समाचार आइतबार, वैशाख ७, २०७७

प्रदूषित शहरहरूमा बन्दाबन्दीपछि वायुको गुणस्तरमा व्यापक सुधार

मुकेश पोखरेल

प्रदूषित शहरहरूमा बन्दाबन्दीपछि वायुको गुणस्तरमा व्यापक सुधार
तस्वीर: लेनीनर्स

विश्वमा सबैभन्दा प्रदूषित भनेर कहलिएका शहरमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोक्न गरिएको बन्दाबन्दीपछि वायुको गुणस्तरमा व्यापक सुधार आएको छ ।

नेपालस्थित ग्लोवल इन्स्टीच्यूट फर इन्टरडिस्प्लीनरी स्टडिज, जर्मनी र अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानले वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको देखाएको हो ।

उक्त अनुसन्धानमा डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा.सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको टोली संलग्न थियो ।

उक्त टोलीले ६ वटा महादेशका ३५ देशका ४० सहरको वायू प्रदुषणको अवस्था बारेमा अनुसन्धान गरिएको अनुसन्धान ‘अर्थ आर्जिभ’ जर्नलमा प्रकाशित गरिएको छ । 

अनुसन्धानका अनुसार २.५ माइक्रोग्राम भन्दा साना साइजका धुलोको कण गत बर्षको फेव्रुवरीको भन्दा अहिले १७ वटा सहरमा र गत मार्च भन्दा यसपालीको मार्चमा १४ सहरमा कम भएको छ ।

भिएना, लन्डन, आर्मस्ट्रेडम, न्यूर्योक, सिड्नी जस्ता सहरहरूमा धुलोको मात्रामा उल्लेख्य कमि आएको छ । बन्दाबन्दीका कारण संसारकै प्रदुषित सहरहरू बैंगलोर, बैंकक, बेइजिङ, दिल्ली, नांनजिङ, वुहान, उलनवटोरमा धुलोको मात्रा उल्लेख्य कम भएको छ ।

पहिले                                                             र                                                       अहिले

ती सहरहरूमा ठूलो साइजका धुलोको कण पिएम १० को मात्रामा पनि उलेख्य फरक आएको हो । काठमाडौंको वायु प्रदुषण गत वर्षका फ्रवरीमा भन्दा केही बढेको छ । तर, मार्चबाट बन्दाबन्दी सुरु भएपछि सुधार आएको छ ।

त्यसैगरि विभिन्न सहरहरूमा गाडी र कलकारखानाबाट निस्कने नाइट्रोजन डाइअक्साइड जस्ता धुँवाको उत्सर्जनमा पनि कमि आएको छ । १९ सहरमा नाइट्रोजन र कार्वन मोनोअक्साइडमा पनि उल्लेख्य कमि आएको छ ।

यद्यपी, यी प्रदुषणको मात्रा संसारका सबै सहरमा एकै नासले कमि भएको छैन, बरु बन्दाबन्दी नभएका शहरमा बढेको छ ।

सल्फरडाइ अक्साइड, जस्ता ओजन तहलाई हानि गर्ने कारकहरू कतै बढेका छन् भने कतै घटेका छन् । जर्मनीस्थित इन्स्टिच्यूट फर एडभान्सड् सस्टनिविलिटी स्टडिजका अनुसन्धाकर्ता डा. महेश्वर रुपाखेतीका अनुसार, “यसरी प्रदुषण घटबढ हुनुमा स्थानीय प्राकृतिक स्रोतहरू जस्तै आगोलागी, कृषीको लागि लगाइने आगोले पनि ठूलो भूमिका खेल्छ, यो दक्षिण एशियामा बढी प्रचलनमा छ ।”

उनका अनुसार यूरोपियन सहरहरूमा घरबाट निस्कने प्रदुषण पनि प्रमुख हुन्छ, जुन अहिले घटेको छैन् । यस अघि विभिन्न अन्तराष्ट्रिय माध्यमहरूले भू-उपग्रहबाट लिइएको तस्वीरका आधारमा प्रदुषणको मात्रा घटेको बताएका थिए ।

अर्का अनुसन्धानकर्ता ग्लोवल इन्स्टीच्यूट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता डा. अषेश्वर मान श्रेष्ठ का अनुसार गतबर्षको फेव्रवरी, मार्च र यो वर्षको फेव्रुवरी मार्चको वायू प्रदुषणको कारक मानिने धुलोको कण, कार्वन मोनोअक्साइड, नाइट्रोजन डाईअक्साइड, सल्फर डाईअक्साइड र ओजन गरि छ प्रकारका रासायनिक तत्वहरूको वायूमा भएको मात्राको तुलनात्मक अध्ययन गरिएको थियो ।

“हामीले गत एक सय दिन यताको प्रदुषणको अवस्था र बन्दाबन्दीको कारण त्यसमा आएको फरक पनि विश्लेषण गरेका छौं,” श्रेष्ठले भने ।

यो अध्ययन ३०१ वटा वायु प्रदुषण मापन स्टेशनबाट प्राप्त तथ्यका आधारमा गरिएको हो । “हामीले सहरमा राखिएका प्रदुषण मापन गर्ने उपकारणले संकलन गरेको तथ्यांक प्रयोग गरेर अनुसन्धान गरेका हौं,” अष्ट्रेलियाको आरएमआइटी विश्वविद्यालयमा पिएचडी अध्ययन गरिरहेका रोशन शर्माले भने “संभवत यो धेरै सहरको वायु प्रदुषणको अवस्था हेरिएको पहिलो अध्ययन होला ।”

उक्त र्जनलमा प्रकाशित लेखमा कोभिड १९ को मानविय, आर्थिक र सामाजिक मूल्य ठूलो भएपनि त्यसलाई रोक्न गरिएको बन्दाबन्दीले संसारभर वायू प्रदुषण घटाएको उल्लेख गरिएको छ ।

“संसारका कोहि पनि मान्छे वायु प्रदुषण यसरी घटोस् भन्ने चाहदैनन, लेखमा भनिएको छ, “तर ध्यादिनु पर्ने कुरा वायु प्रदुषणले बर्षेनी ७ लाख मानिसको ज्यान लिन्छ, विश्वको १० मध्ये ९ जना मानिस विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढि प्रदुषित ठाँउमा बस्छन् ।”

अमेरिकामा गरिएको पछिल्लो अध्ययनले वायू प्रदुषणका कारण कोरोना भाइरस लागेको विरामी मृत्यु हुने संभावना बढि हुने देखिएको छ ।

“निरोगी बन्न मात्रै होइन, रोग लाग्दा समेत मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वायु प्रदुषण घटाउन पनि  विभिन्न मुलुकका सरकारहरू गम्भीर बन्नुपर्छ भन्ने हाम्रो अनुसन्धानको सन्देश हो,” अनुसन्धानकर्ता, डा. उत्तम बाबु श्रेष्ठले भने ।

प्रतिकृया दिनुहोस