अन्तर्वार्ता/विचार आइतबार, वैशाख ७, २०७७

'बन्दाबन्दीमा कुकुर, बाँदरलाई खाना खुवाएर गम्भीर गल्ती गरिरहेका छाैं'

हिमालखबर

'बन्दाबन्दीमा कुकुर, बाँदरलाई खाना खुवाएर गम्भीर गल्ती गरिरहेका छाैं'

बन्दाबन्दीमा भोकाए होलान् भनेर हामीले दया-माया गरेर बाँदर, कुकुरजस्ता जनावरलाई खाना खुवाइरहेका छाैं । तर यसाे गर्नु हाम्राे गम्भीर गल्ती हाे ।

– प्रा. डा. मुकेश चालिसे

बन्दाबन्दीमा काठमाडौंका बाँदर र कुकुर भोकै भए भनेर समाचार बनिरहेका छन् । अनि त्यही समाचार पढे, सुनेरै हुनुपर्छ वा स्वस्फूर्त, केही दयालु मानिसले उनीहरुलाई खाना दिएका तस्वीर र भिडियो पनि सञ्चारमाध्यममा देखियो । सामाजिक सञ्जालमा नदेखिने कुरै भएन ।

तर, वैज्ञानिक आधारमा भन्ने हो भने यो काम गलत हो । खासमा प्रकृतिमा रहने जनावरहरुलाई मानिसले खाना दिने नै होइन । उनीहरुलाई त प्राकृतिक रुपमा बाँच्न सिकाउनुपर्दछ ।

तपाईंले एक, दुईपटक दया माया गरेर यी जनावरलाई खान दिनु उनीहरुमाथिकै अन्याय हो । किनभने, जो प्राकृतिक रुपमा बाँच्न सक्छन्, उनीहरु रहन्छन् । जो सक्दैनन्, उनीहरु रहँदैनन् । डार्विनको सिद्धान्त पनि यसै भन्छ ।

अझ हामीले नबुझेको कुरा, बन्दाबन्दीको अवधि त जनावरका लागि अझ राम्रो अवसर बन्न सक्छ । उनीहरुलाई प्रकृतिमा फर्कने बाटो खुल्छ । जसले गर्दा स्वयम्भू, पशुपतिका बाँदर र गल्लीका कुकुरले के खाने भनेर थाहा पाउन सक्छन् ।

मानिसको अतिक्रमण र चापका कारण जनावरहरु प्रकृतिबाट विमुख हुँदैछन् । पशुपतिमै हेर्नुस्, बाँदरहरु बाटोमा मानिस जस्तै मागिरहेका जस्ता भेटिन्छन्, नदिए झम्टन्छन् । यो बाँदरको प्राकृतिक गुण होइन ।

मानिसले बानी लगाएकै कारण कैयौं जनावर आश्रित बन्न पुगेका छन् । आश्रित बनाइनु वन्यजन्तु प्रेम होइन । त्यो त उनीहरुलाई बिस्तारै बिगार्नु, र अन्त्यमा सिध्याउनु हो । हामीले यी जनावरलाई आफूमा आश्रित होइन, प्रकृतिमा लडेर पराक्रम र बलशाली बन्न मद्दत गर्ने हो ।


रोग सर्ने खतरा

मानिसमै पनि यही सिद्धान्त लागू हुन्छ । अहिले गाउँका भन्दा शहरका मान्छे सामान्य रोगले नै बिरामी बन्ने अवस्थाका कारण कृत्रिमता नै हो ।

चितवनको बाघमारामा बच्चा भएका गैंडा पनि मानिस देखेर नभाग्ने स्थिति छ । जबकि बच्चा भएको आमा जनावर अति नै आक्रामक हुन्छ । कोशीका अर्ना सुतिरहेका हुन्छन्, मानिस नजिक जाँदा पनि भाग्दैनन् । हामीले जनावरको प्राकृतिक बासस्थान ध्वस्त बनाएका परिणाम हुन् यी । प्राकृतिक गुण ह्रास हुँदा उनीहरु आफ्ना शत्रुसँग लड्न सक्दैनन् ।

पशुपति परिसर र स्वयम्भूमा करीब दुई हजार वर्षदेखिको बाँदरको इतिहास छ । उनीहरु पहिल्यैदेखि प्रकृतिमै बस्थे, जंगलमै बढीभन्दा बढी समय बिताउँथे । थोरै समय मात्र अक्षता र फलफूलमा भर पर्दथे । मैले चितवनमा प्रयोग गरेरै हेरें । मैले केरा दिंदा बाँदर भागे र खाएनन् । किनभने, प्रकृतिमा रम्नेले मानिसले दिएको खाँदैन । उनीहरु आफ्नो खाना आफै खोज्छन् ।

आज चितवनको बाघमारामा बच्चा भएका गैंडा पनि मानिस देखेर नभाग्ने स्थिति छ । जबकि बच्चा भएको आमा जनावर अति नै आक्रामक हुन्छ । कोशीका अर्ना सुतिरहेका हुन्छन्, मानिस नजिक जाँदा पनि भाग्दैनन् । हामीले जनावरको प्राकृतिक बासस्थान ध्वस्त बनाएका परिणाम हुन् यी । प्राकृतिक गुण ह्रास हुँदा उनीहरु आफ्ना शत्रुसँग लड्न सक्दैनन् ।

कोरानोभाइरसको महामारीको बेला हामीले होस पुर्‌याउनुपर्ने अर्को कुरा पनि छ । मानिस र जनावरको संगतले आपसमा रोग पनि आदानप्रदान भइरहेको छ ।

पशुपति र स्वयम्भूका बाँदर नै हेरौं, उनीहरु रोगी छन्, किन ? किनभने उनीहरुमा मानिसबाट रौं खुइलिने, छाला खुइलिने, लुतो, पेट सम्बन्धी रोग लागेको छ ।

एचआईभी पनि बाँदरबाटै आएको हो । तर, यो भन्दा घातक बाँदरमा भएको हर्पिस बी भाइरस हो, जसले उसलाई केही हुँदैन । तर, जब यो मानिसमा सर्छ । तब ७० प्रतिशत मानिसको ज्यान जाने गरेको अनुसन्धानबाट देखिन्छ । बाँदरको थुक, र्‍याल, सिंगान, दिसाबाट यो भाइरस मानिसमा सर्नसक्छ ।

हामीले जनावरहरुलाई साँच्चै नै माया गर्ने हो भने, उनीहरुलाई प्रकृतिमा रम्न छाडिदिनुपर्छ । यसका लागि हामीले गर्ने भनेको प्रकृतिको संरक्षण हो । प्रकृतिलाई बिथोल्नु हुन्न ।

अहिले कोरोनाभाइरस पनि चमेराबाट सरेका हो भनिदैंछ । तर, क्षयरोग भने जनावरमा मानिसले सारेको हो । अहिले हाम्रा निकुञ्जका हात्तीहरु क्षयरोगले ग्रस्त छन् । हाम्रा रोगहरुले अर्ना र मृग पनि थलिएका छन् ।

मेरो भनाइको सार, हामीले जनावरहरुलाई साँच्चै नै माया गर्ने हो भने, उनीहरुलाई प्रकृतिमा रम्न छाडिदिनुपर्छ । यसका लागि हामीले गर्ने भनेको प्रकृतिको संरक्षण हो । प्रकृतिलाई बिथोल्नु हुन्न ।

(बाँदरबारे विशेष अनुसन्धान गरेका प्राणीशास्त्री प्रा. डा. चालिसेसँग मुकेश पोखरेलले गरेको कुराकानी)

याे पनि पढ्नुहाेस् –

बाँदरसामु निरीह

'सभामुख महाेदय, बाँदर समृद्धिकाे बाधक बन्याे' (भिडियाे सहित)

बाँदर धपाइदेऊ

बन्द गोदाममा बाँदरको राज

गाउँपालिकाले थुन्यो २ सय वटा बाँदर

प्रतिकृया दिनुहोस