महाप्रसाद अधिकारी बने नयाँ गभर्नर
सरकारले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज (सोमबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेसँगै उनले पाँच वर्षका लागि राष्ट्र ब्याङ्कको नेतृत्व सम्हाल्नेछन्।
अर्थमन्त्री संयोजक रहेको समितिले रिक्त गभर्नर पदका लागि पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व अर्थसचिव राजन खनाललाई सिफारिश गरेकोमा अधिकारीलाई नियुक्त गरिएको स्रोतले जनाएको छ। सिफारिस समितिमा राष्ट्र ब्याङ्कका पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए।
बन्दाबन्दी शुरु हुनुअघि नै अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर नियुक्ति सिफारिस समिति गठन गरेर प्रक्रिया अघि बढाएका थिए। समितिले आर्थिक, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित दुई र नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नरहरुमध्ये एक गरी तीन जनालाई सिफारिस गर्ने प्रावधान छ।
निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको पदावधि ५ चैतमा सकिएपछि गभर्नर पद रिक्त थियो।