वीरेन्द्रनगरमा दूध र तरकारी आयातमा रोक
वीरेन्द्रनगर नगरपालिकाले एक हप्तासम्मका लागि बाहिरबाट आउने दूध, तरकारी तथा फलफूल आयातमा रोक लगाएको छ ।
छिमेकी जिल्ला कैलालीमा कोरोनाको संक्रमण देखिएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लकडाउनको अवस्थालाई थप कडा बनाएको हो।
वीरेन्द्रनगर नगर कार्यपालिकाको सोमबार बसेको बैठकले अति आवश्यक बाहेकका अन्य सामग्रीको आयातमा रोक लगाएको हो।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले बाहिरबाट आउने दूध तथा तरकारी जस्ता वस्तुहरु समेतमा रोक लगाएको कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
‘छिमेकी जिल्लामा कोरोनाको प्रभाव देखापरेपछि हाम्रो पालिकामा कडाइ गरेका हौं’, उनले भनिन्, ‘यहाँ दूध र फलफूलहरु बर्दिया तथा कैलालीबाट समेत आयात हुने भएकाले यसमा रोक लगाएका छौं ।’
दूध, तरकारी तथा फलफूलबाट समेत कोरोनाको जोखिम देखिएकाले एकहप्ता सम्मका लागि अन्य पालिकाबाट कुनै पनि सामग्री नल्याउने निर्णय गरेको ढकालले बताइन् ।
उनले छिमेकी जिल्लामा कोरोना देखापरेपछि यहाँका वडाका टोल विकास संस्थाहरुलाई सक्रिय बनाएकोे बताइन् । नगरपालिकाका कार्यवाहक प्रमुख ढकालले टोलहरुमा बाहिरबाट कुनै व्यक्ति आउन नदिनुका साथै यहाँबाट पनि कसैलाई बाहिर जान नदिने गरी प्रत्यक्ष निगरानीमा राख्न निर्देशन दिएको बताइन् ।
बैठकले रु. दुई करोडको ‘कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडाहरुले पनि यही कोषबाट राहत तथा खाद्यान्न सामग्रीहरु वितरण गर्नेछन् ।
संघीय सरकार र प्रदेश सरकारको मापदण्डलाई आधार मानेर करीब एक करोडको राहत वितरण भइसकेको नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले जानकारी दिए । नगरपालिकाले एकद्वार प्रणाली अनुसार राहत वितरण गर्नको लागि पनि कोषको स्थापना गरिएको सुवेदीले बताए।
‘कोरोनाको संक्रमण विरुद्ध कार्यालयको निर्णय अनुसार खटिने कर्मचारीलाई संक्रमण भएमा नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ’ सुवेदीले भने, ‘यसरी खटिएका कर्मचारीहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएमा उनीहरुका परिवारलाई १० लाख क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने भएको छ ।’
त्यसैगरी बैठकले स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री(पिपिई), इन्फ्रारेड थर्ममिटर, ग्लोब्स, मास्क, सेनिटाइजर लगायतका आवश्यक औषधिहरु समेत ‘कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष’ बाटै खरीद गरी उपलब्ध गराउने निर्णय समेत गरेको सुवेदीले बताए ।
नगरपालिकाले लकडाउनको समय लम्बिएसँगै विपन्न तथा मजदुरी गरेर जीविकोपार्जन चलाउने परिवारलाई खाद्यान्न सामग्री समेत वितरण गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई चामल, दाल, नुन र तेल वितरण गरेको हो । त्यसैगरी नगरपालिका सबै वडामा कोलोरिन पाउडर पनि छर्केको छ ।
लक्ष्मी भण्डारी