कोभिड-१९ विहीबार, चैत २७, २०७६

महामारीको वेला बजारमा गुणस्तरहीन स्वास्थ्य सामग्रीको बिगबिगी, कसरी हुने ढुक्क ?

रासस

महामारीको वेला बजारमा गुणस्तरहीन स्वास्थ्य सामग्रीको बिगबिगी, कसरी हुने ढुक्क ?

- नारायण ढुङ्गाना

कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ। त्यस्ता सामग्री मापदण्ड पुर्‍याइएका र गुणस्तरयुक्त छन् कि छैनन् ? प्रयोगका लागि कति योग्य छन् ? गुणस्तरयुक्त छ भन्ने विश्वासिलो आधार के छ ? अहिले नागरिकको मुख्य चासोको विषय बनेको छ।

त्यस्ता सामग्री बजारमा छ्याप्छ्याप्ती गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक अनुगमनमा गर्न सकेको छैन। सबैभन्दा बढी ह्याण्ड स्यानिटाइजरको जथाभावी रुपमा बिक्री वितरण हुने क्रम बढेको छ। नेपालमा खास मापदण्ड नबनेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर स्वास्थ्य सामग्री तयार गर्न मन्त्रालयले निर्देशिका जारी गरेको छ। तर, यस्ता स्वास्थ्य सामग्रीलाई व्यापारको साधन बनाएर महँगो मूल्य लिने र गुणस्तरहीन सामग्री वितरण गर्ने क्रम बढेको छ।

औषधि व्यवस्था विभागले बजारमा पुगेका कतिपय स्यानिटाइजर गुणस्तरहीन भएको पुष्टि परिसकेको छ। भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आयुर्वेद फर्माले मिथानोल नामक विषाक्त रसायन हालेर स्यानिटाइजर बजारमा पुर्‍यायो। फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल औषधि लिमिटेडको गोदाममा स्यानिटाइजर थन्किरहेका बेला यसरी गुणस्तरहीन सामग्री बजारमा व्यापक बिक्री भइरहेको छ।

कोभिड–१९ को जोखिमका समयमा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै निर्धारित गरेको मापदण्ड विपरीतको नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएको हो। विभागका अनुसार उक्त फर्माबाट १ सय ४९ थान स्यानिटाइजर बरामद गरिएको छ। कति बजारमा पुगे भनेर लेखाजोखा छैन। विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, “मिथानोल भनेको एक प्रकारको विष हो, यो हाल्नै पाइँदैन, इथानोल प्रयोग गर्ने हो, तोकिएको मापदण्डमा ७० देखि ८० प्रतिशत अल्कोहल हाल्ने हो, तर त्यो गुणस्तरहीन पाइयो।"

त्यस्ता झोल स्यानिटाइजरको मूल्य प्रति १०० एमएल रु.१२५ र जेलको रु.१४५ तोकिएको छ। त्योभन्दा बढी मूल्यमा बजारमा स्यानिटाइजर बिक्री भइरहेको छ। कतिपयले जर्किनमै स्यानिटाइजर भनेर दिने चलन देखिएको छ।

विभागले एक सूचना जारी गरी मापदण्ड विपरीतमा स्यानिटाइजर बिक्री भइरहेको भन्दै ध्यानाकर्षण समेत गराएको छ। विभागले बजारमा न्यून गुणस्तरका स्यानिटाइजर बिक्री भइरहेको भन्दै प्रयोगकर्ताहरुलाई त्यसको तह यकिन गरेर मात्रै प्रयोग गर्न अनुरोध गरेको छ।

त्यस्ता गुणस्तरहीन स्वास्थ्य सामग्रीले मानिसको स्वास्थ्यमा अर्को समस्या निम्तने खतरा बढेको छ। मिथानोल छालामा पर्दा असर गर्छ। दृष्टि गुम्न सक्छ भने ज्यान जोखिममा पार्न सक्ने रसायन हो। विभागले केही कस्मेटिक उद्योगले मापदण्ड विपरीत यस्ता सामान बिक्री गरिरहेको सूचना आएकाले गम्भीर रुपमा लिएर अनुसन्धान थालेको जनाएको छ।

स्यानिटाइजर मात्रै होइन, पीपीई लगायतका स्वास्थ्य सामग्रीको समेत यत्रतत्र बिक्री वितरण सहयोग उपलब्ध भइरहेको छ। यस्ता सामग्री सहयोग गर्ने संस्था पनि बढ्दो छ। यस्ता सामग्री गुणस्तरयुक्त हुन् भन्नेमा आशंका उब्जिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ यस्ता सामग्री बजारमा जथाभावी रुपमा पुगेको स्वीकार गर्छन्।  “जसले पनि ल्याएका छन्, बाँडेका छन्, जसले पायो उसैले लगाएका छन्, हुँदाहुँदा जनप्रतिनिधिहरुले समेत पीपीई लगाएको पाइयो, यसरी दुरुपयोग गर्नुभएन नि”, उनले भने।

बिरामीसँग प्रत्यक्ष जोडिएर काम गर्नेहरुका लागि मात्रै पीपीई चाहिन्छ भन्ने कुरा बुझ्नुपर्ने उनी बताउँछन्। बजारमा गइरहेको सामग्रीको विषयमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुगमन गर्न नसकेको महानिर्देशक श्रेष्ठले स्वीकार गरे। एकातर्फ गुणहीन सामानको बजारमा देखिएका बेला समस्यालाई नाफा कमाउने अवसर ठानी मूल्यमा कालोबजारी हुने गरेको छ। शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र थर्मल गनमा कालोबजारी गरेको आरोपमा केही दिन अघि पक्राउ पर्नुले पनि उक्त तथ्य प्रष्ट पार्छ। रु.३ हजार ५ सय पर्ने थर्मल गनलाई कोभिड–१९ को विश्वव्यापी महामारीको समयमा रु.१५ हजारसम्ममा बेचेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए। म्याद थप गरेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस