दोलखामा बाहिरबाट आएका २५ जना क्वारेन्टिनमा
दोलखामा बाहिरबाट आएका २५ जनालाई क्वारेन्टिनमा राखिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा २३ जना र मेलुङ गाउँपालिकामा दुई जनालाई क्वारेन्टिनमा राखिएको हो ।
आइतबार काठमाडौंबाट घर फर्किएका कालिञ्चोक गाउँपालिकाका २३ जनालाई सिंगटीमा रहेको क्वारेन्टिनमा राखिएको गाउँपालिका प्रमुख विनकुमार थामीले बताए।
नौ जनाको पास लिएर माइक्रोबसमा २३ जना आएको पाइएपछि आइतबार राति खरीढुङ प्रहरी चौकीले नियन्त्रणमा लिएर कालिञ्चोक गाउँपालिकाको जिम्मा लगाएर छोडिदिएको थियो ।
मंगलबार चार बालबालिका सहित २३ जनालाई सिंगटी स्थित प्रताप स्मृति कलेजमा गाउँपालिकाले बनाएको क्वारेन्टिनमा खाने सुविधा सहित राखिएको गाउँपालिका प्रमुख विनकुमार थामीले बताए ।
क्वारेन्टिनमा राखिएका २३ जनामा कालिञ्चोक गाउँपालिका ४ लामिडाँडाका पाँच जना, वडा नम्बर ५ लापिलाङका छ जना, वडा नम्बर ६ लापिलाङका सात जना, वडा नम्बर ९ सुन्द्रावतीका तीन जना तथा दोलखा तामाकोशी गाउँपालिकाका एक जना र नुवाकोट जिल्लाका एक जना रहेको गाउँपालिका उपप्रमुख कालिका पाठकले बताए ।
त्यसैगरी दोलखाको मेलुङ गाउँपालिका ७ मा विदेशबाट आएका दुईवटा घरमा गाउँपालिकाको निर्णय अनुसार रातो झण्डा गाडिएको तर उनीहरु १४ दिन नपुग्दै खुलेआम बाहिर हिंडडुल गर्न लागेपछि वडाको पहलमा सेतीदेवी प्राविमा निर्माण गरिएको सुरक्षित आवासमा राखिएको वडा अध्यक्ष नवराज खड्काले जानकारी दिए ।
मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ भने स्वास्थ्यकर्मीको सुविधा नभएकाले उनीहरुलाई क्वारेन्टिनमा राख्न आवश्यक नै नभएको बताउँछन् । उनीहरु होम क्वारेन्टिनमै सुरक्षित रहने प्रमुख श्रेष्ठको भनाइ छ ।
सर्मिला बुढाथोकी