जंगली साग खाँदा थाहानगरका एकै परिवारका ५ जना बिरामी
जंगली साग पकाएर खाँदा मकवानपुर थाहा नगरपालिकाका एकै परिवारका ५ जना बिरामी परेका छन् । बिरामी परेका सबै जनाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डाक्टर सुबोध चापागाईले बताए ।
थाहा नगरपालिका वडा नम्बर २ फाँटका मैयाँ बस्नेत (७३), निर्मला बस्नेत (४६), गोकुल बस्नेत (५४), शिवकुमार बस्नेत (२४) र स्मृति बस्नेत (१९) बिरामी परेका हुन् । उनीहरुले २६ चैत विहान खानासँगै जंगलबाट ल्याएको दन्दुको साग र जरिङ्गो पकाएर खाएपछि बेहोस भएका थिए ।
बेहोस भएका सबैलाई छिमेकी माधव कार्कीले अटोमा राखेर पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । बिरामी परेका गोकुल र निर्मला मैयाँ बस्नेतको छोरा बुहारी हुन् भने शिवकुमार र स्मृति नाति र नातिनी बुहारी हुन् ।
उपचार भइरहेका सबैको अवस्था सुधारोन्मुख भएको डाक्टर चापागाईले बताए । बिरामी परेकाहरुले दन्दु र जरिङ्गोको साग बाहेक नचिनेर अरु नै केही खाएका कारण बिरामी परेको हुन सक्ने डाक्टर चापागाईको अनुमान
छ।
सुरजकुमार भुजेल, मकवानपुर