टिप्पणी शुक्रबार, वैशाख ५, २०७७

काेराेनाभाइरस महामारी: पर्यटन क्षेत्रमा रु.१६० अर्ब अनुमानित क्षति, यसरी गर्न सकिन्छ पुनर्जागरण

हिमालखबर

काेराेनाभाइरस महामारी: पर्यटन क्षेत्रमा रु.१६० अर्ब अनुमानित क्षति, यसरी गर्न सकिन्छ  पुनर्जागरण

कोरोनाभाइरस (कोभिड—१९) को प्रभावका कारण संसारभरिकै पर्यटन प्रायः ठप्प छ। हवाई र स्थलगत पर्यटन सबैभन्दा बढी प्रभावित छन्। त्यसअतिरिक्त नेपालमा हिमाली पर्यटन ठप्प छ। नेपालको मात्र समग्र पर्यटन क्षेत्रमा परेको प्रभावको क्षतिलाई आकलन गर्ने हो भने रु.१ खर्ब ५० अर्ब भन्दा बढीको क्षति भएको अनुमान छ।

दीपकराज जोशी

नेपालको पर्यटनमा होटल, रेष्टुरेन्ट, एअरलाइन्स, ट्राभल एण्ड टुरिजम, साहसिक पर्यटनसहितका क्षेत्र सुनसान छन्। पर्यटकको लागि खर्च गर्नुपर्ने र नभइनहुने क्षेत्र एअरलाइन्स र होटल हुन्। यी दुवै क्षेत्रको सञ्चालन खर्च अन्यको भन्दा बढी छ। त्यसकारण बढी जोखिममा यी क्षेत्र नै छन्।

समान्यतया पर्यटकहरु आज योजना बनाएर भोलि नै घुम्न निस्कँदैनन्। प्रशस्त समय लगाएर योजना बनाउने, बिदाको समय पार्ने, खर्च जुटाउने सहितको तयारी हुन्छ। सामान्य अवस्था हुनेबित्तिकै पर्यटक आइहाल्दैनन् । अहिले अवस्था सामान्य हुन्थ्यो भने ठूला होटल ८० प्रतिशत र मध्यम तथा साना होटल ६० प्रतिशतसम्म भरिएका हुन्थे। यो घाटा व्यवसायीले बोक्नुपर्ने भएको छ।

नेपालको पर्यटनमा अहिले पर्वतीय सिजन पनि हो। यो सिजनमा सगरमाथा आरोहणका लागि मात्रै करीब ३५० देखि ४०० आरोही त्यता जान्छन्। यसबाट संकलन हुने रोयल्टीबापतको करोडौं रुपैयाँ राज्यले गुमाएको छ। पर्वतीय पर्यटन अन्तर्गत अन्नपूर्णमा करीब दुई लाख, खुम्बु क्षेत्रमा ३५ हजार, लाङटाङ क्षेत्रमा २५ हजार पदयात्री आउँछन्। अन्य पर्यटकीय गन्तव्यमा जाने, पर्वतीय गतिविधिमा रमाउने, पदयात्रा, साहसिक पर्यटन, र्‍याफ्टिङ, बन्जी, ट्राभल एन्ड टुरसहितको गतिविधिका पर्यटक शून्य छन्।

पाेखरा ।

यति वेला पर्यटन क्षेत्रमा आवद्ध करीब १० लाख जनशक्ति काम विहीन छन्। तीमध्ये होटल क्षेत्रमा चार लाख ५० हजारदेखि पाँच लाख, रेष्टुरेन्टमा एक लाख, पर्वतीय पर्यटनमा एक लाख, एअरलाइन्समा करीब २० हजार छन्। समग्र पर्यटनमा प्रत्यक्ष र अप्रत्यक्ष जनशक्ति त १० लाखभन्दा बढी छन्। पर्यटन आगमनका हिसाबले महत्वपूर्ण वसन्त ऋतुमा नै १० लाख जना काम विहीन हुनु ठूलो घाटा हो।

नेपालमा मुख्य पर्यटकीय सिजन वसन्त र शरद ऋतु हुन्। कोभिड–१९ को महामारी जूनसम्ममा नियन्त्रण भए पनि सन् २०२० मा पर्यटकको आगमन हुन मुस्किल छ। यसर्थ अब आगामी दिनका लागि योजना बनाउनुपर्छ। सन् २०२१ देखि पर्यटन क्षेत्रलाई पुनर्जागरण गरेर जान सकिन्छ। तर, हाम्रो लागि हामी आफैँले गर्नुपर्छ। अहिले सबैले आफू कसरी बाँच्ने भन्ने नै चिन्ताको विषय छ। हाम्रो पर्यटन पनि त्यही अवस्थामा छ।

आन्तरिक उडानका विमानहरु ।

सन् २०२१ ‘दिने’ र २०२२ ‘लिने’ वर्ष बनाउने

कोरोनोको प्रभाव कति समय जान्छ र कस्तो रूपमा संसार फैलन्छ, यकिन छैन। तर, सन् २०२० भन्दा पछि जाँदैन भन्ने अनुमानका आधारमा सन् २०२१ लाई पर्यटन क्षेत्र मार्फत प्रतिफल दिने वर्ष बनाउन सकिन्छ। यसमा राज्यको जिम्मेवारी महत्वपूर्ण हुन्छ। राज्यले जति निजी क्षेत्रलाई दिन सक्यो उति पर्यटन क्षेत्र बौरिन्छ।

राज्यले दिन सक्ने भनेको भन्सार छुट, आयकर छुट, ऋण तथा ब्याजमा छुटसहितका प्याकेज हुन्। महामारी नियन्त्रणमा आएपछि त अर्थतन्त्र पक्कै चलायमान हुन्छ। त्यतिन्जेलसमलाई धान्नु पर्ने भएकाले पनि सरकारी निकायबाट सहयोग र साथको आशा निजी क्षेत्रले गर्छन्। त्यसका लागि योगदानमा आधारित अर्थतन्त्र बनाउनुपर्छ। जसरी हुन्छ निजी क्षेत्रलाई उत्साहित बनाइराख्नुपर्छ।

गत वर्ष वैशाख महीनाकाे पहिलाे साता सगरमाथा आधार शिविरमा आरोहीका टेन्ट। तस्वीर: लाक्पा नोर्वु शेर्पा

उदाहरणका लागि कुनै ट्राभलमा काम गर्ने एक व्यक्तिले ५० हजार तलब पाउँछ भने १५ हजार राज्यले सहुलियत स्वरूप दिने, १५ हजार निजी क्षेत्रले व्यहोर्ने र बाँकी २० हजार रोजगारदाता स्वयमले व्यहोर्ने। यसको अर्थ पहिले पर्यटन उद्योग बचाउनुपर्छ। उद्योग बाँच्यो भने मात्र भोलि यसले राज्यलाई योगदान गर्न सक्छ।

अहिलेको खर्च हुन नसकेका र कम उत्पादनका क्षेत्रको बजेट घटाउनुपर्छ। कतिपय लुकेर बसेका खर्चका स्रोत छन्, जुन अनुत्पादनक छन्। त्यसलाई पहिचान गर्नुपर्छ। यस्तो खर्चलाई पर्यटन उद्योग पुनःजागरणमा लगाउनुपर्छ।

पर्यटनका मुख्य तीन क्षेत्र पर्वतीय पर्यटन, टुर तथा ट्राभललाई छिटो पुनर्जागरण गर्नुपर्छ। यी हाम्रा खास महत्वका क्षेत्र भएकैले पर्वतीय पर्यटनको अनुभव लिन र आरोहण गर्न पर्यटक नेपाल आउँछन्। यसलाई जोगाउन पहल गर्ने दायित्व हाम्रै हो।

नेपालमा कोभिड–१९ को प्रभाव अब बढ्न नदिने गरी नियन्त्रणमा राख्न सकियो भने त्यसको सकारात्मक सन्देश जान्छ। त्यसो भयो भने संसारको लागि नेपाल चासोको मुलुक बन्छ। त्यसपछि यहाँका जैविक र पकेट क्षेत्रमा पाइने खानपानलाई प्राथमिकता दिएर प्रवर्द्धन गर्न सकिन्छ। यसको अर्थ नेपालको पर्यटनमा भएका आकर्षित वस्तुलाई पनि पर्यटनमा जोड्नुपर्छ, भन्ने हो। भोलि छिटो पुनर्जागृत गराउनसक्ने आधार अहिले नै सोच्नुपर्छ।

पर्यटन पुनर्जागृत भएपछि भोलि त संसारभर फेरि भ्रमण शुरु हुन्छ नै। रणनीतिका हिसाबले कोभिड–१९ नियन्त्रणपछि केही समय आन्तरिक पर्यटनमा जोड दिनुपर्छ। त्यसका लागि आध्यात्मिक पर्यटनलाई पनि जोड दिनुपर्छ। अनि अन्तर्राष्ट्रिय बजारमा जान रणनीति र प्याकेज बनाउन थाल्नुपर्छ। सामान्य अवस्थामा आउने बित्तिकै प्रचार र प्रवर्द्धन थाल्नुपर्छ। राज्यले सन् २०२१ लाई दिने वर्ष बनाए २०२२ पक्कै पनि पर्यटनबाट लिने वर्ष हुनसक्छ। यसको अर्थ सन् २०२० लाई पर्यटन बचाउने वर्ष बनाउनुपर्छ।

पर्यटनमा तीन रणनीति आवश्यक

सन् २०२० सामान्य अवस्था थियो भने नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अगाडि सारेको वर्ष हो। अब संख्यामा जाने र यति नै पर्यटक ल्याउँछु भन्ने अवस्था रहेन। कोरोनाभाइरसलाई जेठभित्र नियन्त्रण गर्न सकियो भने त्यसपछिका दिनमा हुने पर्यटकीय रणनीति र गन्तव्य प्रवर्द्धन सन् २०२१ को लागि हुने हो। सन् २०२१ का पर्यटनमा मुख्य गरी तीनवटा रणनीति बनाएर जानुपर्छ।

सन् २०२० सामान्य रहेर २०२१ मा ६ लाख पर्यटक आए पनि हाम्रो पर्यटन उद्योग बाँच्न सक्छ। बन्दाबन्दी खुलेपछि मानिसको चलायमान बढ्दै जाँदा अर्थतन्त्र पनि चलायमान हुन्छ। बल्ल मान्छे विस्तारै घुम्न निस्कन थाल्छन्। हामीले त्यो समय हेर्नुपर्छ।

यसैले सन् २०२० लाई ‘एअर अफ सर्भाइबल’ अर्थात बचाउने, २०२१ लाई ‘रिभाइबल’ अर्थात पुनर्जागरण गर्ने र सन् २०२२ लाई एअर अफ ‘थ्राइबल’ बलियो र स्वस्थ बनाउने रणनीति बनाउनुपर्छ। अहिले कोरोनाभाइरसको त्रासमा पनि पोखरा र भैरहवा विमानस्थलमा काम भइरहेको भनेर सकारात्मक सन्देश गएको छ। यसको अर्थ सन् २०२१ मा हामीसँग पर्यटन पूर्वाधार तयार गर्दै छौं भन्ने पनि हो। दोस्रो मानव संसाधनको सुरक्षित सदुपयोगको सन्देश पनि हो।

अहिले पर्यटनको प्रचार र प्रवर्द्धन गर्ने तथा आफ्ना रणनीति सुनाउने वेला चाहिँ हुँदै होइन। हामीले अहिले सक्दो मानवीय संवेदनामा आधारित भएर काम गर्नुपर्छ। एक देशमा परेको दुःख र महामारीको पीडा अर्कोलाई पनि उस्तै हुन्छ। हामीले आफ्ना गन्तव्य देशमा परेको महामारीको विषयमा समवेदना र संयमितताबारे सानासाना भिडियो क्लिप बनाएर सहानुभूति दर्शाउन सक्छौँ। एक मुलुकको दुःख अर्को मुलुकलाई पनि बोध भएको छ भन्ने मानवीय समवेदना प्रकट गर्दा नै सम्बन्धहरु निरन्तर हुन्छन्।

– नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीसँग हिमालखबरका राजु बास्कोटाले गरेको कुराकानीमा आधारित

प्रतिकृया दिनुहोस