ब्लग शनिबार, वैशाख ६, २०७७

बन्दाबन्दी: माटोको सुगन्ध पहिल्याउँदै फर्कनेहरूका नाममा

हिमालखबर

बन्दाबन्दी: माटोको सुगन्ध पहिल्याउँदै फर्कनेहरूका नाममा

– मनिषा गौचन

आज विछट्टै सुन्दर लागिरहेछ आकाश । बल्ल ऊ आफ्नो सक्कली रङमा फैलिंदै मुस्काउन पाएको छ । आकाश मुस्कुराएको देख्ने मेरा आँखाहरू यतिखेर खूब रोमाञ्चित छन् । यी आँखा कहिले पर–परको हरिया पहाडमा पुग्छन् र हरियै भएर फर्कन्छन् । तुरुन्तै सेता हिमालमा पुग्छन् र सेतै भएर फर्कन्छन् ।

यी आँखाले टिपेका हरिया, सेता, नीला रङहरू मेरो हृदयको क्यानभासमा पोखिन्छन् र बन्छ प्रकृतिको एउटा सिङ्गो दृश्यचित्र । आज म प्रकृतिको वास्तविक रुपसँग रमाएकी छु । जसरी म बाल्यकालमा कालीगण्डकीको किनारामा रमाउँथे । कालीगण्डकी, हिमालपारिबाट मुस्ताङ हुँदै बग्ने एउटा नदी । जहाँ दामोदरकुण्डदेखि शालिग्रामहरू नुहाउँदै ओरालो झर्छन् । ती शालिग्रामसँग खेल्दै रमाउँदै हुर्केकी म यति वेला काठमाडौं उपत्यकाको प्रकृतिसँग रमाइरहेकी छु ।

केही दिन यता परेको पानीमा पहाडहरुले पखालिन पाएका छन् । त्यसैले चम्किला देखिएका छन् फुलचोकी, चन्द्रागिरि अनि कपनको डाँडा । वरिपरि देखिने स–साना थुम्काहरू पनि उस्तै सुन्दर देखिएका छन् । रुखहरूले रुख हुन पाएका छन् । नत्र तिनका हाँगाहरू धूलो बोक्न नसकेर थकित देखिन्थे ।

जब रुखहरूले सजिलो गरी सास फेर्न पाउँछन्, चराहरूले पनि निश्चिन्त भएर गीत गाउन सक्छन् । त्यसैले आजकल चराहरूको चिरबिर पनि बढी नै सुन्छु । त्यसो त वसन्त ऋतु, नयाँ पालुवासँगै फूलहरू फुल्ने मौसम । अझ यो समय त चराचुरुङ्गीहरूको प्रजननको समय रे ! भोलि गएर सन्तान हुर्काउने जिम्मेवारी बोक्न पनि तयार छन् । नत्र बचेराहरूले उड्न सिकेर आफ्नै संसार बसाल्नु कसरी ? आखिर प्रकृतिको नियम न हो, पालना गर्नुमै जीवनको अस्तित्व छ ।

आजकल यी हरिया पहाड र थुम्काहरूको बीचमा यो शहर पनि शान्त लागिरहेछ । सडकमा गाडीको बाढी छैन । धुवाँको पिरो गन्ध पनि छैन । किनकि कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दी छ र मान्छेहरूलाई बाहिर निस्कन बन्देज छ ।

बन्देज भन्दा पनि हामी लुकिरहेका छौं, भाइरसको त्रासमा । केही दिन मान्छेहरूको चकचकी रोकिंदा शहरले पनि आनन्दको सास फेरिरहेको छ । यसको प्रत्यक्ष प्रभाव कुकुरहरूमा देख्छु । उनीहरू बीच सडकमा सपना देख्दै, निस्फिक्री खुट्टा तन्काउँदै निदाएका छन् । केही हदसम्म भए पनि मान्छेको लात खानुपरेको छैन, यिनले । गाडीका पांग्राहरूमा रगताम्य भएर दुख्नु परेको छैन । क्वाइँ–क्वाइँ गर्दै रुनु परेको छैन । मान्छे कतिसम्म क्रूर हुनसक्छन् भन्ने कुरा हामी उनीहरूको काटिएको टाउको, च्यात्तिएको कान, फुटेको आँखा अनि भाँच्चिएका खुट्टामा देख्न सक्छौं । कमसेकम यी क्रूर व्यवहारबाट केही राहत महसूस भएको होला, यिनलाई पनि ।

राहत त मलाई पनि मिलेको छ किनकि यति वेला मेरो व्यस्तताले आराम पाएको छ । निदाउनुअघि भोलिको योजनाहरूले भारी हुने मेरो टाउको हलुंगो महसूस गर्दैछ । अचम्म टाउको हलुको भएपछि त समय पनि बिर्सिंदो रहेछ । सम्झनलाई भित्ताको क्यालेण्डर पल्टाउन जरुरी पनि ठान्दिनँ ।

समाचार पढ्छु, शुक्रवार र शनिवार शहरमा अल्झिएका मजदूरहरूलाई घर फर्कन छुटको निर्णय ! केही समयमै निर्णय बदर पनि ! 'अरे यार, सरकारले पनि झुक्याउँछ !' मैले ट्विट गरें । सरकारको ताल देखेर नाक खुम्च्याइरहेकाहरूका ट्विट धमाधम देखिन्छन् । !

हुन पनि कति नागरिक झुक्किए । सबैभन्दा धेरै त दैनिक गुजारा गरी आफ्नो र परिवारको पेट पाल्न शहर पसेका मजदुरहरू नै झुक्किए । घर फर्कन तयार तिनका पोकापुन्तुरा झुक्किए । घरमा आउँछु भनेर बोलेका वचनहरू झुक्किए । मीठो मसिनो खान नपाए पनि सँगै महामारीसँग लडौंला भन्ने जोडी जुझारूहरू झुक्किए ।

यो सब हुँदै गर्दा सरकार आफैंसँग पनि झुक्कियो । आफैंसँग झुक्किनुको लाचारी बिर्सेर फेरि देशवासीहरूको नाममा आउँछ सम्बोधन । सम्बोधन त भइरहन्छ नै तर आपत् यो छ कि ती सम्बोधनहरूले जनताका समस्याको सम्बोधन कहिल्यै गर्न सक्दैनन् ।

मलाई दार्शनिक भोल्तेरको एउटा कथन याद आयो । १०० मुसाहरूद्वारा शासित शासनभन्दा एउटै सिंहद्वारा शासित शासनमा रहन ठीक । हामीले अझै पनि देश हाँक्न सक्ने सिंह जस्तो नेता पाएनौं । सिंह आफ्नो निर्णयमा निश्चित हुन्छ । तर, मुसाहरू हल्ला र फोहोर मात्रै गर्छन् । उनीहरू कसैलाई मार्नुपर्‌यो भने पनि एकैचोटि मार्दैनन् । बरु जिस्क्याई–जिस्क्याई टोकेर मार्छन् ।

यतिवेला सरकारको कुरा काट्न पनि त्यति जाँगर लाग्दैन । किनकि म अझ मस्त रमाउन चाहन्छु यो एकान्तपनसँग । प्रकृतिसँग । कल्पनामै भए पनि प्रकृतिसँग रमाउँदै माटोको सुगन्ध पिउँछु । त्यो माटो जो वर्षौंदेखि चट्टान जस्तो कठोर भएर निसास्सिएको छ । निर्जन छ । निरस छ । उसले भुल्न सकेको छैन ऊसँग खेल्ने औंलाहरू । उसलाई भिजाउने पसिना । उसलाई चरम आनन्दमा पुर्‌याउने औजार अनि तिनको स्पर्श र त्यसपछि जन्मने हरियाली । त्यो हरियालीमा रंगीन हुँदै फुलेका फूल । ती फूलहरूमा पुतली, माहुरी खेल्दाखेल्दै पाकेको फल ।

जब माटोको अस्तित्व ढुंगामा परिणत हुन्छ तब प्रकृतिलाई पनि दुख्दो हो । जब हावाको स्वच्छन्दता दुर्गन्धमा परिणत हुन्छ तब प्रकृतिलाई पनि असह्य हुँदो हो । जब प्रदूषित हुँदै पानीले आफ्नो रङ र बहावको गति बदल्छ प्रकृति पनि अलमलिंदो हो । ठीक यति वेला हामी पनि कोरोना भाइरसको महामारीले अलमलिएका छौं । अत्तालिएका छौं ।

त्यही फलको भरमा त बाँचेका थिए हाम्रा पुर्खा । अनि बचाएका थिए हामी हुनुको अस्तित्व । त्यही माटोेको तागत पिएर बलियो बनेका पाखुराहरू विश्वबजारमा त बिक्री भयो, तर माटोले पायो के ?

जब माटोको अस्तित्व ढुंगामा परिणत हुन्छ तब प्रकृतिलाई पनि दुख्दो हो । जब हावाको स्वच्छन्दता दुर्गन्धमा परिणत हुन्छ तब प्रकृतिलाई पनि असह्य हँुदो हो । जब प्रदूषित हुँदै पानीले आफ्नो रङ र बहावको गति बदल्छ प्रकृति पनि अलमलिंदो हो । ठीक यति वेला हामी पनि कोरोना भाइरसको महामारीले अलमलिएका छौं । अत्तालिएका छौं ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको प्रतिवेदन अनुसार विश्वमा एक अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा छ । विदेश पुगेका हाम्रा कतिपय युवाहरूको हातबाट रोजगारी गुमिसकेको छ । उच्चशिक्षा हासिल गरी उज्यालो भविष्य खोज्ने थुप्रै विद्यार्थीको आँखाबाट ती सपना उड्न थालेको छ । सँगसँगै दुःखमा जोहो गरेको सम्पत्ति पनि सकिंदैछ । ऋण लिएर विदेशिनेहरूको दुःखको पहाड त झन् अग्लिने नै भयो । त्योभन्दा बढी डर छ, कतै विदेशीभूमिमै एकमुठी प्राण सकिजाने हो कि ?
शक्तिराष्ट्रहरूले विश्वबजार नै कब्जामा लिएर हाम्रो जस्तो सानो मुलुकका मान्छेहरूको श्रम प्रयोग गरे । हामीले हाम्रो पसिना उनीहरूकै देशको माटोमा मिलायौं । अलिअलि भएको दिमागी तागत उनीहरूकै लागि खर्चियौं । हातमा पैसा भए जिन्दगी चल्छ । यही भ्रममा हामीले आफ्नो उमेर विदेशी भूमिमै बन्धकी राख्यौं । 

कसले सोचेको थियो र यो नाथे भाइरसले हाम्रो सात्तो लिन्छ । अमेरिका जस्तो शक्तिशाली मुलुक पनि थरथर छ । आत्तिएर होला, राष्ट्रपति डोनाल्ड ट्रम्पको बोली बत्तिएको गोली जस्तो लाग्छ । पछिल्ला घटनाले ट्रम्प राजनीतिककर्मी कम र व्यापारी बढी लाग्छन् ।

त्यसैगरी अर्काे शक्तिराष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि त्यस्तै मनसायमा छन् । उनीहरूका लागि मान्छे मरिरहे पनि कलकारखानाहरू चलिरहुन् । म सोचमग्न हुन्छु, हैन कसरी तुलना गर्न सकिन्छ मान्छेको जीवन र अर्थतन्त्र ?

जीवन त कर्कलाको पानी जस्तै हो पात ढलपल मात्र गरे पुग्यो । त्यसैले त आफ्नो जीवनको महत्व बुझेर फर्कंदै छन् ती हजारौं नेपाली । कति त फर्किपनि सके कोही आकाशहुँदै त कोही महाकालीको भेलहुँदै । दुवै थरीका आ–आफ्नै कथा छन् । साँच्चै, मृत्युसँग यति डर लाग्दो रहेछ कि मर्दा पनि परिवारकै साथमा होस् भन्ने कामना गर्छौं ।

तर, यति वेला म सकारात्मक भएर सोच्न थालेकी छु । मान्छेहरू मर्न हैन जिउन फर्केका छन् आफ्नो देश । विदेशबाट आउनेहरू भाइरस बोकेका हुन्छन् भनेर सरकार नै सशंकित भइरहेको वेला म उनीहरूको अनुहारमा देशको प्रेम देख्छु । साँच्चै यी फर्किनेहरूको आँखामा हार होइन जितको अभीप्सा छ ।

उनीहरू आफ्नैहरूको माझमा मिसिंदैछन् । आफ्नै माटोमा फर्कंदै छन् । कमसेकम यो महामारीले हामीलाई हामी हुन सिकाउँदैछ । हाम्रो धरातल सम्झाइदिएको छ । आफ्नो बाटोमा फर्काइदिन खोजेको छ । अझ बढी त आफ्नो माटोको तागत सम्झाइदिएको छ ।

उनीहरू आफ्नैहरूको माझमा मिसिंदैछन् । आफ्नै माटोमा फर्कंदै छन् । कमसेकम यो महामारीले हामीलाई हामी हुन सिकाउँदैछ । हाम्रो धरातल सम्झाइदिएको छ । आफ्नो बाटोमा फर्काइदिन खोजेको छ । अझ बढी त आफ्नो माटोको तागत सम्झाइदिएको छ ।

अहा माटो ! चल्न जाने माटोमै त छ जीवन ! म कल्पना गर्छु अब ती औंलाहरू आफ्नै माटोमा खेल्नेछन् । उनीहरूको पसिनाले ढुंगा भएको माटो पग्लिनेछ । त्यो पसिना माटोको गन्धमा मिसिएर सुगन्धित हुनेछ । पाखुराहरू औजार बोकेर खेतबारीमा रम्नेछन् । माटोले चरम आनन्द प्राप्त गर्ने छ । जन्माउने छ, मीठो सुगन्धसहितको हरियो रङ । हरियो रङ निरन्तरताको रङ हो । आखिर जिउनुको अस्तित्व थपक्क बस्नुमा होइन चल्नुमै त छ ।

प्रतिकृया दिनुहोस