कला/साहित्य आइतबार, वैशाख ७, २०७७

बन्दी जीवनमा सिर्जना

हिमालखबर

बन्दी जीवनमा सिर्जना
कलाकार मास्केकाे आफ्नै र उनले बनाएकाे १९९७ सालमा प्रजापरिषद्को आन्दोलनमा जेल परेका पुष्करनाथ उप्रेतीको अनुहारकाे आकृति ।

नेपाली कलाको इतिहासमा एकजना यस्ता स्वनामधन्य कलाकार छन् जो बन्दी जीवनमा पनि चुपचाप झोक्राएर बसेनन् । बरू सिर्जनामा तल्लीन रहे । तिनै कलाकार जसले तत्कालीन राणा सत्ताको विरुद्धमा व्यङ्ग्यचित्र लेखेका थिए । सोही चित्रकै कारण उनी सर्वस्वसहित जेल परे । ती महान् कलाकार थिए– चन्द्रमानसिंह मास्के ।

ज्ञानेन्द्र विवश

अग्रज कलाकार मास्के मूलतः चित्रकार थिए, तर उनको व्यक्तित्वका पाटाहरू बहुआयामिक छन् । उनी मूर्तिकार, वास्तुकलाकार थिए । पुरातत्वविद्, संस्कृतिविद् र कला शिक्षक पनि थिए । उनी समाजसेवी, शिक्षासेवी र एक आदर्श व्यक्ति थिए । उनको जीवनीबाट धेरै कुरा ग्रहण गर्न सकिन्छ । यस आलेखमा उनले बन्दी जीवनमा बनाएका सिर्जनाहरूको संक्षिप्त चर्चा गर्ने कोशिश गरिन्छ ।

२०६४ साल साउन २३ गते बुधबार, पुल्चोकस्थित पार्क ग्यालरीमा आधुनिक कलाका अग्रज दिवङ्गत कलाकारहरू र तिनका दुर्लभ कलाकृतिको प्रदर्शनी एकै ठाउँमा भएको थियो । त्यसमा अग्रज कलाकार चन्द्रमानसिंह मास्केको एउटा दुर्लभ चित्र समावेश थियो । त्यो चित्रले निकै चर्चा–चासो बटुल्यो । दर्शकको भीड लाग्यो ।

वास्तवमा त्यस चित्रको बेग्लै महत्व थियो किनभने जेलमा लिखित कतिपय साहित्यिक कृतिहरूको चर्चा हुन्छ, तर कलाकारले जेल जीवनमा बनाएका कलाको चर्चा नेपाली कला इतिहासमा अद्यापि भएको छैन ।

राणाकालीन समय अर्थात् १९९७ सालमा प्रजापरिषद्को आन्दोलनमा जेल परेका पुष्करनाथ उप्रेतीको अनुहार–आकृतिलाई कलाकार मास्केले सशक्त रूपमा उतारेका थिए । मास्के पनि राणाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा राजनीतिक बन्दी बनेर जेल परेका थिए ।

यसरी जेलमा एकै ठाउँ रहँदा मास्केले त्यहाँ उपलब्ध कमेरो, ईंटा, कोइलाका माध्यमबाट जेलमै लगाउने भाङ्ग्राको कपडामा उप्रेतीको अनुहारलाई भावपूर्ण रूपमा उतारेका थिए । त्यसचित्रमा पाइने रङ कौशलताका साथै मूलतः व्यक्तिचित्रको शैलीगत वैशिट्य पनि निकै उच्च रहेको छ । जेलको कठिन र दुःखपूर्ण सजायको क्षण आफैंमा विरक्तिको शून्य संसार हो । त्यस नैराश्यमा पनि चित्रकलाप्रति उनको कोमल अनुरागलाई अनुकरणीय मान्नुपर्दछ ।

राणाकालीन बन्दीले अर्को बन्दीको चित्र बनाएको र त्यो चित्र सर्वप्रथम सार्वजनिक भएको दिन पनि त्यही थियो । भनिन्छ, मास्केले अरू राजबन्दीहरू फणीन्द्र हमाल, धु्रव दुवाडी, जीवनाथ शर्मा आदिको पनि मुहारचित्र जेलमै बनाएका थिए तर राणाशासकले ती अमूल्य चित्रलाई जेलभित्रै नष्ट गरिदिएकाले ती बाहिर आउन पाएनन् । ती कस्ता चित्र थिए भन्न सकिन्न । उप्रेतीको चित्र भने संयोगवश चित्रकार मास्के आफैंले आफ्नो जीउभित्र अत्यन्त सावधानीपूर्वक लुकाएर ल्याएकाले त्यो बचेको थियो । अनि प्रदर्शनी हुने अवसर समेत पाएको थियो ।

कलाकार चन्द्रमानसिंह मास्केले बनाएकाे चित्र ।

चन्द्रमानसिंह मास्केको नाम नेपाली कला जगतमा निकै आदरसाथ लिइन्छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई कला अध्ययनार्थ कोलकाता पठाएका थिए । स्वदेश फर्केपछि मास्केले धेरै नै मुहारचित्र लगायतका अन्य चित्रकृतिको निर्माण मात्र गरेनन्, नेपालमा व्यङ्ग्य चित्रकलाको प्रारम्भ पनि गरेका थिए । व्यङ्ग्यचित्रमा उनको व्यङ्ग्य नै राणा शासनप्रति हुने गर्दथ्यो । फलस्वरूप उनी राणाहरूको कोपभाजनको शिकार भए । सर्वस्वहरणसहित १८ वर्षसम्म जेल सजाय पाए ।

मास्केले व्यङ्ग्यचित्र बनाएर राणा सरकारको उपहास गरिरहेका छन् भन्ने कुरा राणा सरकारले विभिन्न स्रोतबाट थाहा पाए । फलस्वरूप उनलाई ध्वंसात्मक गतिविधिको कथित आरोपमा १९९७ सालमा १८ वर्षको कठोर कारावासको दण्ड दिइयो । यति मात्र होइन, मास्के र मास्केको परिवारको सर्वस्वहरण पनि गरिएको तथ्य विवरण नारायणबहादुर सिंहको समसामयिक नेपाली चित्रकलाको इतिहास नामक पुस्तकबाट पनि जानकारी मिल्छ । व्यङ्ग्य सिर्जना गरेकै फलस्वरूप यति कठोर सजाय पाउने मास्के सम्भवतः पहिलो नेपाली हुन् ।

१९९७ साल माघ ८ मा धर्मभक्त माथेमा र माघ १० मा शुक्रराज जोशी (शास्त्री) लाई झुण्ड्याएर मृत्युदण्ड दिइसकिएको थियो । त्यसबखत गणेशमान सिंह, चन्द्रमानसिंह मास्के, गोविन्द उपाध्याय, टंकप्रसाद आचार्यहरूलाई आजीवन काराबासको सजाय सुनाइएको थियो ।

नेपालमा पाश्चात्य प्रविधि र पूर्वीय शैलीको चित्र भित्र्याउनेमध्येका एक हस्ती मानिने मास्केलाई राणा शासकले तीनवटा काण्डमा दोषी ठहर गरी जेल सजायको फैसला गरेको थियो । मास्केमाथि लागेको मुख्य दोष उनले बनाएको व्यङ्ग्यचित्रमा एउटा हात्तीको सूँडले श्री ३ को श्रीपेच फुकेर उडाइदिएको दृश्य चित्रित थियो । यो व्यङ्ग्यले राणा शासककै खिल्ली उडाएको र ठूलो अपमान गरेको ठहर गरी मास्केलाई सर्वस्वहरण तथा १८ वर्षे कारावासको कठोर सजाय तोकिएको थियो ।

कलाकार मास्केले काेरेकाे चित्र ।


जेलजीवनमा मास्केले व्यक्तिचित्रबाहेक अरू केही महत्वपूर्ण कलाकृतिहरू पनि सिर्जना गरेका थिए । कविकेशरी चित्तधर हृदयको महाकाव्य ‘सुगत–सौरभ’ (नेपाल भाषा) किताबमा पानी रङका सुन्दर दृष्टान्त चित्रहरू मास्केले नै बनाएका हुन् । सोही महाकाव्यका लागि मास्केले बुद्ध जीवनी र अन्य चित्रहरू निकै मिहिनेतपूर्वक बन्दी जीवनमै बनाएका थिए । सो महाकाव्यमा राजा शुद्धोधन र उनकी रानी, भगवान गौतम बुद्धको साधना, राधाकृष्ण आदि अनेक रंगीन चित्रहरू समावेश छन् ।

बन्दी जीवनमा पनि यस किसिमको कलाकारिता, कल्पनाशीलता र मौलिकताले विछट्टै आकर्षक चित्र बनाउनु कलात्मक साधना, समर्पण र क्षमताको कुरा पनि हो । यी चित्रहरूबाट मास्केमा कलाचेतना र कलाचिन्तनको भाव अत्यन्त बलियो थियो भन्ने कुराको बोध हुन्छ ।

स्मरणीय छ, मास्केका यी चित्रकला नरदेवीको तुछें गल्लीस्थित नेपाल भाषा परिषद्को साहित्यिक संस्था ‘चित्तधर हृदय स्मृति संग्रहालय’ मा रहेका छन् । किताबमा रहेका ती चित्रलाई सो स्मृति भवनमा सुरक्षित किसिमले राखिएका छन् । त्यहाँ मास्केले बनाएका अन्य रेखा चित्रहरू समेत सो संग्रहालयमा रहेका छन् । अरू प्रशस्तै किताबहरूमा पनि उनले बनाएका नमूना चित्रहरू खोज्दै जाँदा देख्न पाइन्छ ।


अतः मास्केकृत कलाकृतिहरूको आफैंमा विशिष्ट स्थान रहेको छ । तिनको वर्णन र विवरण मात्र पनि अहिलेका कलाकार पुस्ताको लागि प्रशस्त मार्गदर्शनको माध्यम बन्न सक्ने निश्चित छ । समकालीन नेपाली कलाको धरातलमा नेपालीपनले ओतप्रोत वा आफ्नै किसिमको मौलिकताले लेपन भएका तथा जीवन्त सांस्कृतिक झलकसहितको पहिचान प्रस्तुत गर्ने कलाकृतिको खडेरी लागेको अवस्था छ । यसमा तत्कालीन समयमा मास्केको योगदानलाई सदा स्मरण गर्नु तथा तिनको सम्मान र संरक्षण पनि अहिलेको आवश्यकता हो ।

बुवा बुद्धिमान मास्के र आमा पूर्णकुमारी मास्केको कोखबाट यस्ता आदरणीय कलाकार मास्केको जन्म वि.सं. १९५६ साल चैत २३ गते भएको थियो । उनको निधन वि.सं. २०४१ साल साउन १३ गते मास्के निवास बाङ्गेमुढा काठमाडौंमा भएको थियो ।

(लेखकको २०७६ सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ नामक कृति प्रकाशित छ ।)

प्रतिकृया दिनुहोस