आइसोलेसनमा राखिएका बिरामीको मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी
कोरोनाको आशंकामा कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि भर्ना भएका एक जनाको मृत्यु भएको छ ।
ती बिरामीको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. किशोर बञ्जाडेका अनुसार, मृतक जिल्लाको विजयनगर गाउँपालिका–२ जलैयाका ३० वर्षीय गोभद्र्धन भर हुन् ।
ज्वरो आएपछि उनलाई गत शुक्रबार जिल्ला अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । डा. बञ्जाडेका अनुसार, उनमा पहिले देखि टिबी रोग थियो । टिबीसँगै मुटु तथा फोक्सोमा संक्रमण र निमोनिया भएर श्वास फेर्न गारो भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
“डव्लू एचओको रुल अनुसार ज्वोरो आएको र कोरोनाको लक्षणसंग मिल्दोजुल्दो भएकोले हामी कोरोनाको आसंकाबाट अलग राखरे उपचार गर्न सक्ने अवस्थामा थिएनौं” डा बञ्जाडेले हिमालसँग भने, “स्वावको नमूना लिएर परिक्षणका लागि पठाउने तयारी थियो, साेमबार एक्कासी मृत्यु भयो ।”
सोमबार विहानसम्म स्वास्थ्यमा सुधार आएपनि साँझ अचानक स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनका अनुसार कोरोना परीक्षणको रिपोर्ट नआएसम्म मृतक भरको शव अस्पतालमै रहने छ।