डोटीमा नवविवाहित युवतीको हत्या भएको भन्दै श्रीमान् विरुद्ध किटानी जाहेरी
डोटीमा आइतबार साँझ आफ्नै घरमा भएको भरुवा बन्दुक पड्किएर मृत्यु भयो भनिएकी जोरायल गाउँपालिका ४ की अनिता वनको हत्या भएको भन्दै श्रीमान् विरुद्ध किटानी जाहेरी परेको छ ।
अनिताको माइती पक्षले श्रीमान् खडक वनले हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका हुन् । शव पोष्टमार्टमका लागि सोमबार राती जिल्ला अस्पतालमा ल्याइएको र आज साँझसम्म रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मृतक अनिताका आमा र मामा जितेन्द्र नाथले कर्तव्य ज्यान मुद्दामा श्रीमानविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्णबहादुर बोहोराले जानकारी दिए । उनले भने, “जाहेरीमा बन्दुक आफै पड्किएको नभई श्रीमान्ले नै हानेका हुन्सक्ने विषयमा अनुसन्धान गर्न भनिएको छ ।”
अनिताका मामा जितेन्द्रले हिमालसँग टेलिफोनमा भने, “दुई वटा कोठा रहेछ, ढोका बाहिरबाट हानेको बन्दुक ढोका छेडेर भित्र गएर भान्जीको छातीमा लागेको छ । आफैंले हानेको भन्ने अवस्था नै छैन ।”
आइतबार घटनापछि ज्वाईं आफैंले फोन नगरी एकजना छिमेकीले फोन गरेका थिए, घटना लगत्तै केटाले जानकारी नदिनु पनि शंकास्पद छ, उनले भने । जितेन्द्रका अनुसार घरमा केटाका बुबा, आमा, भाइ, बहिनी र बाजे पनि बस्ने भए पनि घटना भएका बेला भने दुई जना मात्रै भएको पाइयो । घटनामा धेरै वटा शंका गर्ने ठाउँ छ, जितेन्द्रले भने ।
२० वर्षिया अनिता र खड्कले माइती पक्षलाई जानकारी नदिई २९ फागुनमा बिहे गरेका थिए । जितेन्द्रले भने १२ फागुन केटी भगाएर तीन दिनपछि हामीलाई जानकारी दियो, त्यसपछि फोन गर्दा कहिल्यै उठाउँदैनथे । २९ गते बिहे गरेर घर भित्र्याएको भन्ने चाहिँ केटीको आमालाई जानकारी दिएको उनले बताए ।
श्रीमानलाई प्रहरीलाई नियन्त्रणमा राखेको छ ।