माछा मार्ने विषयमा विवाद हुँदा गोली चल्यो
रौतहट र सर्लाहीबीच भएर बग्ने वागमती नदीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको छ ।
झडपलाई साम्य पार्न गएको प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि दुई फायर गरेको छ ।
रौतहट र सर्लाहीको बीचमा बग्ने बागमती नदीको विषयमा दुई पक्षबीच लामो समयदेखि विवाद रहेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकाबीच बागमती नदीको बालुवा, माछा तथा घाटको विषयमा लामो समयदेखि विवाद रहिआएको छ ।
सोमबार दिउँसो सर्लाही र रौतहट दुवैतिरका मानिस स्थानीय नदीमा माछा मार्न पुगेपछि दुई पक्षबीच झडप भएको हो ।
सर्लाहीका वीरा सहनीको समूह र रौतहटको भोला सहनी समूहबीच माछा मार्ने विषयमा विवाद चर्केर झडप भएको खबर पाउनासाथ दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारमा इलाका प्रहरी कार्यालयबाट तत्काल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुग्नासाथ ठूलो संख्यामा रहेका वीरा सहनीको समूहका मानिसले प्रहरीमाथि नै आक्रमण गर्न पुगेको थियो । झडपलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि नै आक्रमण भएपछि आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।
दुई पक्षबीच भएको झडपमा दुर्गा भगवती गापा २ का भोला सहनीको टाउकोमा चोट लागेर घाउ भएको छ । सहनीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पिपरा बजारमा भइरहेको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताएका छन् ।
बागमती नदीको माछाको ठेक्का सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिका गरी दुवैले लगाएका छन् । दुवै जिल्लाका दुवै स्थानीय तहबीच बागमती नदीको स्वामित्वको विषयमा लामो समयदेखि विवाद बल्झेको छ ।
सञ्जय मित्र, रौतहट