दोलखामा जथाभावी राहत वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय दोलखाले व्यक्ति, संघसंस्था, फर्म, कम्पनी लगायतलाई कोरोनाभाइरस (कोभिड १९) को नाममा जथाभावी राहत संकलन र वितरणमा रोक लगाएको छ ।
जिल्लामा केही व्यक्ति, संघसंस्था, फर्म लगायतले कोरोना भाइरसको नाममा जथाभावी राहत संकलन तथा वितरण गरेको जानकारी प्राप्त भएपछि बुधबारदेखि त्यस्तो कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताए ।
कसैले आफ्नो तर्फबाट राहत वितरण गर्न चाहे स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको सिफारिस तथा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा एकद्वार प्रणालीको आधारमा मात्र वितरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
यदि कसैले कारोनाभाइरसको नाममा मनलागी राहत संकलन तथा वितरण गरेको पाइए संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
दोलखाको तामाकोशी गाउँपालिकाले पनि कोरोनाभाइरसको नाममा गाउँपालिकाभित्र मनलागी राहत वितरण गर्न रोक लगाएको छ ।
गाउँपालिकाभित्र कुनै संघसंस्था, निकाय वा व्यक्तिले राहत वितरण गर्न चाहे गाउँपालिकाको स्वीकृति लिएर मात्र वितरण गर्न सक्ने गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए ।
सर्मिला बुढाथोकी