भारतमा कोरोना संक्रमित ३५ सय नाघे, २४ घण्टामै थपिए ५०५ नयाँ संक्रमित
भारतमा कोरोना भाइरस (कोभिड-१९) को महामारी लगातार बढिरहेको छ। आइतबार बेलुकीसम्म त्यहाँ ३ हजार ५ सय ८८ जना संक्रमित भइसकेका छन्। बितेको २४ घण्टामै भारतमा ५ सय ५ जना नयाँ संक्रमित थपिएका छन्। यसले त्यहाँ कोरोनाको कहर संकटको अवस्थामा रहेको देखाएको छ।
संक्रमितमध्ये २ सय २९ जना उपचारपछि घर फर्किएका छन् भने हालसम्म ९९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतमा ११ चैतदेखि २१ दिन बन्दाबन्दी (लकडाउन) लागू गरिएको छ, जुन १४ अप्रिल (३ वैशाख) सम्म कायम रहनेछ। भारत सरकारले बन्दाबन्दी २१ दिनभन्दा बढी नलम्ब्याउने संकेत गरेको छ।
यसअघि भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले दिल्लीमा हालै तबलिगी जमात (धार्मिक सभा) का कारण संक्रमण फैलिने दर बढेको बताएका थिए। यस कारण संक्रमित बिरामीको संख्या कम समयमै दोब्बर भयो।
संयुक्त सचिव अग्रवालले धार्मिक सभा नभएको भए संक्रमणको मामिला दोब्बर हुन औसतमा करीब एक साता लाग्ने बताएका थिए। जबकि, त्यस घटनाका कारण औसतमा चार दिनमै संक्रमितको संख्या दोब्बर भयो।
अग्रवालले कोरोना भाइरसको संक्रमण रोक्न देशव्यापी लागू गरिएको बन्दाबन्दीलाई प्रभावकारी बनाउनेबारे सरकारले समीक्षा गरिरहेको छ।