ब्लग शुक्रबार, चैत २८, २०७६

हेर्दाहेर्दै प्रधानमन्त्री कार्यालयकाे पेजबाट यसरी ‘डिलिट’ भयाे महत्वपूर्ण सूचना (हेर्नुहाेस् भिडियाे)

दीपक खरेल

हेर्दाहेर्दै  प्रधानमन्त्री कार्यालयकाे पेजबाट यसरी ‘डिलिट’  भयाे  महत्वपूर्ण सूचना (हेर्नुहाेस् भिडियाे)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबूक पेजमा एउटा सूचना थियाे।

२७ चैत बिहीबार, साँझको ५ बजे राखिएको सूचनामा भनियो “बन्दाबन्दीका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नुभएका वासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।

यसैमा  स्थानीय तथा प्रदेश स्तरका सरकारहरूले मान्यता नदिएको हुनाले भोलि र पर्सि काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ,” फेसबूक पेजमा 'अपडेट' भनेर थपियो।

यही सूचनाका आधारमा समाचार बने । यही सूचनाको पुष्टि गर्दै नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका सदस्य तथा सरकारका मन्त्री लेखराज भट्टले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिए । उनले मार्ग खोल्ने निर्णय भएको स्वीकारे।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जब एकाएक यति महत्वपूर्ण सूचना आफ्नो फेसबूक पेजबाट हटायो, त्यसपछि सबैका बोली फेरिए।

सरकार र प्रशासक दुवैले बोली फेर्दै दोष संचारकर्मी र संचारमाध्यमलाई थोपरे । पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने बैठक नै नबसेको बताए।

यही आशयको विज्ञप्ति गृह मन्त्रालयले निकाल्यो । तर यस्तो विज्ञप्ति निकाल्नु अघि सरकारकाे एउटा स्थानीय निकायले सूचना नै निकालेर सम्पर्क ब्यक्ति तोक्ने क्रम शुरु भइसकेको थियो।

काठमाडाैं नजिकैकाे नागार्जुन नगरपालिकाले सूचना निकालेकाे थियो । यस्तै मानिसहरु आफ्ना झोला बोकेर काठमाडौं बाहिरिने साधन खोज्दै सडकमा निस्किसकेका थिए।

तर, सरकारबाट अर्को निर्णय भइसकेको उनीहरुलाई पत्तो थिएन।

हामीले पनि यही सूचनाका आधारमा समाचार बनाएका थियौं।

मेरो फेसबूकको च्याट बक्स खुला थियो । एकैछिनमा सहकर्मीबाट सूचना आयो कि, त्यो जानकारी त मेटिइसक्यो।

मैले पेज रिफ्रेस गरिनँ । भिडियो बनाएँ।

एकैछिनमा अर्को सूचना आयो, अचम्मको । फेसबूक पेज नै 'डिएक्टिभेट' गरियो भन्ने । त्यो पनि भिडियो खिचे‌ं।

सूचना गलत वा भुलबस सम्प्रेषण हुन सक्छ । यो मानवीय त्रुटि हो । तर, त्रुटिलाई क्षमा माग्दै सच्याउन सकिन्छ । त्यसमाथि पनि सरकारका हरेक सूचना नागरिकका लागि मात्र नभई भविष्यका लागि महत्वपूर्ण अभिलेखका रुपमा हेरिन्छ।

सरकार आफैं केही लेख्छ र मेट्छ अनि त्यसलाई सच्याउने वहानामा गल्ती माथि गल्ती गर्दै पेज नै निष्क्रिय बनाउँछ । यो सोच्नै नसकिने कुरा थियो।

योसँगै,

कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैत देखि बन्दाबन्दी घोषणा गरेको छ । सरकारले कतार एयरवेजबाट काठमाडौं आएकी युवतीमा संक्रमण भेटिएपछि बन्दाबन्दीको निर्णय गर्‍यो ।

त्यसपछि कैलालीका एक जो हवाई मार्गमा काठमाडौं भएर नेपालगञ्ज हुँदै धनगढी पुगे । कतार एयरमै आएका दुईजना जो काठमाडौंबाट पोखरा हुँदै बाग्लुङ पुगे । यी सबै घटनामा काठमाडौंमा उनीहरुको हेलमेल भएका सबै ब्यक्ति यकिन भइसकेका छैनन्।

यही बन्दाबन्दीमा जो जहाँ भेटिन्छ त्यसको त्यहीं उपचार पद्धतिको निर्णय गरेको सरकारले एकाएक मार्ग खोल्ने निर्णय किन गर्‍यो, यो विषय सोचनीय छ।

सरकार संक्रमण फैलाउन चाहन्छ कि काठमाडाैंमै बसेर अलपत्र परेका नागरिकहरूलाई सुविधा दिएर संक्रमणकाे सम्भावना राेक्दै काेभिड–१९  विरूद्धकाे युद्व जित्न चाहन्छ? 

बिहीबारकाे घटनाले संकटमा सरकारको सूचना प्रवाह रणनीतिमा गम्भीर अपरिपक्वता देखियो, जसले नागरिकमा भ्रम उत्पन्न गरायो। सरकारी संयन्त्रप्रतिको विश्वासमा पुनःआशंका सिर्जना गर्ने स्थिति सिर्जना गर्‍याे।

प्रतिकृया दिनुहोस