बन्दाबन्दीकाे फाइदा उठाउँदै वनतस्कर सक्रिय, रौतहटमा गोली हानाहान
बन्दाबन्दीको फाइदा उठाउँदै वनतस्करहरु सक्रिय भएका छन् । रौतहटको जंगलमा तस्कर र सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहान भएको छ । आइतवार राति वन सुरक्षा टोली र तस्करबीच दोहोरो गोली हानाहान भएको हो ।
रौतहटको गुजरा नपा २ स्थित अन्जुमन सामुदायिक वन क्षेत्रभित्र गस्तीमा रहेको वन सुरक्षा टोली र तस्करबीच दोहोरो गोली हानाहान भएको हो ।
गस्तीमा रहेको वन सुरक्षा टोलीमाथि गोली प्रहार भएपछि सुरक्षा गस्ती टोलीले पनि गोली हानेको थियो । दोहोरो हानाहानमा वन सुरक्षा गस्ती टोलीले तीन र तस्कर समूहले दुई फायर गरेको हो ।
वन सुरक्षा टोलीको फायरबाट डराएर तस्कर समूह अँध्यारोको फाइदा उठाउँदै भागेको थियो । भागेको तस्कर समूहले वनमै छोडेको एक थान भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको छ ।
दोहोरो गोली हानाहान भए पनि वन सुरक्षा गस्ती टोलीतर्फ कुनै क्षति नभएको सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहले बताएका छन् ।
अन्जुमन सामुदायिक वन क्षेत्रभित्र आइतवार दिउँसो पनि गोली चलेको आवाज स्थानीयले सुनेका थिए । वनभित्र गोली चलेको सेक्टर वन कार्यालयका कर्मचारीहरुले पनि सुनेपछि वनमा गस्ती बढाएका थिए।
गस्तीकै क्रममा तस्करसित वन सुरक्षा टोलीको जम्काभेट भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताएका छन् ।बन्दाबन्दीको समयमा रौतहटमा काठ तस्करी बढेको बढेको तथा चोरी शिकारी पनि बढेको गुनासो बढेको छ ।
सञ्जय मित्र, रौतहट