समाचार मंगलबार, चैत २५, २०७६

फ्रान्स कोभिड–१९ को युरोप इपिसेन्टर बन्ने खतरा

हिमालखबर

फ्रान्स कोभिड–१९ को युरोप इपिसेन्टर बन्ने खतरा

फ्रान्समा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित ८३३ जनाको एकै दिन सोमबार मृत्यु भएको छ। फ्रान्समा एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै ठूलो हो।

सोमबारै अमेरिकामा भने १२५५ जनाको मृत्यु भएको छ। फ्रान्समा मृत्यु हुनेको संख्या दोस्रो धेरै हो। त्यसबाहेक स्पेनमा ७०० र इटालीमा ६३६ जनाको मृत्यु भएको छ। कोभिड–१९ को उद्गम देश चीनमा भने सोमबार कसैको मृत्यु भएको छैन।

युरोपमा एकै दिन मृत्यु हुनेको संख्यामा फ्रान्स अगाडि रहेको यो पहिलो पटक हो। युरोपमा एकै दिन बढी संक्रमित भेटिने देशमा पनि फ्रान्स सोमबार अगाडि रह्यो। फ्रान्समा पाँच हजार १७१ जना संक्रमित फेला परे। त्यही दिन स्पेनमा पाँच हजार २९ र बेलायतमा तीन हजार ८०२ जना नयाँ बिरामी फेला परे।

सोमबार सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ कोभिड–१९ का ३० हजार ३३१ नयाँ बिरामी भेटिए। इटालीमा तीन ५९९ र टर्कीमा तीन हजार १४८ संक्रमित भेटिएका छन्।

फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या आठ हजार ९११ पुगेको छ। त्यहाँ ९८ हजार १० जनामा संक्रमण फैलिसकेको छ। तीमध्ये १७ हजार २५० जना निको भएका छन्।

युरोपमा संक्रमित र मृत्यु हुनेको दर पछिल्लो २४ घन्टामा सबैभन्दा उच्च फ्रान्समा देखिएपछि त्यहाँका अधिकारी चिन्तित भएका छन्। चिकित्सकहरुले अब युरुपको केन्द्र फ्रान्स हुने चेतावनी पनि दिएका छन्।

प्रतिकृया दिनुहोस