अनाथालयलाई साढे दुई लाख सहयोग
परोहा नगरपालिकाले रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई साढे दुईलाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार नगरपालिकाका कार्यालय प्रमुख ओमप्रकाश यादवले अनाथालयका संस्थापक वंशीराम जयसवाललाई अक्षयकोष वृद्धिका लागि दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
अनाथालयमा रहेका ३४ बालबालिकाको औषधि उपचारमा मासिक २५ देखि ३५ हजार रुपैया खर्च हुँदै आएको छ । औषधि उपचारको लागि कुनै व्यवस्था नभएकाले संस्थापक जयसवालले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरिदिनका लागि आह्वान गरेका थिए ।
विभिन्न स्थानीय तह तथा व्यक्ति र संघसंस्थाहरुले अनाथालयको अक्षयकोषमा रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ३२ लाख ५० हजार रुपैयाँ अक्षयकोषमा जम्मा भइसकेको अनाथालयका वर्तमान सञ्चालक हृदयनारायण कुशवाहाले जानकारी गराएका छन् ।
परोहा नगरपालिकाले गत आर्थिक वर्षमा पनि अनाथालयलाई साढे दुईलाख रुपैयाँ दिएको थियो । मेयर शेख वकिलले थप साढे दुईलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।
निस्वार्थ संस्थाको रुपमा जिल्लामा पहिचान बनाएको अनाथालयलाई विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिन तथा वैवाहिक वर्षगाँठ र छोराछोरीको वार्षिकोत्वको अवसरमा खाद्यान्न सहयोग गर्ने प्रवृत्तिको विकास भएको छ ।
विभिन्न चाडपर्व तथा मौसम अनुसारका कपडा लगायतमा अनाथालयका बालबालिकालाई सहयोग गर्दै आएका छन्।
सञ्जय मित्र, रौतहट