कोभिड-१९ मंगलबार, वैशाख २, २०७७

पैदलै घर हिँडेकालाई भर दिँदै स्थानीय सरकार

मुकेश पोखरेल

पैदलै घर हिँडेकालाई भर दिँदै स्थानीय सरकार

देशका विभिन्न ठाउँमा अलपत्र परेका बुटवल पश्चिमका मजदुर अहिले पैदलै धमाधम घर गइरहेका छन्। यसरी आइपुगेका १६१ मजदुरलाई सोमबार बुटवल उपमहानगरपालिकाले खाना खुवाएर दुई वटा बस र एउटा ट्रक रिजर्भ गरेर गन्तव्यतर्फ पठाएको छ।

यसरी गएको एउटा ट्रकलाई पनि कपिलवस्तु प्रहरीले फर्काएपछि प्रदेश सरकारसँग समन्वय गरेर पुनः गन्तव्यतर्फ पठाएको मेयर शिव सुवेदी बताउँछन्। बुटवल आइपुगेका मजदुर काठमाडौँ, सोलुखुम्बु, पोखरा लगायत ठाउँबाट आइपुगेका थिए। उनीहरु डोटी, सुर्खेत, दाङ लगायत जिल्लाका हुन्।

सोमबार साँझसम्ममा थप ८० जना बुटवल आइपुगेका छन्। ती सबैलाई बुटवल उपमहानगरपालिकाले खाना खुवाइरहेको छ। मेयर सुवेदी भन्छन्, “बुटवल आइपुगेका सबैलाई हामी खानाको व्यवस्था गर्छौँ, तर घर पठाउन समन्वय गर्न प्रदेश सरकारलाई आग्रह गरेका छौँ। आजै बैठक डाकिएको छ।”

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि ११ चैतदेखि गरेको बन्दाबन्दी तेस्रो हप्तासम्म जारी छ। बन्दाबन्दीले सबैभन्दा बढी समस्या मजदुरहरुलाई परेको छ। काठमाडौं लगायत सहरी क्षेत्र र विभिन्न निर्माण आयोजनामा काम बन्द भएपछि मजदुरहरु सयौँ किलोमिटर पैदल घर जान थालेका छन्।

पैदलै आइपुगेकालाई बुटवलमा खाना खुवाइँदै।

त्यसरी हिँडेका मजदुर बीच बाटोमै अलपत्र पर्न थालेपछि स्थानीय सरकारहरुले सहयोग थालेका हुन्। सिन्धुलीको सुनकोशी गाउँपालिकाले पैदल हिंडेकालाई १३ चैतदेखि नै नेपालथोकदेखि सिन्धुलीसम्म बसबाट ओसारी रहेको छ।

गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल भन्छिन्, “भोकभोकै आउनेलाई खाजा र खाना खुवाएका छौं, सिन्धुलीसम्म सवारी साधनको व्यवस्था गरेका छौँ, बालबालिका भएका महिला र अशक्तलाई गन्तव्यसम्मै पु¥याउछौँ।” उनका अनुसार गाउँपालिकाले अहिलेसम्म करीब तीन हजार मानिसलाई सिन्धुलीमाढीसम्म पु¥याइएको छ।

सुनकोशी गाउँपालिकाले सिन्धुलीमा छाडेका यात्रुलाई कमलामाई नगरपालिकाले आफ्नो सीमा कटाएर प्रदेश नम्वर २ को महोत्तरीसम्म पु¥याउँछ। उप मेयर मञ्जु देवकोटाका अनुसार हिंडेर आएका मजदूरलाई नगरपालिकाले बर्दिबाससम्म पु¥याइदिने गरेको छ। पश्चिम जाने मजदूरलाई भने हेटौंडासम्म पु¥याइदिने गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिकाले पनि कैलाली जान हिंडेका ७४ मजदूरलाई दुई दिनसम्म राखेर आइतबार बस नै रिर्जव गरेर धनगढी पठएको छ। उनीहरु बुटवल, नवलपरासी लगायतका स्थानमा घर निर्माण गर्ने मजदूर हुन्।

मेयर चित्रबहादुर केसीका अनुसार प्रहरी प्रशासनसंग समन्वय गरेर करिव ५०० मजदूरलाई मालसामान ढुवानी गर्ने सवारी साधनमा कैलाली, बाँके र दाङ्गसम्म पठाइसकिएको छ। “अलपत्र परेका मजदूरलाई खाना र खाजाको व्यवस्था यहाँका नीजि होटल व्यवसायी र प्रतिष्ठानले गरेका छन्, ठूलो समूहलाई नगरपालिका आफैले व्यवस्था गर्छ”, मेयर केसी भन्छन्।

दार्चुलाको महाकाली नगरपालिकाले बन्दाबन्दी सुरु भएको दोस्रो दिन भारतका विभिन्न ठाउँबाट आएका ४०५ जनालाई सवारी साधन रिर्जव गरेर गाउँसम्म पुग्ने व्यवस्था गरेको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशले पनि भारतबाट आएर अलपत्र परेकालाई बस रिर्जभ गरेर सम्बन्धित जिल्ला सदरमुकामसम्म पु¥याए।

तर, अलपत्र मजदुर सबैलाई गन्तव्यमा पु¥याउन नसकिएको स्थानीय तहका प्रतिनिधिले बताएका छन्। धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भन्छन्, “कसैले बस्न मानेनन्, यातायातको व्यवस्था गरेर पुरउने काम गरेका छैनौं। यहाँबाट यात्रीहरु पैदलै गन्तव्यतिर गइरहेका छन्।”

उता काभ्रेको धुलिखेलका युवा क्लबले पैदल यात्रीलाई जुत्ता, चप्पल, पानी र खाजा दिएर सहयोग गरिरहेका छन्। बालबालिका सहितका महिलालाई धुलिखेल नगरपालिकाले आफ्नो गाडी मार्फत गन्तव्यमा पु¥याउन सहयोग गरेको मेयर असोक व्याञ्जु श्रेष्ठ बताउँछन्। “सबै यात्रुलाई पु¥याउन सरकारले बन्द गरेको छ, प्रशासनबाट गाडीको पास नै पाउन गारो भयो,” उनी भन्छन् ।

परीक्षामा स्थानीय तह

कोभिड–१९ को संक्रमण रोकथामका लागि बन्दाबन्दी गरिएपछि अधिकांश स्थानीय सरकारहरु सक्रिए भएका छन्। स्थानीय स्तरमा क्वारेन्टिनको स्थापना, बाहिरबाट आएका मनिसहरुको अभिलेख राख्ने, राहतका लागि लक्षित वर्गको पहिचान र लगत संकलन लगायत काम गरिरहेका छन्।

स्थानीय विकास मन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव पूर्णचन्द्र भट्टराई अहिले स्थानीय सरकार नभएको भए परिस्थिती जटिल बन्ने आंकलन गर्छन्। उनी भन्छन्, “जनप्रतिनिधिको सम्वबध जनतासंग जोडिएको हुन्छ, आफ्नो ठाउँका जनतासँग उनीहरु जवाफदेही हुनुपर्छ, त्यसकारण सक्रियता बढेको छ।”

त्यहाँ राज्यका अन्य निकायले आफ्नो भूमिका प्रभावकारी निभाउन नसक्ने उनी बताउँछन्। जनतालाई संकटमा सघाएर संघीयताको महत्व स्थानीय सरकारले प्रष्ट बनाएको उनी बताउँछन्।

त्यसबाहेक बन्दाबन्दीलाई प्रभावकारी बनाउन पनि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरुले एक वडादेखि अर्को वडा तथा टोल छिमेकमा हिंडडुल गर्न दिएका छैनन्।

काभ्रेको पाँचखाल नगरपालिकाले बन्दाबन्दी सुरुभएपछि दूध र तरकारीका गाडी बाहेक मानिसलाई एक वडाबाट अर्को वडामा जान दिएको छैन। नगर प्रमुख महेश खरेलका अनुसार स्थानीयले बन्दाबन्दीको पालना नगरेपछि कडाइ गरिएको छ।

पाँचखालले जस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि स्वयमसेवक परिचालन गरेर घरबाट बाहिर निस्कन रोक लगाएको छ। टोल र गल्लीहरुमा बार लगाइएको छ। नगरपालिकाले भारत र तेस्रो मुलुकबाट आएकाहरुको घरमा स्टीकर लगाएर होम क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ। नगर प्रमुख बासुदेव घिमिरे बाहिरबाट आएका व्यक्तिहरुको निगरानी र छिमेकीहरुलाई जानकारी गराउनका लागि स्टीकर टाँसिएको बताउँछन्।

बिरामी र कोभिड–१९ का शंस्कास्पद बिरामीलाई पनि स्थानीय निकायले उपचारका लागि स्वास्थ्य संस्था लगिरहेका छन्। कपिलवस्तुबाट अर्घाखाँचीको पाणिनि–७ मा गएकी एक महिलालामा ज्वोरो देखिएपछि उनलाई प्रादेशिक अस्पताल बुटवल लगिएको छ। उक्त घरका दुई जनालाई गाउँपालिकाले क्वारेन्टिनमा राखेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका, बाजुराको बुढिनन्दा नगरपालिका लगायत स्थानीय सरकारले पनि शंकास्पद बिरामीलाई परीक्षणका लागि अस्पताल लगेका छन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच गराएको थियो।

 

प्रतिकृया दिनुहोस