शैलुङ गाउँपालिकामा घरदैलो स्वास्थ्य परीक्षणअभियान शुरु
दोलखाको शैलुङ गाउँपालिका ३ ले प्रत्येक घरमा पुगेर स्वास्थ्य परीक्षण शुरु गरेको छ।
विदेशबाट आएका मानिसको तथ्यांक संकलन, कोरोनाभाइरस बारे जानकारी र दैनिक ज्यालादारीहरुको विवरण संकलनका लागि प्रत्येक घरमा पुगेर स्वास्थ्य परीक्षण अभियान शुरु गरिएको वडा अध्यक्ष ध्रुव श्रेष्ठले बताए।
सोमबारसम्म वडा नम्बर ३ को ढुंगे, भुरुंगा, नागी, बोथ्ले वालसाप्रा लगायत टोलमा पुगेर झण्डै पाँचसय घरधुरीका मानिसको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य परीक्षणको क्रममा केहीमा सामान्य स्वास्थ्य समस्या बाहेक थप समस्या नदेखिएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्वास्थ्य परीक्षणको क्रममा वडाका ६ वटा टोलका झण्डै पाँचसय घरधुरीमा पुगेर स्वास्थ्य परीक्षण गर्दा अहिलेसम्म विदेशबाट आएका एक जना पनि नभेटिएको र दैनिक ज्यालादारीबाट गुजारा गर्ने परिवार पनि नभेटिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
वडामा १८ सय घरधुरी रहेको र बाँकी घरधुरीमा पनि केही दिनभित्रै स्वास्थ्य परीक्षण अभियान सकिने वडा कार्यालयले जनाएको छ ।
शैलुङ गाउँपालिकाले प्रत्येक वडामा जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नतामा विदेशबाट आएका मानिसको तथ्यांक संकलनको लागि घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लगायत अभियान सञ्चालन गरिरहेको गाउँपालिका प्रमुख भरत दुलालले बताए ।
शैलुङ गाउँपालिकामा अहिलेसम्म आठजना विदेशबाट आएका मानिसको विवरण प्राप्त भएको र उनीहरु सबै होम क्वारेन्टिनमा रहेको अध्यक्ष दुलालले जानकारी दिए।
सर्मिला बुढाथोकी