समाचार मंगलबार, चैत २५, २०७६

ग्राहकको भेषमा रहेका प्रहरीलाई थर्मल गन बेच्न आएका थिए अनरेरी कन्सल सुलभ अग्रवाल

दीपक खरेल

ग्राहकको भेषमा रहेका प्रहरीलाई थर्मल गन बेच्न आएका थिए अनरेरी कन्सल  सुलभ अग्रवाल
जगदम्बा सिमेन्ट, छड र धागोका मालिक सुलभ अग्रवाल

प्रहरीले ग्राहक भेषमा जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका संचालक तथा नेपालका लागि किर्गिस्तानका अवैतनिक  दूत (अनरेरी कन्सल) सुलभ अग्रवाललाई थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

उनले प्रयाेग गरेकाे कुटनीति नम्बर प्लेट भएकाे २०९–एचसीसी–१ नम्बर गाडीमा बेच्न ल्याएकाे ६७ गाेटा कन्टेक कम्पनीका इन्फ्रारेड थर्माेमिटर बरामद गरेकाे छ । 

महानगरीय अपराध महाशाखाबाट सादा पाेशाकमा रहेका प्रहरीलाई अग्रवालले नै ठाँउ बदल्दै भेटेका  थिए । प्रहरीले उनलाई उनकै कार्यालय नजिक रहेकाे नक्साल बालगृहबाट नियन्त्रणमा लिएकाे थियाे । 

महानगरीय अपराध महाशाखालाई केही दिन अघि बजारमा चरम अभाव रहेको ज्वरो नाप्ने यन्त्र (थर्मल गन) बढी मूल्यमा विक्री वितरण भइरहेको सूचना आएको थियो ।

प्रहरीले यो सूचनासँगै कालोबजारी गर्ने मुख्य ब्यक्तिलाई नियन्त्रणमा लिने योजना बनायो । यसका लागि महाशाखाका एसपी हृदय थापालाई टिम तयार गर्न भनियो । उनले सूचना अनुसार ग्राहक बनेर अग्रवालसँग  थर्मल गनको ‘डिल’ सुरु गरे । अग्रवालले धेरै पटककाे केरकारपछि ग्राहककाे भेषमा रहेका प्रहरीसँग काराेबार गर्न सहमति जनाएका थिए । 

सुलभ अग्रवालको परराष्ट्रले जारी गरेकाे कुटनीतिक  परिचय पत्र।

अग्रवाल काराेबारका लागि तयार भएपछि सुरुमा प्रतिगोटा रू.२० हजारमा बेच्न सक्ने बताए । प्रहरीले अग्रवालसँग आफुहरूले गाउँपालिका र स्वास्थ्य संस्थामा बाँडनका लागि खरिद गर्न लागेकाे बताएका थिए ।

प्रहरी अधिकारीहरूले उनलाई प्रतिगोटा रू.१५ हजारमा विक्रीका लागि मनाएका थिए । अनि रकम लेनदेनको कुरा सुरु भयो ।याे संवाद पछिल्लाे तीनदिन देखि जारी थियाे । 

प्रहरीलाई अग्रवालले मंगलबार  एकहात नगद र अर्को हात सामानको शर्त राखे । प्रहरीले केही घण्टामै १५ लाख रुपैयाँ जुटाउने अवस्था थिएन । मंगलबार अग्रवाललाई १० लाख रुपैयाँ बराबरको सामान लिएर आउन  प्रहरीले भनेकाे थियाे । १५ हजारका दरले ६७ गाेटा थर्मल गनकाे दशलाख ५ हजार हुन्छ । त्यही रकम लिएर प्रहरी अग्रवालसँग थर्मल गन किन्न पुगेकाे थियाे। 

सुलभ अग्रवाल र उनले प्रयोग गरेको कूटनीतिक नम्बर प्लेटको गाडी ।

कूटनीतिक नम्बर प्लेटको गाडीमा अग्रवाल १० लाख रुपैयाँ बराबरका ६७ गोटा थर्मल गन सहित आएका थिए ।  सुरुमा उनी को हुन ? खुलेकाे थिएन । तर उनका साथबाट  बरामद परिचयपत्र देखेपछि प्रहरी समेत केही समय अचम्ममा पर्‍यो ।

“हामीले कुनै ब्यापारी हाेलान भन्ने अनुमान गरेका थियाैं,” अपरेशनमा संलग्न एक प्रहरी अधिकारीले भने “निलाे प्लेटकाे गाडीमै सामान लिएर आउनु भयाे, केही समय अवराेध गर्नु भयाे।”

“समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञ नै यस्तो अवस्थामा कालोबजारी गर्ने ब्यक्ति रहेछन,” महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने “हामी उनका साथमा कालोबजारीका लागि राखेका अन्य स्वास्थ्य सामाग्री होलान् खोज्दैछौं।”

महाशाखाले अग्रवाललाई पक्राउ गरेर टेकुस्थित कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ।

सम्बन्धीत समाचार:

कूटनीतिक नम्बरकाे गाडीमा थर्माे गनकाे कालाेबजारी, काउन्सलर सुलभ अग्रवाल पक्राउ 

प्रतिकृया दिनुहोस