ब्लग शनिबार, वैशाख ६, २०७७

प्रेमिल लाग्दैछ यो बन्दाबन्दी

हिमालखबर

प्रेमिल लाग्दैछ यो बन्दाबन्दी

बाहिर निस्किएर यसो हेरेको घाम अस्ताउन लागेछ । अब त बिर्सन थालें, साँच्चै बन्दाबन्दी भएको आज कति दिन भयो ? गते थाहा छैन, तर आज शनिबार रहेछ । हिजो राति अबेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरह्यो।

 विमला तुम्खेवा

छेउमा आमा र योनछेन सुतिरहेछन् । पल्लो कोठामा योनछेनको बाउ सुतिरहेछ, घुरेको वल्लो कोठासम्मै सुनिन्छ । पर्दा उघारेर बाहिर हेरें, चकमन्न रहेछ । अरुवेला मध्यरातमा पनि भटभटेको आवाजले योनछेन झस्किन्थी।

योनछेनको अनुहार हेरें । सुतिरहेकै छे । मलाई यो संक्रमणले कसैगरी भेटिहाले योनछेन र आमाको बिजोग हुन्छ।

अनि योनछेनको बाउ ? ऊ उस्तै परे फेरि बिहे गर्छ । आफ्नो जिन्दगी चलाइरहन्छ।

मोबाइलमा समय हेरें । साढे एक बजेछ।

मर्न त चीन, इटाली र अमेरिकामा पनि मान्छे मरिरहेका छन् । तर, मलाई ती पल्लो घरको कोही नजिकको मिल्ने छिमेकीझैं लागिरहेछ । टेक्नोलोजीले संसारलाई कति नजिक बनाएछ । सामाजिक संजालतिर देखिएको भिडियोहरुले आङै सिरिङ्ग हुनेगरी अत्याउँछ।

पुराना दिन याद आए । बाँचेर आएको त्यो जीवनलाई सम्झँदा ‘थुक्क’ जस्तो लाग्यो।

कतिखेर निदाएछु, पत्तै पाइनँ।

आमाले शौचालयको घारा खोलेको रहेछ । बाल्टीमा ठोक्किएको पानीको आवाजले निद्राबाट झल्याँस्स बिउझिएँ । घाम निकै माथि आइसकेको रहेछ । सिरकभित्रै बसेर राति देखेको सपना सम्झें, म त कोरोनाभाइरससँग लाप्पा खेल्दै थिएँ । सुँगुर रोप्ने चुप्पीले त्यसलाई घोच्दै थिएँ । हजारौंको संख्यामा आएको हुलले मलाई चारैतिरबाट झम्टिरहेका थिए।

सपना सम्झिएर हाँस उठ्यो । नाथु सपना पनि के के देखिने ? जीवनको कत्रो मोह ! मैले बल्लबल्ल एउटालाई घोचेपछि त्यो पनि छटपटाउँदै थियो।
सपना पनि आजतकले प्रसारण गर्ने समाचार जस्तै।

एउटा कुरा नढाँटी भन्नुपर्दा मर्न मलाई साह्रै डर लाग्छ । दिनमा कयौंपटक मृत्युबारे ख्याल आउँछ । यस्तो मलाई मात्र हुन्छ कि अरुलाई पनि हुन्छ?

यस्तो विघ्न त्रास र भय विपनामा कहिल्यै थाहा थिएन । म अझै त्रस्त छु । साथीहरु चाहिँ सामाजिक संजालभरि नयाँ किताब पढेको र सिनेमा हेरेको पोष्ट गरिरहेका छन् । उसो त म अरु वेला पनि खास पढन्ते होइन।

एउटा कुरा नढाँटी भन्नुपर्दा मर्न मलाई साह्रै डर लाग्छ । दिनमा कयौंपटक मृत्युबारे ख्याल आउँछ । यस्तो मलाई मात्र हुन्छ कि अरुलाई पनि हुन्छ?

योनछेनको आप्पालाई सुनायो भने ‘साइको’ भन्छ । तर, जीवनको संजोग पनि कस्तो हुँदोरहेछ भने योनछेन जन्मदा म झन्डैले चिप्लिएकी । डाक्टरले खुशी हुँदै “हेर त कस्तो हेल्दी बच्चा” भनेर छातीमा राखी दिएको करीब बीस मिनेट पछि अचानक बेहोस भएँ । त्यसको पर्सिपल्ट मात्र होस आयो । त्यति वेला म इमर्जेन्सी रुममा रहिछु।

भर्खर झिसमिसे भएको रहेछ । होस आउनासाथ पल्लो बेडको बिरामीको मृत्यु देखें । मुटुले ठाउँ नै छोडेजस्तो भयो।

तर, २०५५ सालमा दुई महीनासम्म आईसीयूमा राखेर बुवाको उपचार गराउने म नै थिएँ । जम्मा १५ वर्षकी थिएँ, भारतबाट लास एक्लै लिएर आएँ । क्रियापुत्री आफै बसें । बर्खी आफै गरें । त्यो एउटा सांस्कृतिक क्रान्ति थियो भन्ने धेरै वर्षपछि मात्र थाहा पाएँ।

पल्लो बेडको लासलाई बिहानै ६ बजेतिर उठाए । एकैछिनपछि त्यही बेडमा अर्को बिरामी ल्याएर राखे।

योनछेनको आप्पाले छोरी बोकेर देखाउन ल्यायो । आमा पनि सँगै मलिन अनुहार बनाएर आउनुभयो । डल्लु त्रिभुज पारामा सुतिरहेकी थिई।

“धेरै राख्न हुन्न बच्चालाई संक्रमण हुन्छ”, डाक्टरले भनेपछि उसको आप्पाले लिएर गएको दृश्य अहिले पनि आँखैमा छ।

म कल्पनामै छु । शौचालयबाट निस्किएर आमा कराउन थाल्नुभयो, “छिटो उठ, के साह्रो छाडा भएर सुतिरहेकी ? रातभरि मोबाइल चलाएपछि यस्तै हो।”

“आमा र म सँगैसँगै सुत्ने” भनेर बाउको खाटबाट मलाई तानेर ल्याएकी थिई । छोराछोरी जन्मिएपछि लोग्ने स्वास्नीको माया पिरती सकिंदो रहेछ।

निद्रा बिग्रेर दिमाग रनक्क भएको थियो । राति छिट्टै सुत्नुपर्ने म, योनछेन पेटमा आएको सात महीनादेखि आनन्दले सुतेको थाहा छैन । आमा भने फतफताउँदै आँगनतिर लाग्नुभयो।

योनछेनले हिजो सुत्ने वेला “आमा र म सँगैसँगै सुत्ने” भनेर बाउको खाटबाट मलाई तानेर ल्याएकी थिई । छोराछोरी जन्मिएपछि लोग्ने स्वास्नीको माया पिरती सकिंदो रहेछ।

अचानक मन हङकङ पुग्यो । अस्तिकै महीना त हो कविता भन्न पुगेको । नेपाली भाषा तथा साहित्य परिषद् र हङकङ साझा साहित्य शृङ्खलाको निम्तोमा । त्यो वेला कोरोनाले हङकङलाई छुन थालिसकेको थियो।

कार्यक्रम २३ फेब्रुअरीमा ब्लु ओसन होटलमा थियो । किसन दाजुलाई कार्यक्रम सार्न अनुरोध पनि गरेकी थिएँ । तर, उहाँले ढुक्कले आउन भनेपछि गएकी थिएँ । वसन्ता फुपूले पनि आँट दिनुभयो।

हङकङ जानुभन्दा एकदिनअघि योनछेन बिमारी भई । तनावबीचमै पुगेकी थिएँ । तर, कार्यक्रम सफल भयो । अचम्म लागिरहेछ, त्यस्तो चुनौतीपूर्ण अवस्थामा पनि धेरै जना जोडिनुभयो । त्यो समय कति जोखिम रहेछ भन्ने चाहिँ बल्ल अन्दाज गर्दैछु । दर्शकहरु जोखिम मोलेरै कार्यक्रममा आइदिनुभएको रहेछ।

२० फेब्रुअरी बिहान हङकङ एअरपोर्टमा साथी कवि दीपा राई र म ओर्लंदा बिहानको चार बजेको थियो । दीपाजी परीक्षा छाडेर मेरै निम्ति हङकङ जानुभएको थियो । उहाँ नजानुभएको भए म कुवाकै भ्यागुतो हुने रहेछु । त्यो अन्डर ग्राउन्डको मेन्ट्रो स्टेशनमा जुत्ता हातमा बोकेर खाली खुट्टा कुदेको म कहिल्यै भुल्ने छैन।

एउटा कुरा नढाँटी भन्छु, मलाई प्लेनलेखि साह्रै डर लाग्छ । नेपालका पहाडमा कुदेका बसका गति देख्दा मुटु नै उछिट्टिएर बाहिर निस्केला जस्तो हुन्छ । पथरी घर जाँदा–आउँदा त्रिशूली नकटेसम्म सातोले ठाउँ छोड्छ । आँखा झिमिक्क नगरी काठमाडौं र पथरी कयौंपटक गरेकी छु।

आकाशमा प्लेन बत्तिरहँदा मलाई पृथ्वी राजमार्गमा हुत्तिंदै ‘सीता ट्राभल्स’ कुदेको सम्झनाले आङ सिरिङ्ग भयो । यो घटना माओवादी जनयुद्ध ताकाको हो । पथरीबाट गुडेको सीता ट्राभल्स हेटौंडा आइपुग्दा चार ठाउँमा बिग्रिसकेको थियो । हेटौंडामा बनाउन थाले । तर, चार घन्टामा पनि बनेन । यात्रु अलपत्र पर्ने भएपछि चालकमाथि जाइलागे । एउटा यात्रुले हानेको थप्पडले चालकको गालामा रातो छाप पर्‌यो।

दिमागमा त्यही घटना आइरहेको थियो, प्लेन खटक्क गर्यो । दीपाजीलाई सोधें, “के भएको?” तेज गतिको हावालाई छिचोलिरहेको भनेर उहाँ निदाउन थाल्नुभयो । सारै ढुक्कको मान्छे हुनुहुँदोरहेछ।

एअरपोर्टबाट बाहिर निस्कँदा ट्याक्सी थिएन । सडक सुनसान थिए । आधाबाटो बस र आधा ट्याक्सी गरेर घर पुग्यौं । दीपाजीको घर पुग्दा छर्लङ्गै उज्यालो भइसकेको थियो । छोराहरु भने सुतिरहेका थिए। 

उहाँ घर सफा गर्नतिर लाग्नुभयो । म चाहिँ सुतें।

घरमा एउटा बिरालो रहेछ । नाम सोजु । अति शान्त र मायालु । म बसिन्जेल म्याउसम्म गरेन । त्यसको जातै यस्तै रे । किन्दा यो बिरालोलाई दशौं लाख पर्ने दीपाजीले बताउनुभयो । बिरालोलाई दशौं लाख ? हङकङमा मेरा लागि अर्को अनौठो यही भयो।

बिरालोलाई पुलुक्क हेरें र सोचें, यो एघार तलामाथि यसको एकजना साथी पनि भैदिए कस्तो भाग्यमानी हुने थियो । दीपाजीलाई यसलाई नेपाल लान मिल्छ कि सोधें । धेरै प्रक्रिया पुर्‌याउनुपर्ने रहेछ । मलाई भने यो बिरालोले कसरी एघार तलामाथि एक्लै जीवन कटाउँछ भन्ने चिन्ता लाग्यो।

बन्दाबन्दी लागू भएपछि पहिलोपल्ट वातावरण सुन्दर र प्रेमिल लाग्यो । भुसुक्क निदाएछु । भोलिपल्ट उठ्दा आठ बजिसकेको रहेछ । आँगनमा भँगेरा फुत्रुक्क फुत्रुक्क उफ्रिरहेका थिए । हिजो फक्रिंदै गरेको जिरिरियम फूल फुलिसकेछ।

म नेपाल फर्किएको केही हप्तापछि कोरोनाभाइरस नेपाल नै आयो।

आज योनछेन छिट्टै निदाई । तर, अघि भर्खरै त हो आकाशमा ताराहरु देखाउँदै ‘वान टु थ्री स्टार’ भन्दै उफ्रिएको । मैले भनें, “यो त खेसेमिक्पा हो ।” उसले ‘स्टार’ नै भएको जिद्दी गरिरही।

उसलाई मैले काखमा राख्दै भनें, “म अचानक हराएँ भने स्टार हुन्छु, तिमी नडराई बस्नु ल !” यति भनिसक्दा ऊ खुट्टा बजारेर रुन थाली।

“नाइँ हामी सँगै जाने”, ऊ त झगडा पो गर्न थाली । मेरो आँखाबाट भने कतिखेर आँसु झरिसकेछ । तर, अँध्यारोमा उसले मेरो आँसु देखिन।

एकान्तको तनावले थिचिरहेको छ । जीवन घरभित्रै थुनिएको छ।

अचानक विपश्यना ध्यान सम्झें। धेरै वर्षअघि गरेकी थिएँ । सम्झिएरै शान्ति महसुस भयो । मन हलुका भयो।

बन्दाबन्दी लागू भएपछि पहिलोपल्ट वातावरण सुन्दर र प्रेमिल लाग्यो । भुसुक्क निदाएछु । भोलिपल्ट उठ्दा आठ बजिसकेको रहेछ । आँगनमा भँगेरा फुत्रुक्क फुत्रुक्क उफ्रिरहेका थिए । हिजो फक्रिंदै गरेको जिरिरियम फूल फुलिसकेछ।

भाइरसकै नाममा अहिले शक्ति प्रदर्शन हुन थालेको छ । चीन र अमेरिका आरोप प्रत्यारोपमा छन् । तर, फूल निस्फिक्री फुलिरहेकै छ।

संसार अनित्य । आँगनमा उफ्रिरहेका भँगेराको बथान देखेपछि कवि विप्लव प्रतीकको गौंथली कविता याद आयो । साँच्चै यी कविले कसरी यस्तो जीवन्त हरफ लेखे?
अचानक मलाई जीवन र यो बन्दाबन्दी दुवै औधी प्रेमिल लाग्यो । जिन्दगी जिन्दावाद।

प्रतिकृया दिनुहोस