समाचार बुधबार, वैशाख ३, २०७७

९० प्रतिशत काम सकिएको गौतम बुद्ध विमानस्थलको निर्माण समय धकेलियो

मुकेश पोखरेल

९० प्रतिशत काम सकिएको गौतम बुद्ध विमानस्थलको निर्माण समय धकेलियो

भैरहवामा निर्माणाधीन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम हार्डवेयर तथा नदीजन्य सामग्रीको अभावमा प्रभावित भएको छ।

बन्दाबन्दीका कारण बजार तथा उद्योग बन्द भएर निर्माण सामग्री अभाव भएपछि निर्माण प्रभावित भएको हो। विमानस्थल निर्माणको ९० प्रतिशत काम सकिएर टर्मिनल भवनमा फिनिसिङ लगायत केही पूर्वाधार निर्माण मात्र बाँकी छ।

विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार सिमेन्ट, फलामे डण्डी तथा नदीजन्य पदार्थको अभाव भएपछि विमानस्थलको काम प्रभावित भएको हो। अहिले २८ जना चिनियाँ कामदारसहित ८० जना मजदूरले टर्मिनल भवनमा टायल, मार्बल तथा एसी जडानको काम गरिरहेका छन्। कोरोना भाइरसको जोखिमलाई विचार गर्दै उनीहरू बाह्य सम्पर्कमा नरही आयोजना स्थलभित्रै क्याम्पमा बसेर काममा जाने गरेका छन्। बन्दाबन्दी अघि यहाँ दैनिक २ सय श्रमिकले काम गर्थे।

राष्ट्रिय गौरवको आयोजनाको काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने सरकारको निर्णय अनुसार बन्दाबन्दीको वेला पनि विमानस्थल निर्माणको काम अगाडि बढाइएको हो।

सबै सामानको सहज आपूर्ति भएर दैनिक काम गर्दा तीन महीनाभित्र विमानस्थल निर्माणको सम्पूर्ण काम सकिने आयोजनाका प्रमुख अधिकारी बताउँछन्। वैशाखभित्रमा नदीजन्य वस्तुहरुको जोहो गर्न नसकिए विमानस्थल निर्माणको काम थप ६ महीना पर धकेलिने सम्भावना छ। किनभने जेठपछि खोलानालामा नदीजन्य वस्तु निकाल्न नपाइने र वर्षा लाग्ने भएकाले नदीजन्य पदार्थको लागि मंसीर कुर्नुपर्छ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले सन् २०१४ डिसेम्बरमा विमानस्थलको भौतिक निर्माणको जिम्मा लिएको थियो। यसअघि निर्धारित २०१९ डिसेम्बरसम्म निर्माण कार्य सम्पन्न नभएपछि चौथो पटक म्याद थपेर ३१ मार्च २०२० सम्म पुर्‍याइएको थियो। तर, कोरोना प्रभावका कारण फेरि पनि निर्माण समय धकेलिएको छ। 

त्यस्तै, विमानस्थलको धावनमार्गमा जडान गर्नुपर्ने लाइट तथा ‘कन्भेयर बेल्ट’ कोरोना महामारी र बन्दाबन्दीका कारण चीनबाट आउन नसक्नु पनि काम प्रभावित हुनुको अर्को कारण हो। आयोजना प्रमुख अधिकारी चीनमा अड्किएको सामान ल्याउन प्रमुख चुनौती रहेको बताउँछन्। चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश फर्किएका २० जना प्राविधिक कामदार पनि चीनमै रोकिएका छन्।

विभिन्न समयमा समस्या झेल्दै आएको गौतम बुद्ध विमानस्थलको निर्माण कार्यमा ढिलाइ हुँदै जाँदा आयोजनाको लागत पनि बढ्दै गएको छ। विमानस्थल निर्माणको कुल लागत रु.६ अर्ब ८२ करोड छ। यो रकम जग्गा अधिग्रहण बाहेकको हो। आयोजनामा एशियाली विकास ब्याङ्क (एडीबी) को ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ।

विमानस्थलमा सौर्य ऊर्जा मार्फत १० मेगावाट विद्युत उत्पादन गर्नेगरी काम अगाडि बढाइएको छ। यस कार्यका लागि करीब रु.१ अर्ब लाग्ने अनुमान छ। आयोजना प्रमुख अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो।

प्रतिकृया दिनुहोस