बुहारीकाे हत्या आरोपमा पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले बुहारीको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
हत्या गरी शव जलाइरहेको भन्ने सूचनाको आधारमा ससुरा, सासू लगायत पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आइतबार करीब ११ बजे पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका उपेन्द्र पण्डितकी २५ वर्षीया श्रीमती उर्मिला देवी पण्डितको शव आधा जलेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
हत्या गरेर उर्मिला देवीको शव जलाउन लगेको भनी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख तथा ई.प्र.का.पोखरियाका कार्यालय प्रमुख समेतको प्रहरी टोलीले त्रिमुहान खोलामा मृतक उर्मिला देवी पण्डितको शव जलाउँदै गरेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले घटनाको जाँच तथा बरामदी मुचुल्का लगायतको कार्य सम्पन्न गरी लास पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ ।
सो घटनामा मृतकका ससुरा ५१ वर्षीय सुरेश पण्डित, ५१ वर्षीया सासू फुल कुमारी देवी, मृतककी देवरानी २२ वर्षीया मालती देवी र अन्य २ जनासमेतलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ ।