अन्तर्वार्ता/विचार बुधबार, चैत २६, २०७६

बन्दाबन्दीमा अपांगता भएका व्यक्तिलाई परेको समस्या कसले बुझ्ने ?

हिमालखबर

बन्दाबन्दीमा अपांगता भएका व्यक्तिलाई परेको समस्या कसले बुझ्ने ?
तस्वीर: गेट्टी इमेजेज
टीका दाहाल

आम रुपमा राहत भन्नाले दाल, चामल, नुन-तेल जस्ता खाद्यान्न सामग्रीलाई मात्र बुझ्ने गरिन्छ। तर अपांगता भएका विशेष गरी स्पाइनल कर्ड इन्जुरी भएका, बौद्धिक अपांगता भएका महिलाहरुका लागि त्योभन्दा बढी डाइपर, प्याड र विभिन्न औषधि आवश्यक पर्छ। जुन राहतको सूचीमै पर्दैन।

कोरोना भाइरसले विश्वभरका मानिसको जीवन तहसनहस बनाएको छ। आम मानिस घरभित्रै सीमित हुँदा दैनिक जीवन कठिन बनेको छ। यो बन्दाबन्दीको मारमा सबैभन्दा बढी अपांगता भएका व्यक्तिहरु परेका छन्। अपांगताभित्र पनि महिलाको जीवन निकै कष्टकर बन्दै गएको छ।

लकडाउन भन्दा अगाडिका दैनिक जीवन कष्टकर र संघर्षमय त थियो नै, बन्दाबन्दीले हिंडडुल गर्न नसक्ने ह्वीलचियर प्रयोग गर्नेहरु झन् मारमा परेका छन्। अझ शरीरले सकेको सानोतिनो काम गर्दै आए, सडकमा मागेर गुजारा चलाउनेहरु भोकै पर्न थालिसकेको भन्दै आउने फोन उठाउँदा उनीहरुको आवश्यकताको समन्वय गर्न हिजोआज म र म जस्तालाई भ्याइनभ्याई छ। जोखिमको यो समूहलाई बन्दाबन्दीको दुई साता बितिसक्दासम्म ध्यानै दिइएको छैन।

अपांगतामैत्री राहत प्याकेज कहिले ?

हाल राहत वितरणको काम वडा सरकार मार्फत गरिन्छ। नेपाल अपांग महिला संघले आफ्ना सदस्य, संजाल र कार्यालय मार्फत सकेसम्म धेरै स्थानीय तहसँग समन्वय गरी सवैभन्दा समस्यामा भएका अपांगता भएका र त्यसमा पनि महिला र गम्भीर प्रकृतिका अपांगता भएकाहरुका लागि राहत पुर्‍याउन पहल गरिहेको छ।

आम रुपमा राहत भन्नाले दाल, चामल, नुन-तेल जस्ता खाद्यान्न सामग्रीलाई मात्र बुझ्ने गरिन्छ। तर अपांगता भएका विशेष गरी स्पाइनल कर्ड इन्जुरी भएका, बौद्धिक अपांगता भएका महिलाहरुका लागि त्यो त्यो भन्दा बढी डाइपर, प्याड र विभिन्न औषधि आवश्यक पर्छ। जुन राहतको सूचीमै पर्दैन। २०७२ सालको भूकम्पमा पनि यो कुरा चर्कैसँग उठे पनि अहिले फेरि राहत दिनेहरुले त्यो बिर्सिएको पाइएको छ।

महामारी अझै कति लम्बिने हो, कसैले भन्न सक्ने अवस्था छैन। विश्वका ठूला मुलुकका साथै छिमेकी मुलुक भारतमा संक्रमण हुने र मृत्युको बढ्दो दर हेर्दा नेपालले पनि लामै समय बन्दाबन्दी गर्नु नै उपयुक्त हुने देखिन्छ। १५ दिनको बन्दाबन्दी हामीले बिताइसक्यौं। यो १५ दिनमा आएका अपांगता भएकाहरुको प्रतिनिधि समस्यालाई राख्न चाहन्छु।

सुतेको सुत्यै जीवन बिताउनेहरुलाई सुतिरहँदा हुने घाउमा लगाउने औषधिको व्यवस्था कसले गरिदिन्छ ? अरु वेला त सहयोगी वा आफन्तहरुले ल्याइदिन्थे, अहिले उनीहरु कसरी निस्कने ? दालचामल, तरकारी तर घरमै अर्डर गर्दा पनि आइपुग्छ, तर औषधि, प्याड, डाइपरलगायत मेडिकलबाट ल्याउनुपर्ने सामानहरु कसरी ल्याउने ?

बहुअपांगता भएकाहरु शारीरिक कारणले मोबाइल समेत चलाउन नसक्ने हजारौं छन्, विपन्नताले मोबाइल बोक्नै नसक्नेहरु पनि त्यत्तिकै छन्। उनीहरु यति वेला भाडाको कोठामा भोकै सुतिरहेका हुनसक्छन्। सामान्य मोबाइल र गोजीमा पैसा भए पनि रिचार्ज कार्ड किनेर ल्याइदिने सहयोगी र ल्याउने ठाउँ नपाएर उनीहरुले एक कल फोन पनि गर्न सकेका छैनन् । सूचना, सञ्चार र प्रविधिको बढ्दो विकासले उनीहरुलाई छुनै सकेको छैन। घरमा टेलिभिजन र रेडियो बजिरहे पनि बहिराहरुले कसरी सूचना पाउने ?

यस्तै समस्या भएका केही प्रतिनिधिमूलक घटना :

'छि:छि: दूरदूर गर्छन् भनेर छोरीलाई कोठामै राख्छु' - बहुअपांगता भएकी छोरीको आमा 

१८ वर्षकी छोरी छोरी मस्तिष्क पक्षघात भएकी छिन्। काठमाडौंमा डेरामा बस्छिन्। घरयसी काम गर्दै अशक्त छोरीको स्याहारसुसार गर्थिन् र काम सकेपछि बाहिरतिर डुलाउन लग्थिन्। भाडामा बस्ने र घरका मान्छेहरु जागिरमा गएपछि उनी छोरीलाई बाहिरतिर निकाल्थिन्। जुन त्यो छोरीको स्वास्थ्यको लागि अति आवश्यक छ। तर हिजोआज सबै घरमै छन्, घर बाहिर जाँदा समेत अरुले छिछि दुरदुर गर्ने हो कि भन्ने चिन्तासँगै इन्फेक्सन हुने हो कि भन्ने चिन्ताले बाहिर लग्दिनन्। छोरी हिजोआज दिनभरि कोठामै बन्दी बनाएर राख्नुपर्ने आमाको बाध्यता छ, त्यसैले छोरीमा बढी रिसाउने, खाना नखाने जस्तो समस्या देखिन थालेको छ।

'महीनावारी हुँदा झन् समस्या' - स्पाइनल कर्ड इन्जुरी पीडित महिला

उनी हाल काठमाडौंमा एक्लै डेरामा बस्छिन्। अरु समयमा उनको घर र कार्यालयमा निरन्तर रुपमा सहयोगीको व्यवस्था हुन्थ्यो तर कोरोनाभाइरस सर्ने त्रासमा अहिले उनको सहयोगी पनि सँगै छैनन्। उनी धेरैबेर एकै ठाउँमा बस्दा हिपमा घाउ बढेको छ। लगाउने औषधि छैन, सरसफाइ गरिदिने सहयोगी नहुँदा समस्या छ। ह्वीलचियरमा बस्न र निस्कन अरुको सहयोग लिने उनी अहिले कोठाको बेडमै मात्र बस्न बाध्य छिन्।

दिसा-पिसाब गर्न, खाना बनाएर खान जस्ता समस्यासँगै महिनावारी भएर झन् थप समस्या थपिएको छ। महिनावारी हुँदा झन् धेरै सरसफाइको सामग्री र सहयोगी आवश्यकता पर्छ तर त्यो छैन। चारपाङ्ग्रे स्कुटर पनि छ तर स्कुटरमा चढाइदिने कोही छैन। दैनिक शारीरिक अभ्यास नहँदा अन्य रोग थपिने चिन्ताले झनै सताएको छ।

'तरकारी र रिचार्ज कार्ड ल्याइदिने कोही छैन' - ह्विलचियर प्रयोगकर्ता महिला

उनी काठमाडौंको जोरपाटीमा बस्छिन्। कपडा सिलाएर गुजारा गर्थिन्। एक जनालाई जेनतेन पुग्ने कमाइ गर्ने उनको काम अहिले बन्द भएको छ। अब के खाने चिन्ताले सताउन थालेको छ। उनीसँग सामान्य मोबाइल छ तर रिचार्ज कार्ड छैन र नजिकै कोठामा बस्नेलाई रिचार्ज कार्ड र तरकारी किन्दिन भन्न खोज्छिन् तर कोही नजिक पर्दैनन्। एक त कोही कसैको नजिक नजानु भनेको छ, अर्को सहयोग गर्ने मन नभएकाले पनि मान्छेहरु टाढिने गरेको उनले सुनाइन्।

थपिएको मानसिक पीडा

भोको पेट र एक्लै बस्नुको पीडासँगै थपिएको अर्को पीडा हो हिंसा। एक्लै भएको मौका पारेर कुनै न कुनै बहानामा आउने वा झुक्याएर आएर पनि हिंसा हुन्छ की भन्ने चिन्तामा अपांगता भएका महिलाहरु छन्। संकटको बेला सामान्य महिलाहरु पनि बढी हिंसामा पर्छन् भन्ने अध्ययनहरुले पनि देखाएको छ, झन् अपांगता भएका महिलाहरुमो हिंसा हुने जोखिम झन् बढी हुन्छ।

खाद्यान्न, औषधिहरुको अभावसँगै कोठाबाट निस्किएर शौचालयसमेत जान नसक्नेहरुका लागि सरकारको योजना खोई ? यी सबै कारणले थपिने मानसिक पीडा कसरी कम गर्ने ?

समस्यामाथि थपिंदै गएको समस्या झन् जटिल बनिरहेको छ, अपांगता र बहुअपांगता भएकाहरु र उनीहरुकाे परिवारलाइ परेकाे पीडा कम गर्न महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रदेशकाे सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारकाे सामाजिक विभागहरु बढी स‌म्वेदनशिल हुनुपर्छ।

तीन वटै तहकाे सरकारले तत्काल गर्नुपर्ने

- सबैभन्दा जोखिममा पर्ने समूहको पहिचान र उनीहरुलाई आवश्यकता अनुसारको राहत ।

- संकटका बेला ‘महिलाहरुको लागि सुरक्षा निर्देशिका’ ।

- अपांगता भएकाहरुको लागि सहयोग गर्न छुट्टै आकस्मिक कोष स्थापना ।

- अपांगतामैत्री सूचना सन्देश तथा अत्यावश्यक पर्ने स्यानिटरी किट, पौष्टिक आहार, आवश्यक औषधि र परामर्शको व्यवस्था ।

- अपांगता भएका विशेष गरी महिलाका लागि लक्षित राहत प्याकेजमा स्यानेटरी प्याड, पोषण खाना, क्याथेटर, युरिन ब्याग, डाइपर, सरसफाइका सामग्री, सहायक सामग्री, इक्व्पमेन्ट र सहयोगीको व्यवस्था ।

- बौद्धिक अपांगता, सेरेबल पल्सी, अटिजम र बहुअपांगता भएका महिला र बालिकाका आमा, बुवा तथा संरक्षकहरुको लागि आवश्यक सेवा र परामर्श ।

- घरभित्र, डेरामा, या क्वारेन्टाइनमा अपांगता भएका महिला र वालिका यौन हिंसा, घरेलु हिंसा र दुर्व्यवहार हुनसक्ने जोखिमलाई ध्यान दिई आवश्यक व्यवस्था ।

- हिंसाको घटनाको अभिलेखीकरण र पीडकलाई कारबाही ।

- क्वारेन्टिन र आइसोलेसन अस्पतालहरु सुचना र महिला तथा अपांगता मैत्री ।

- कोरोना भाइरस बारेको सूचना र सामग्रीहरु संकेत सहित, सांकेतिक भाषा र ब्रेलमा समेत ।

- जोखिमका समूहलाई सञ्चारका लागि मोबाइलमा पैसा पठाइदिने (क्यास ट्रान्सफर) ।

- उनीहरुलाई चाहिने सामग्री उनीहरु बस्ने घर वा कोठामै पुर्‍याइदिने ।

- विशेष गरी जोखिमका समूहका लागि आवश्यक कुरा जानकारी गराउन नि:शुल्क मोबाइल हटलाइन सेवा र मोबाइल टोलीहरु तयार गर्नुपर्ने।

लेखक नेपाल अपांग महिला संघकी अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस