७

महामारीविरुद्ध बेलायतको ‘युद्ध’, के सिक्ने त हामी गोर्खालीले ?

हिमालखबर

महामारीविरुद्ध बेलायतको ‘युद्ध’, के सिक्ने त हामी गोर्खालीले ?

कोभिड १९ बाट बेलायत र अन्य मुलुकको जस्तो अवस्था नेपालले बेहोर्नु नपरोस् भनेर कामना गर्न त सकिन्छ तर प्रकोप महामारीका रूपमा फैलिरहेका बेला युद्धस्तरको तयारी नदेखिनु भने निराशाजनक कुरा हो।

डा. मनोहर बुढाथोकी

संसारका सबै देश, समुदाय, मानव समाज, बजार, अर्थतन्त्र र राज्य व्यवस्थाहरू नै थर्कमान पारिरहेको सार्स २, वा कोभिड १९ नामको कोरोनाभाइरसको सूचना २०१९ को डिसेम्बर अन्तिमतिर चीनबाट आयो। हाल यो संसारभर फैलिएको छ र मानव जीवनको सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएको छ।

हुनत यस्ता भाइरसको प्रकोप मानव जातिका लागि नयाँ होइनन्। विगतका शताब्दीहरूमा बिफरको महामारीले ३० देखि ५० करोडको ज्यान लिएको मानिन्छ, जुन मृत्यु विश्वयुद्धहरूमा मारिएका भन्दा बढी हो ।

स्पेनिस फ्लू (१९१८) नाम दिइएको अर्को भाइरसले त्यस बेलाको विश्व जनसंख्याको एक तिहाइ, करीब ५० करोडलाई संक्रमण गरेको र ५ करोडको ज्यान लिएको मानिन्छ । प्रथम विश्वयुद्ध (१९१४–१९१८) समयअगावै अन्त्य हुनुमा यही स्पेनिस फ्लूको प्रभाव भएको अध्ययनहरूले देखाएको पनि छ ।

बेलाबेलामा देखिएका दादुरा भाइरसका प्रकोप र हालैमा इबोला (२०१४–२०१६ पश्चिम अफ्रिकी देशहरू), जिका भाइरस (२०१५–२०१६ ब्राजिल लगायत दक्षिण अमेरिका, उत्तर अमेरिका), सार्स, मर्स, बर्ड फ्लू, स्वाइन फ्लूका रूपमा भाइरसका चुनौतीहरू आएकै हुन् । सिजनल वा मौसमी फ्लू अर्को भाइरस हो जसले जाडो याममा विश्वभरिमा वर्षेनी लाखौं मानिसको ज्यान लिन्छ र यसले खासगरी वृद्ध, दुर्बलहरूलाई संक्रमण गर्छ।

जनावर र मानिस दुवैमा भेटिने कोरोना जातिका भाइरसहरू सन् १९६० को दशकबाट पत्ता लागेपछि अध्ययन गरिंदै आएको छ । चार प्रजातिमा विभाजन गरिएका यिनले सामान्य रुघाखोकी र छातीमा संक्रमण गर्दछन् । यी कोरोनाभाइरसहरू सन् २००२ को सार्स प्रकोपपछि भने सबैको जानकारीमा आए । सार्स १, मर्स र सार्स २ (कोभिड १९) तीनै भाइरस चमेरोमा पाइने कोरोना परिवारकै भाइरस हुन्।

चीन लगायत पूर्वी एसियामा २००२ को सार्स १ ले ८,०९८ संक्रमित भए र ७७४ जनाको मृत्यु भयो । मध्यपूर्वका खाडी मुलुकहरूमा फैलिएको सन् २०१२ को मर्सले करीब १,००० संक्रमित र ४०० को मृत्यु भएको मानिन्छ र यी दुवै प्रकोप शुरुमा भयावह मानिए पनि त्यति विस्फोट भने भएनन् ।

काेराेनाभाइरसबाट आक्रान्त वेलायतमा नयाँ तथ्यांककाे प्रसारण हेर्दै । तस्वीर: राेयटर्स

मृत्युका कारण
कोभिड १९ का धेरैजसोलाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने, थकान महसुस हुने मुख्य लक्षण हुन् । अरू लक्षणहरूमा हातगोडा वा जिउ दुख्ने, नाक बन्द हुने, नाक बग्ने, घाँटी दुख्ने, पखाला लाग्ने आदि हुन् । अहिले आएर नाकमा गन्ध नपाउनु, जिब्रोमा खानाको स्वाद हराउनु पनि यसका विशेष लक्षणमध्ये मानिएका छन् ।

कसैकसैलाई संकमण भए पनि कुनै लक्षण नहुने र बिसन्चो महसुस नै नहुने पनि हुन्छ, तर यस्ता लक्षण नभएकाले पनि अरूलाई कोभिड १९ सार्न भने सक्छन्।

भाइरस सरेको खण्डमा १–२ हप्ता (धेरैजसो ५ दिन) भित्रै यसका लक्षण देखिन्छ र २ हप्ता आइसोलेसनमा बसेपछि अरूलाई सर्ने खतरा टर्छ । कोरोनाको लक्षण देखिंदैमा वा टेस्टमा पोजेटिभ भेटिंदैमा बिरामी वा अस्वस्थ नै भइहाल्छन् भन्ने छैन । अस्पताल गइहाल्नु पर्ने, भर्ना भइहाल्नु पर्ने पनि होइन । तर, आइसोलेसनमा आफू र परिवार बस्नु, बाहिर ननिस्किनु र अरूलाई नसार्नु मुख्य कुरा हो । साह्रै बिरामी भए र श्वासप्रश्वासमै समस्या देखिए एम्बुलेन्स बोलाउने वा अरू तरिकाले अस्पताल पुग्ने हो ।

यो संक्रमणबाट ८० प्रतिशत मानिसहरू खास बिरामी नभइकनै ठीक हुन्छन् भने संक्रमितमध्ये ६ जनामा १ जना अस्पताल भर्ना हुनुपर्ने गरी गम्भीर बिरामी हुने, श्वासप्रश्वासमा समस्या देखिने पाइएको छ।

अहिलेसम्म यसको प्रभावकारी खोप वा औषधि फेला परेको छैन । विभिन्न संस्थाहरू, देशहरू औषधि र खोपको अध्ययनमा लागिरहेका छन् । मलेरियाको औषधि ‘क्लोरो कुइन’ वा बाथरोगको ‘हाइड्रो अक्सिक्लोरो कुइन’ जस्ता औषधिमध्ये जिका भाइरसको औषधि ‘रेमडेसिभिर’ विशेष आशाजनक मानिएको छ र द्रुतगतिमा अनुसन्धान प्रयोगहरू भइहेका छन्।

अस्पतालमा उपचार हुने भनेको शरीरमा अक्सिजनको कमी भए अक्सिजन दिने, अझै गम्भीर भए ‘सी.पी.ए.पी.’ जस्ता कृत्रिम विधिबाट सास फेर्न मद्दत गर्ने र अझै नभए भेन्टिलेटरबाट सास फेर्न सहयोग गर्ने हुनसक्छ।

अहिलेसम्म संक्रमितमध्ये आईसीयू (सघन कक्ष) मा भर्ना गरिएका मध्ये ५० प्रतिशत वा आधा मात्रैलाई बचाउन सकिएको पाइएको छ। भेन्टिलेटरमा राखिएका बिरामीको नतिजा अझै निराशाजनक छ । विश्वभरिको अध्ययनमा कोभिड १९ को कारणले भेन्टिलेटरमा राखिएकामध्ये दुई तिहाइको मृत्यु भएको प्रारम्भिक अध्ययनहरूले देखाएको छ।

लन्डनकाे सुनसान सडकमा प्रहरीहरु गस्ती गर्दै ।

यसबाट वृद्ध र कमजोरलाई विशेष खतरा रहे पनि धेरै स्वस्थ वा युवा पनि यसको शिकार भएका छन् । एउटा त संक्रमणले खतरा हुन्छ भने अर्को हाम्रो शरीरको प्रतिरोध क्षमता अनावश्यक रूपमा आक्रामक भई ‘साइटोकाइन स्टोर्म’ ले हाम्रै अंग प्रत्यङ्गहरूलाई फेल गराउँछ । फोक्सो मात्र नभई मुटु, मिर्गौला, आदि ‘मल्टी अर्गन फेल्योर’ विभिन्न अंग असफल बनाउँछ । र, सुविधा सम्पन्न अस्पतालहरूमा पनि ज्यान बचाउन गाह्रो पर्न सक्छ।

वयोवृद्ध, र दीर्घ रोग भएकाहरूलाई कोभिड १९ विशेष आक्रामक हुने पाइएको छ । पहिलेदेखि छाती, दमको उच्चरोग भएका, क्यान्सर भएर उपचार गराइरहेका, लिउकेमिया र लिम्फोमा जस्ता रक्त क्यान्सर भएका, किड्नी, कलेजो लगायत अंग प्रत्यारोपण गराएका र कुनै कारणले शरीरको प्रतिरोध क्षमता कम भएकाहरूलाई कोभिड १९ बाट सबैभन्दा उच्च जोखिम हुन्छ।

औषधिको आशा
संसारका साधनस्रोत कसरी कोभिड १९ बाट मानिसहरूको ज्यान जोगाउने, बन्द भएका बजार यातायात खुलाउने र रोजगारी, गासबास सुरक्षित गर्ने भन्नेमा केन्द्रित छन् ।
तर सबैभन्दा महत्त्वपूर्ण काम भने कोभिड १९ को नियन्त्रण नै हो। यसको चक्रव्यूहबाट संसारलाई निकाल्न भ्याक्सिन वा खोपबाट मात्र सम्भव देखिन्छ । संसारभरिका मानिसलाई अत्यावश्यक यो खोप प्रभावकारी र सुरक्षित मात्र नभएर स्वीकार्य हुन पनि उत्तिकै जरुरी छ ।

यस्ता खोपहरू पहिले जनावरमा परीक्षण गर्ने र सफल भएमा साना मानिसको समूहमा खोपको परीक्षण गरी ठूलो संख्यामा यस्ता खोप वा औषधि परीक्षण हुने विधि हुन्छ । केही तलमाथि भएमा मान्छेमा प्रतिकूल असर पर्ने र ठूलो क्षतिपूर्ति दिनुपर्ने सम्भावना पनि हुन्छ । त्यही भएर सावधानी अत्यावश्यक हुन्छ।

अमेरिकी डाक्टर एन्थोनी फौची लगायत वैज्ञानिकहरू यस्तो खोप अझैं एकदेखि डेढ वर्ष टाढा भएको भनिरहेका छन् । तर, छिट्टै आउला भनेर आशा गर्ने ठाउँ पनि छ । जस्तो अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर सारा गिलबर्टको टीमले अबको ६ महीनाभित्र खोप आउन सक्ने भनिरहेको छ । यही अप्रिलभित्र अक्सफोर्डको टीमले मानिसमा परीक्षण शुरु गर्ने भनेको छ । अरू सयौं ठाउँमा छुट्टै विज्ञ टीममा स्वतन्त्र वा सामूहिक रूपमा यस खोजीमा भिडिराखेका छन् ।

काेराेनाभाइरसका संक्रमणबाट बेलायतमा मात्र अहिलेसम्म १७ नेपालीले ज्यान गुमाइसकेका छन् । 

बेलायतमा नेपालीको अवस्था
गैरआवासीय नेपाल संघ (‘एनआरएनए’) का अनुसार, प्रवासी नेपालीमध्ये आजसम्म १,१६६ जनामा कोभिड १९ संक्रमण (अमेरिकामा मात्रै ७००) देखिएको छ र २८ जनाको मृत्यु (बेलायतमा मात्र १७) भइसकेको छ । बेलायतको सन् २०११ को जनगणना अनुसार, बेलायतमा ५०,८११ नेपालीहरू बस्छन् । र, पछिल्लो समय यो संख्या उल्लेख्य रुपमा बढेको अनुमान छ।

बेलायतको जनरल मेडिकल काउन्सिलले सन् २०१५ मा ३३० भन्दा बढी नेपालीमूलका डाक्टर कार्यरत भएको जनाएको थियो । यो संख्या हाल निकै बढेको छ।

अहिले कोभिड १९ को चुनौतीमा आकस्मिक कक्ष, सघन उपचार कक्ष, एनेस्थेसिया, फेमिली मेडिसिन लगायत विभिन्न विभागमा विभिन्न तहमा नेपाली चिकित्सकहरू सेवा दिइरहेका छन् । नेपाली नर्सहरू पनि बेलायतका धेरै अस्पताल र विभागहरूमा कार्यरत छन्।

हाल बेलायतका स्वास्थ्य चौकी, नर्सिङ होम, अस्पतालहरूको अवस्था र कार्यशैलीमा रातारात आमूल परिवर्तन आएको छ । अरू नियमित काम, अपरेशनहरू पछि सारेर पूरै कोभिड १९ सँग भिडिरहेको छ । देश नै एउटा युद्धको सामना गरिरहेको जस्तो देखिन्छ।

बेलायत सरकारको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बेलायतवासीका लागि सबै स्वास्थ्य सेवा निशुल्क प्रदान गर्छ । यस संस्थालाई बेलायतीहरू देशकै गौरवशाली संस्था मान्छन्।

एनएचएसमा काम गर्ने एक दर्जन बढी डाक्टर र १०० भन्दा बढी स्वास्थ्यकर्मीहरूको यस भाइरसबाट मृत्यु भइसकेको छ । धैरै स्वास्थ्यकर्मीमा यसको मानसिक आघात भेटिन्छ । देश नै एउटा युद्धको सामना गरिरहेको जस्तो देखिन्छ।

मैले नियमित हेर्ने आप्mनै दर्जनौं बिरामीमा यो संक्रमण देखिएको छ । केहीको दुःखद मृत्यु पनि भइसकेको छ । ३० र ४० वर्ष उमेरका युवा बिरामी पनि गुमाउनुपरेको पीडा डाक्टरको हैसियतले मैले भोगिसकें।

बेलायतको अनुभवका आधारमा भन्दा नेपालमा कोभिड १९ को परीक्षण, अस्पतालका गुणस्तरबारे धेरै काम हुन बाँकी देखिन्छ । हुन त बेलायतमा पनि कमजोरी नभएका होइनन्, तर नेपालमा स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षाकवच पीपीई, परीक्षणको संख्या, गुणस्तरमा अझैं धेरै काम गर्न बाँकी छ ।

वास्तवमा अहिलेको महामारी संकटलाई सरकारले स्वास्थ्य सेवा पुनर्संरचना र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्छ । आधारभूत स्वास्थ्य सेवाको जग बलियो बनाएर गाउँगाउँमा स्वास्थ्यको पहुँच पुर्याउने हो भने आज मात्र होइन, भोलि निम्तिने समस्या समाधान गर्न पनि सहज हुनेछ।

नेपालको स्थिति थप नबिग्रियोस् भनेर कामना गर्न त सकिन्छ तर प्रकोप महामारीका रूपमा फैलिरहेका बेला हुनुपर्ने जस्तो युद्धस्तरको तयारी भने नभएजस्तो नै देखिन्छ । नेपालीका साथ लिएर बेलायतले थुप्रै युद्ध लडेको छ, नेपालीकै बहादुरीले पनि सफलता हात दिलाएको अनेक उदाहरण छ । तर, यो युद्ध महामारीविरुद्धको हो । हिजो हामीबाट बेलायतीले युद्धकौशल सिकेर जित हासिल गरे होलान्, आज भने हामीले उनीहरुबाट कारोनाबिरुद्धको युद्धका रणनीति सिक्न सक्छौं ।

—डा. बुढाथोकी बेलायतको लिभरपुलको एक अस्पतालमा जनरल प्राक्टिसनर र फेमिली डाक्टरको रूपमा कार्यरत् छन्।

प्रतिकृया दिनुहोस