टिप्पणी आइतबार, वैशाख ७, २०७७

काेभिड– १९ महामारी: कीटनाशक छरेर भाइरस होइन, मान्छे मर्छ

हिमालखबर

काेभिड– १९ महामारी: कीटनाशक छरेर भाइरस होइन, मान्छे मर्छ
राजधानीमा डिस–इन्फेक्सन स्प्रे गर्दै । तस्वीर: बिक्रम राई

केही निश्चित परिवेशमा बाहेक डिस–इन्फेक्सन स्प्रे गर्नु भनेको समय र स्रोतको दुरुपयोग मात्रै होइन, वातावरण तथा जनस्वास्थ्य माथि खेलबाड गर्नु पनि हो ।

डा. रामदेव पण्डित

डिसइन्फेक्टेन्ट छर्ने क्रममा १५ चैतमा झापा, बिर्तामोड मेचीनगर नगरपालिका६ का १५ वर्षीय अविनाश सुवेदी दुर्घटनामा परे । पिठ्युँमा बोकिएको ब्लिचिङ्ग पाउडरको भाँडो चुहिएर पिठ्यँुको अधिक भाग जल्यो । उनले झण्डै ज्यान गुमाउनु पर्‌यो ।

६ र ७ चैतमा नेपाली सेनाले रातिराति हेलिकोप्टरबाट कीटनाशक औषधि छर्ने भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले शेयर गरे । त्यो सूचनाले सिर्जना गरेको भ्रम हटाउन ८ चैतमा नेपाली सेनाले विज्ञप्ति नै जारी गर्नुपर्‌यो । 

नेपालको धेरै स्थानमा (शहरदेखि गाउँसम्म) कीटनाशक वा डिसइन्फेक्टेन्ट छर्ने उर्दी स्थानीय सरकारहरूद्वारा जारी भएको छ र त्यो प्राथमिकताका साथ धेरै ठाउँमा कार्यान्वयन पनि गरिएको छ । डिसइन्फेक्सनका लागि सार्वजनिक स्थलहरूमा मालाथिन र क्लोरिन छर्किने कार्य अझै पनि जारी छ । मालाथिनको प्रयोग डेंगु प्रकोप भएका वेलामा पनि गरिएको थियो ।

के कीटनाशक औषधि वा डिसइन्फेक्टेन्ट छेरर भाइरस भाग्छ वा भाइरसलाई केही असर पर्छ ?

शताब्दीयौं पहिलेदेखि अल्कोहल, फिनियल, आयोडिन र क्लोरिन कीटनाशकको रूपमा प्रयोग हुँदै आएको छ । यी रसायनहरूसँग धेरै जीवाणुहरूलाई मार्न सक्ने क्षमता हुन्छ ।

पहिलो विश्वयुद्ध (सन् १९१५) ताका दुस्मनलाई मार्न चोकिङ (पल्मोनरी) एजेन्टको रूपमा क्लोरिन प्रयोग भएको थियो । चैत दोस्रो हप्तापछि काठमाडौं महानगरमा मात्र ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन छर्कि सकिएको छ । जसले महानगरवासीको श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।

डेंगु, मलेरिया वा हैजाका वेला प्रयोग गरिएको उपायले नयाँ कोरोना भाइरस विरुद्ध लड्न सकिंदैन भन्ने सबैले बुझ्नु आवश्यक छ । भाइरस (कोभिड१९) सँग लड्न कीटनाशकको कुनै प्रभाव हुँदैन । कोरोना विरुद्ध कीटनाशकको प्रयोग त कुनै पनि परिस्थितिमा उपयुक्त छँदै छैन । कीटनाशक छरेर भाइरस होइन मान्छेहरू मर्न सक्छन् ।

चीनमा काेराेना भाइरसकाे संक्रमणपछि  डिस–इन्फेक्सन स्प्रे गर्दै ।

 

कीटनाशक औषधि विशुद्ध रसायनिक विष हो । खासमा भाइरसलाई कुनै पनि कीटनाशक औषधिले रत्तिभर असर पार्न सक्दैन । किनभने यो भाइरस हावामा रहँदा निर्जीव पदार्थ जस्तो भएर बसेको पाइएको छ । बेमौसमी एवं अनावश्यक रूपमा व्यापक मात्रामा छरिएको कीटनाशकले भाइरस बाहेक पर्यावरणका हानिकारक कीटाणु जति मरे त्यसको तुलनामा त्यसले हावालाई बढी विषाक्त बनाएको हुनुपर्छ । त्यसले मानवीय स्वास्थ्यलाई अधिक नकारात्मक असर पारेकै हुनुपर्छ ।

त्यति मात्र नभएर अनधिकृत रूपमा कीटनाशक विषादीहरू छर्दा त्यसले एन्टी बायोटिकहरूको प्रभाव घटाउँछ । अर्थात् यसले एन्टीबायोटिक रेजिस्टेन्स् बढाउँछ । अमेरिकन सोसाइटी अफ माइक्रोलोजीको जर्नलमा सन् १९९९ को जनवरीमा प्रकाशित एक अध्ययन अनुसार एन्टिसेप्टिक र डिसइन्फेक्टेन्टको अधिक प्रयोगले मानिसहरूमा एन्टिबायोटिक रेजिस्टेन्स् बढ्ने देखाएको छ ।

डिसइन्फेक्टेन्टको रुपमा छर्न व्यापक प्रयोग हुने ब्लिचिङ पाउडर, क्लोरिन पाउडर, क्लोरिनेटेड लाइम आदिमा प्रमुख घटकको रूपमा अजैविक रसायनिक तत्व क्याल्सियम हाइपोक्लोराइट हुन्छ ।

मानिसमा कोभिड१९ को संक्रमण भएपछि देखिने लक्षण र क्याल्सियम हाइपोक्लोराइटसँगको सम्पर्कमा आएपछि देखिने लक्षणहरू धेरैजसो उस्तैउस्तै हुनु एउटा संयोग नै हो । न्यूजर्सी डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेजले क्याल्सियम हाइपोक्लोराइटलाई हानिकारक रसायन मानेको छ ।

सर्भिसेजका अनुसार जब मानिसले क्याल्सियम हाइपोक्लोराइटयुक्त हावा श्वासको रूपमा लिन्छ वा त्यसको प्रत्यक्ष सम्पर्कमा आउँछ त्यसले फोक्सोलाई चिढ्चिढ्याएर सास बढाउँछ । अत्यधिक सम्पर्कले फोक्सोमा पानी भरिन थाल्छ । यसले मानिस आत्तिने अवस्था निम्त्याउन सक्छ । नाक, घाँटी, आँखा र छाला चिलाउने वा सकसकाउने हुन्छ । आँखा र छालामा जलन हुन्छ । बारम्बारको सम्पर्कले खोकी लाग्ने, खकार आउने र दम रोग लाग्न पनि सक्छ । सर्भिसेजले क्याल्सियम हाइपोक्लोराइटको प्रयोग पीपीई लगाएर मात्र गर्न पनि सुझाएको छ ।

अनधिकृत रूपमा छरिएका विषादीले छालाको क्यान्सर र आँखाको ज्योति गुमाउने कारण बन्न सक्छ । नेपालका धेरै स्थानीय तहमा जीवाणु मार्न मालाथिन विषादी छर्किएको सुनिन्छ । मालाथिन यति हानिकारक हुन्छ कि बालीनालीमा समेत प्रयोग गर्न निरुत्साहन गरिएको छ । अतः यस्तो विषादी खुलास्थानमा छर्केर हावा दूषित पार्नु कति घातक होला ? त्यो हामीले गर्ने हिसाब भन्दा बाहिर छ ।

चीनमा पनि जीवाणु मार्न वा भगाउन शुरूशुरूमा डिसइन्फेक्टेन्ट व्यापक मात्रामा छर्किएको थियो । पछि गएर त्यसको सकारात्मक भन्दा नकारात्मक असर हुने देखेपछि चाइनाज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसन्धानकर्ता जङ लिओवले सडक, पाटीपौवा, चउर, गल्ली आदि खुला स्थानमा डिसइन्फेक्टेन्ट पटकपटक नछर्न चेतावनी दिएका छन् । उनका अनुसार त्यसरी डिसइन्फेक्टेन्ट छर्दा त्यसले वातावरणीय प्रदूषण बढाउँछ । 

अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार क्लोरिन दिक्दार लाग्ने खालको दुर्गन्धित वायु हो । यसको रङ हरियोपहेंलो हुन्छ । क्लोरिनले आँखाको दृष्टि धमिलो हुने, छाला पोल्ने, रातो हुने वा फोका उठ्ने हुन्छ । नाक र घाँटी पोल्छ । खोकी लाग्ने, छाती कसिने, सास बढ्ने, फोक्सोमा पानी भरिने, वाक्वाक् लाग्ने वा उल्टी समेत हुनसक्छ । सम्पर्कमा आएको क्लोरिनको कन्सन्ट्रेसन (घनत्व) अनुसार लक्षणहरूको गम्भीरता बढ्दै जान्छ । यसरी क्लोरिनले पनि प्रत्यक्ष रूपमा श्वास प्रश्वास प्रणालीलाई नै हानि गरेको देखिन्छ । क्लोरिनको हानिकारक असरको उपचार छैन । केवल लाक्षणिक चिकित्सा मात्र गर्न सकिन्छ ।

यस अतिरिक्त अहिले नेपालमा तयार गरिएका ह्याण्ड स्यानिटाइजरमा पनि समस्या छ । औषधि व्यवस्था विभागका अनुसार बजारमा उपलब्ध कतिपय ह्याण्ड स्यानिटाइजरमा पनि जनस्वास्थ्यका दृष्टिले निकै हानिकारक रसायन मिसाएको भेटिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकाल मिथानोलयुक्त ह्याण्ड स्यानिटाइजर समेत बिक्री भएको फेला परेको बताउँछन् । उनी भन्छन्, यस्ता स्यानिटाइजरको प्रयोग गर्दा मान्छेको मृत्युसम्म हुन सक्छ ।

दक्षिण काेरियामा काेराेना भाइरसकाे संक्रमण राेक्न सडकमा  डिस–इन्फेक्सन स्प्रे गर्दै ।

 

विकल्प के ?

वातावरणीय जीवाणु नाश गर्न प्रकृतिमैत्री परम्परागत विधिहरू नै उत्तम विकल्प हुने देखिन्छ । वनजंगलमा चरेर एन्टिबायोटिक गुण सँगाल्न सक्ने गाईको गोबरले घरआँगन लिप्ने र गोअर्क छर्किन सकिन्छ । तुलसी पानी वा नीम पानी पकाएर पनि छर्किन सकिन्छ ।

गूग्गुल, नीमको पात, हिङ, कुट्की, अगुरु, जटामसी, देवदारु, वचा, चन्दन, कपुर आदिको प्रयोग गरी आयुर्वेदीय धुपन (धुवाँ बाल्ने विधि) अवलम्बन गर्न सकिन्छ । परम्परागत रूपमा अभ्यासमा रहेको वैदिक हवन (समिधा काठसँग घिउ तील आदि बाल्ने कार्य) लाई पनि जीवाणु भगाउन प्रयोग गर्न सकिन्छ । सुलभ र कम खर्चिला यी विधिहरूले न वातावरण बिग्रिन्छ न मानवको स्वास्थ्यमा कुनै नकारात्मक असर पर्छ । ब्लिचिङ पाउडर क्लोरिन जस्ता विषादियुक्त कीटनाशक भन्दा यिनले प्रभावकारी कार्य गर्दछन् ।

प्राकृतिक ह्याण्ड स्यानिटाइजर बनाउन पनि सकिन्छ । नीमको पात १०० ग्राम र १० ग्राम तुलसीको पात एक लिटर पानीमा उमालेर छान्ने अनि त्यसमा १० ग्राम कपुर र १० ग्राम फिटकिरी राखी छानेर उपयुक्त भाँडोमा राख्ने । यही प्राकृतिक ह्याण्ड स्यानिटाइजरलाई आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ । त्रिफला पानीलाई पनि छानेर ह्याण्ड स्यानिटाइजरको रूपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस