पोखरामा अल्ट्रालाईट दुर्घटना, पाईलटको मृत्यु
पोखरा नजिक चापाकोटमा आज बिहान अल्ट्रालाइट जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
एभिया क्लबको ‘नाइन एन ए एलएल’ कल साइनको अल्ट्रालाइट विमान आज, ८ मंसीर बिहान उडानका क्रममा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
डिएसपी गजुसिद्धि वज्राचार्यका अनुसार पाइलट अलेक्जेन्डर म्याक्सीमोभको दुर्घटनास्थलमै मृत्युभएको छ भने विमानमा रहेका एकमात्र यात्रु क्यानडेली नागरिक २७ वर्षीया जिलन मेरी भोल्करको घाइते अवस्थामा गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेकोे छ ।
पाइलटले ह्यान्डग्लाइडरको डोरी तानेर उडान गर्ने क्रममा भुइँ छाड्ने बित्तिकै दुर्घटना भएको थियोे ।
पाइलट र एक यात्रु मात्रै चढ्न मिल्ने यो अल्ट्रालाइट पोखरामा दृश्यावलोकनका लागि प्रयोग हुँदै आएको छ ।
तीन वर्ष अघि असोज २०७० मा पोखरा विमानस्थलबाट उडेको विमान पुम्दीभुम्दीमा दुर्घटना हुँदा पोखराका स्टेफन श्रेष्ठ र एक चिनियाँ पर्यटकको ज्यान गएको थियो ।
पोखरा उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न पर्यटकहरुले अल्ट्रालाइट विमान निकै रुचाइन्छ ।
युवराज श्रेष्ठ