६ हजार ८ सय थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) मौज्दात
स्वास्थ्य सेवा विभागले देशका विभिन्न ठाउँमा संक्रमित र शंकास्पद व्यक्तिको परीक्षण तथा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षा साम्रगी पठाएको छ।
विभागका अनुसार, सोमबार अपराह्न तीन बजेसम्म पाँच लाख ५६ हजार १५१ थान मास्क, ७० हजार थान सर्जिकल पन्जा, २३ हजार ५४५ थान अन्य पन्जा, चार हजार ४९९ थान गाउन, ६ सय १३ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीईको सेट, ३ सय ९५ थान पीपीई गाउन लगायतका सामग्री विभिन्न जिल्लामा पठाइएको छ।
स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सात वटै प्रदेशमा गरी २३ चैतसम्म ६ हजार ७ सय ९५ थान पीपीई गाउन मौज्दात रहेको जनाएको छ। यसमध्ये सबैभन्दा बढी प्रदेश–१ मा एक हजार ३५८ थान र सबैभन्दा कम बागमती प्रदेशमा ६ सय ६३ थान मौज्दात छ।
स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस (कोभिड-१९) का संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि चाहिने पीपीई गाउन अभावका बीच उपचारमा खट्नुपरेको गुनासो गर्दै आएका छन्।