कला/साहित्य बुधबार, वैशाख १०, २०७७

हामीले नबुझेका किशोरकिशोरी

हिमालखबर

हामीले नबुझेका किशोरकिशोरी

घिमिरे युवराजको नयाँ नाट्यकृति किशोरवय, अभिभावकत्व र विद्यालयबीच समाजमा चलिरहेको त्रिपक्षीय अन्तरसंघर्षको ज्वलन्त उदाहरण हो ।

–शिव रिजाल

विद्यालय जाँदा—आउँदा विद्यार्थीहरुले बसको झ्यालबाट देखेको नेपाली समाज असंवेदनशील छ । वयष्क हुँदै गरेका उनीहरुभित्र एउटा आँधी चल्न थाल्दछ । आँधीभित्र उमंग छ, नशा छ । यो आँधी एउटा यस्तो शाश्वत शक्ति हो, जससँग नलड्दासम्म जीवनको अर्थ खुल्दैन ।

घिमिरे युवराजको पछिल्लो नाट्यकृति हो, आँधीको मनोरम नृत्य । यो नाटक यिनै किशोर किशोरीको जीवनमा आधारित छ ।

नाटकको कथानकको थोरै चर्चा गरौं । प्राथमिकस्तरका बालबालिका क्रमिक ढंगले विद्यालय पूरा गर्दैछन् । उमेर, कक्षा, स्थान र मनोविज्ञानसँग जोडिएका उनीहरुको मनोभाव, शिक्षक र अभिभावकहरुले तिनमा पारेको प्रभाव नाटकमा रोचक लाग्छ ।

चारैतिर पुरुषसत्ता निर्देशित संस्कार व्याप्त छ । अभिभावक, शिक्षक त छन् तर, तिनले पनि किशोरवयका शरीरका तरंग बुझ्न सक्तैनन्, जसले उनीहरुको जीवन संकटमय हुँदै जान्छ । सबै आआफ्नै स्वार्थ कर्ममा लिप्त छन् । धन सम्पत्ति थुपार्ने, आडम्बरले भरिएको सामाजिक प्रतिष्ठा बचाउने उद्देश्यबाट निर्देशित छन्, अभिभावक ।

आजको नेपाली समाज विज्ञहरुले भनेझैं आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) मा फस्दै गइरहेको छ । घुस, भ्रष्टाचार सामान्य भएको छ । शिक्षा क्षेत्र भरपर्दो नाफाखोरी व्यापार भएको छ । यस्तो स्थितिमा अभिभावकको प्रतिष्ठा र विद्यालयको व्यापारिक स्वार्थभित्र च्यापिने विद्यार्थीहरु नै हुन् । जसले उनीहरुलाई सम्झौताभित्र बाँच्नु पर्नेछ ।

नाटकमा ८ वटा खण्ड छन् । र, उपन्यास शैलीमा ती ८ वटै खण्डको बेग्लाबेग्लै नाम दिइएको छ ।

कृतिको भूमिकामा नाटककार अभि सुवेदी लेख्छन्– “दैनिक जीवनको लय र दैहिक मञ्चीय गतिलाई बालबालिका र शहर अनि स्कूल, वयष्क अनि बालकका समस्या र तिनलाई सम्बोधन गर्ने भाष्य र दृश्यावलीबाट राम्ररी रचना गरिएको छ ।”

आजको समाजमा आँधीले लछारपछार नपारेको कोही छैन । तर, यो आँधीसँग जुध्न हामीलाई उत्साह र प्रेरणा चाहिन्छ । नाटक निस्सीम पात्रको करुणादायी चिट्ठीबाट अन्त्य हुन्छ । उनी लेख्छन्–“जति उमेर बढ्दै गयो, उति आफ्नै अंगहरु भारी भएजस्तो भयो । यसबारे जान्नेभन्दा पनि आफ्नो अंग जबरजस्ती कसरी लुकाउने वा नभएको जस्तो गर्ने भन्नेमा चिन्ता भइरह्यो ।”

त्यसो त कृतिकार घिमिरे युवराज स्वयं एक आँधी हुन् । दुई दशक बढी रंगकर्ममा अर्थपूर्ण उपस्थिति जनाउनु स्वयंमा आँधीभन्दा कम होइन । यो लामो यात्रामा आफ्ना सहकर्मीसँग उनले मिलेर स्थापना गरेको काठमाडौं, बत्तीसपुतलीस्थित शिल्पी थिएटर आफैमा जीवनमुखी आँधी प्रस्तुत गर्ने मनोरम नृत्यस्थल बनेको छ ।

प्रत्येक तीन, तीन महीनामा रंगमञ्च कलामाथि साधना गर्न उत्साहित किशोरकिशोरीहरु यहाँ सञ्चालनमा रहेको विशेष प्रशिक्षण कक्षामा भर्ना हुन आइपुग्छन् । आँधी बोकेर आउने यी कलाकार आफैमा अध्ययनका विषय पनि हुन् । यस्तो पनि लाग्छ कि, यो नाटक युवराजले तिनै किशोरकिशोरी प्रशिक्षार्थीको मनोविज्ञान समाएर लेखेका हुन् ।

आजको समाजमा आँधीले लछारपछार नपारेको कोही छैन । तर, यो आँधीसँग जुध्न हामीलाई उत्साह र प्रेरणा चाहिन्छ । नाटक निस्सीम पात्रको करुणादायी चिट्ठीबाट अन्त्य हुन्छ । उनी लेख्छन्–“जति उमेर बढ्दै गयो, उति आफ्नै अंगहरु भारी भएजस्तो भयो । यसबारे जान्नेभन्दा पनि आफ्नो अंग जबरजस्ती कसरी लुकाउने वा नभएको जस्तो गर्ने भन्नेमा चिन्ता भइरह्यो ।”

यी पात्रलाई यस्तो अवस्थामा पुर्याउने आँधी आफैभित्रबाट उब्जिएको तरंग थियो । तर, उचित समयमा उचित प्रेरणा र अभिभावकत्वको अभावमा उनको जीवनयात्रा फरक बन्न पुग्छ । यस अर्थमा यो नाट्यकृति आफ्नै किशोरकिशोरीभित्र उद्वेग र आकांक्षा बुझ्न नसक्ने अभिभावक र शिक्षक, अनि विद्यालयप्रतिको एउटा गतिलो थप्पड हो, या भनौं झकझक्याइँ हो ।

प्रतिकृया दिनुहोस