कोरोना विरुद्ध गोकर्णेश्वर नगरपालिकाको पूर्वतयारी: भेन्टिलेटरसहितको अस्पताल भाडामा
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण र जोखिम न्यूनीकरणको पूर्वतयारी स्वरूप विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ।
नगरपालिकाका मेयर सन्तोष चालिसेका अनुसार, बन्दाबन्दी (लकडाउन) शुरु भएदेखि नगरपालिकाका ९ वटै वडामा विदेशबाट आएका सवै नागरिकहरुको पहिचान गर्ने र उनीहरुलाई घरमै क्वारेन्टिनमा राख्ने काम भइरहेको छ। बाहिरबाट मान्छे आउने क्रम रोकिएपछि नगरपालिकाले थप क्वारेन्टिनको व्यवस्था भने नगरेको मेयर चालिसेले बताए।
नगरपालिकाले कोरोना संक्रमणका कारण महामारीको अवस्था आइहाले रोकथाम र नियन्त्रणका लागि १३ जना विशेषज्ञ चिकित्सकसहितको विज्ञ समूह गठन गरेको छ। जसले २४ सै घण्टा नगरक्षेत्रभित्र कुनै सम्भावित संक्रमणको अवस्था देखिए निगरानी र आवश्यक परामर्शका साथै उपचार सेवा प्रदान गर्नेछ।
यो सँगै कोरोना संक्रमण रोकथामका लागि नगरपालिकाले गर्नुपर्ने आवश्यक तयारी तथा काम कारबाहीका सन्दर्भमा विशेष छलफल समेत आयोजना गरेको छ। छलफलमा विशेषज्ञ चिकित्सकसहित, नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी सहित ९ वटै वडाका वडा अध्यक्ष तथा नगरक्षेत्रका स्वास्थ्य संस्थाका प्रतिनिधिको सहभागिता थियो।
गोकर्णेश्वर नगरपालिकाले नगरक्षेत्रमा रहेका नेपाल मेडिकल कलेज सहित अन्य तीन वटा अस्पतालमा आइसोलेसन वार्ड र उपचार सेवाको व्यवस्था मिलाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार, नगरवासीलाई कोरोना संक्रमण भइहाले उपचारका लागि भेन्टिलेरसहित सञ्चालनमा आउन लागेको एउटा अस्पताललाई तीन महीनाको लागि भाडामा लिइएको छ।
प्रशासकीय अधिकृत अधिकारीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताउँदै भने, "भोलि जटिल अवस्था सिर्जना भयो भने नगरवासीलाई उपचार सेवा दिन सजिलो होस् भनेर यो अस्पताल भाडामा लिएका हौं। नगरपालिकाले बिरामीलाई अस्पताल लैजान एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ।"
बन्दाबन्दीका कारण नगरक्षेत्रभित्र बसोबास गर्ने विपन्न समुदायलाई खाद्यान्न अभाव नहोस् भनेर गोकर्णेश्वर नगरपालिकाले ९ वटै वडामा त्यस्ता समुदायको पहिचान गरी खाद्यान्न सामग्री समेत वितरण गर्न थालेको मेयर चालिसेले बताए।