जाजरकोटबाट कीर्तिपुर आएकी गर्भवती बसेको घरमा वडाध्यक्षले बाहिरबाटै लाइदिए ताला
जिल्ला अस्पताल जाजरकोटले रिफर गरेकी एक गर्भवती बसेको काठमाडौंको कीर्तिपुरस्थित घरको गेटमा वडाध्यक्षले नै बाहिरबाट ताला लगाइ दिएका छन्। कीर्तिपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष अमन महर्जनले ताला लगाइदिएको नाम नबताउने सर्तमा गर्भवतीकी बहिनीले जानकारी दिइन्। हिमालखबरसँग टेलिफोनमा रुँदै भनिन्, "रोग नै लिएर आए जस्तो व्यवहार भयो, इमर्जेन्सी परेर आएको हो।" गर्भवतीका श्रीमानले पनि ९ महिना लागेको गर्भवती डाक्टरको रिफरपछि आउँदा यस्तो व्यवहारले तनावमा परेको बताए। हिमालखबरका लागि लक्ष्मी बस्नेत सँग गरेको कुराकानी:
गर्भवतीका श्रीमान्
हामी जाजरकोटबाट हिजो साँझ कीर्तिपुर आइपुगेका हौँ। श्रीमती गर्भवती छिन्, २४ वैशाखमा डाक्टरले डेट दिएका छन्। पहिलो बच्चा पनि अप्रेसन गरेर जन्मिएको हो। त्यसैले अहिले पनि बीचबीचमा गाह्रो भइरहेको थियो। दुई दिन अघि (मंगलबार) थोरै ब्लिडिङ भयो, हामी डराएर जिल्ला अस्पताल जाजरकोट गयौं। त्यहाँ डाक्टरले जाँच गर्नुभयो। 'पछि झन् समस्या आउन सक्छ, यहाँ अहिले रगत पनि पाईंदैन बरु चाँडै सुविधा सम्पन्न अस्पतालमै बच्चा जन्माउन जाने गरी व्यवस्था गर्नु', भन्नुभयो ।
डाक्टरले रिफर गरेको कागज पनि छ। बन्द भएको बेला एम्बुलेन्स पनि नमान्ने रहेछन्, बल्ल बल्ल ४० हजार रुपैयाँमा एम्बुलेन्स रिजर्भ गरेर हिंड्यौं। हामी मंगलबार साँझतिरै हिंड्यौं, कोहलपुरमा पनि बुझ्यौं तर, त्यहाँभन्दा काठमाडौं राम्रो हुन्छ भने। त्यसपछि त्यही एम्बुलेन्समै काठमाडौं आयौं।
हामी दुवैजना पहिला काठमाडौं बसेर पढ्थ्यौं र यहीं जागिर खान्थ्यौं। पछि दुवैको जागिर उता भएपछि जिल्ला गएको हो। पहिलेको कोठा कीर्तिपुरमा अझै छोडेको छैन, एउटै फ्लाटमा बहिनी (साली) पनि बस्ने हो। त्यसैले हामी आफ्नै कोठामा आएका हौं।
हिजो (बुधबार) साँझ आइपुगेपछि खाजा खाएर सुत्यौँ। एम्बुलेन्स आएको भनेपछि छिमेकीहरु जम्मा भएछन् र बहिनीसँग सोधपुछ गरेछन्। यो कीर्तिपुर नगरपालिका वडा नं १० मा पर्छ । स्थानीयले नै वडाध्यक्षलाई बोलाएछन्। वडाध्यक्षले ‘पश्चिमबाट आएको हो, बाहिर निस्किन नदिनू, कोठामा जे छ, त्यही खानू’ भनेर गएछन्, हामी उठेपछि उनले भनिन्। अरुले पो बाहिरको मुख्य गेटमा ताल्चा लगाएर गएको देखेछन् र भने।
हाम्रो कोठा पाँचौं तल्लामा छ। बाहिरको गेटमा ताल्चा लगाएको देखिँदैन तर, यस्तो बेलामा जनप्रतिनिधिबाटै भएको व्यवहारले हामी मानसिक तनावमा छौं। श्रीमती झन् तनावमा छिन्।
कोठामा सामान्य मान्छेको त के हुन्छ र खानेकुरा दाल, चामल त हो। तर, नौ महिना पुग्न लागेको गर्भवती छिन्। समस्या परेर आएका छौं। कुन बेला निस्किनुपर्ने हो थाहा छैन। यस्तो अमानवीय व्यवहार गरे कि, त्यो पनि स्थानीय सरकारको प्रतिनिधिले। म त सोच्न पनि सकेको छैन।
४ वर्षको अर्को बच्चा पनि छ, उनलाई खुवाउने कुरा किन्न बिहान बाहिर निस्किनुपर्ने, त्यो पनि भएन। सबै कुरा बहिनीसँग गरेछन्, हामीसँग पनि त बुझ्नु पथ्र्यो। तर, केही बुझेका छैनन् । दिउँसोतिर स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी आउँछन् भनेका छन् रे।
गर्भवतीकी बहिनी
दिदीको २४ गते डेलिभरी डेट दिएको थियो। पहिला पनि अप्रेसन गरेर बच्चा जन्मिएकाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ भनेर डाक्टरले रेफर गरेछन्। आमा र बच्चाको ज्यान नै जोखिममा हुन्छ भनेपछि एम्बुलेन्स लिएर आउनु भएको हो।
अस्ति ब्लिडिङ भएपछि सीधै अस्पताल जानुभएको हो । अस्पतालले नै सुविधा सम्पन्न ठाउँमा जानु भनेपछि आफ्नो कोठा पनि छ र म पनि यहीं छु भनेर आउनुभएको हो।
विदेशबाट आउनु भएको होइन, दुवैजना जाजरकोटमै जागिर खानुहुन्छ। लकडाउन भएपछि घरमै बसिराख्नु भएको छ। यस्तो मान्छे झन् कहाँ बाहिर निस्किनु र?
पहिलो बच्चा यहीं बस्दा जन्मिएको हो। यहीँ कीर्तिपुर अस्पतालमै जन्माएको। धेरै भयो, उहाँहरु र हामी कीर्तिपुर बसेको। त्यही भएर अहिले समस्याले आउनु भएको हो। एम्बुलेन्स रिजर्भ गरेर रातारात गरेर आउँदा बल्ल हिजो साँझ आइपुग्नु भयो ।
तर यहाँ त सबैले कोरोनाभाइरस नै लिएर विदेशबाट आएको जस्तो सोच्नुभयो । अहिले दिदी झन् तनावमा हुनुहुन्छ। वडाध्यक्षले नम्बर त दिनुभएको छ तर, इमर्जेन्सी पर्दा उहाँको फोन उठेन भने गेट कसले खोल्दिने? घरको अरु फ्लाटमा पनि मान्छे छन्, कसैले पनि बाहिर निस्किन नपाउने अवस्था बनाइदिनुभयो । दिदी त तनावले बोल्नु पनि भएको छैन।
कीर्तिपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अमन महर्जनले आफूले गेटमा बाहिरबाटै ताला लगाइदिएको स्वीकार गरेका छन्। अहिले सचेत हुनुपर्ने बेला भएको र सरकारले पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा नजानु भनेकाले ताला लगाएको बताए।
ताल्चा लगाएको बारे प्रश्न गर्दा उनले भने, “उहाँहरु आइहाल्नु भयो, स्थानीय डराए, त्यसैले घरमै बस्नुस् भनेको हो। इमर्जेन्सी प¥यो भने फोन गर्न भनेर नम्बर पनि दिएको छु। यहीं बस्दै आएकी बहिनीसँग कुरा पनि भएको छ।”