कैलालीकी सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टिनमा राखियो
कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टिनमा राखिएको छ।
सङ्क्रमित महिलाका परिवार र आफन्तजन २१ जना तथा उनीसँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी ५२ जनालाई क्वारेन्टिनमा राखिएको हो।
कैलालीकै लम्की बहुमुखी क्याम्पसको क्यारेन्टिनमा बसेको वेला र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि ती ६५ वर्षीया महिला २९ चैतमा घर गएकी थिइन्। तर क्वारेन्टिनबाट घर पुगेको तेस्रो दिनमै रियल टाइम पीसीआर मेशिनको परीक्षण रिपोर्टबाट उनी संक्रमित भएको पुष्टि भएको थियो।
महिलासँग भेटघाट र सम्पर्कमा रहेका ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको र तीमध्ये २१ जना महिलाकै आफन्त रहेको उनले बताए। सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
कैलालीमा सङ्क्रमित महिला भेटिएसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ। ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।