गर्भनरका लागि तीन जनाको नाम सिफारिस, आजै नियुक्त हुने संभावना
अर्थमन्त्री संयोजक रहेको समितिले नेपाल राष्ट्र ब्यांकको रिक्त गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेमा पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा पूर्व अर्थसचिव राजन खनाल छन्।
सिफारिसमध्येबाट एक जनालाई आजै दिउसो बस्ने मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना छ। अर्थमन्त्री संयोजकत्वको सिफारिस समितिमा नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।
बन्दाबन्दी शुरु हुनुअगाडि नै अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर नियुक्ति सिफारिस समिति गठन गरेर प्रकृया अघि बढाएका थिए। समितिले आर्थिक, मौद्रिक, ब्यांकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित दुई र नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नरहरुमध्ये एक गरी तीन जनालाई सिफारिस गर्ने प्रावधान छ। सिफारिस भएकामध्येबाट मन्त्रीपरिषद्ले एक जनालाई पाँच वर्षका लागि राष्ट्र ब्यांकको गभर्नर नियुक्त गर्छ।
निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको पदावधि ५ चैतमा सकिएपछि गभर्नर पद रिक्त छ। अर्थमन्त्री खतिवडाले निवर्तमान गभर्नर डा. नेपालको पदावधि समिनुअगाडि नै नयाँ गभर्नर नियुक्ति गरिसक्ने बताउँदै आएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण नियुक्ति प्रकृया अघि बढ्न सकेको थिएन।