चेपाङ बस्तीमा फागुन यता दादुराबाट २ बालबालिकाको मृत्यु, डेढसय बिरामी
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विभिन्न वडामा फागुन पहिलो सातादेखि दादुरा रोगका कारण चेपाङ बस्तीमा डेढसय भन्दा बढी बालबालिका बिरामी परेका छन् । रोगका कारण दुई बालबालिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर ४ का ८ महिने (बालक) र साढे दुई वर्षकी अनिसा रहेको गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख शंकर दुवाडीले जानकारी दिए ।
अन्य केही गम्भीर बिरामी परेकोमा दुई बालबालिकालाई काठमाडौं ल्याएर उपचार गरेर लगेपछि निको भएको पनि उनले बताए । दुवाडीले टेलिफोनमा भने, “पछिल्लो केही वर्ष यता जन्मिएका सबै बालबालिकालाई खोप लगाउने गरिएको छ ।
बिरामी परेकाहरु प्रायः ५ वर्ष माथिका छन् । तर खोप लगाएका बालबालिकामा पनि पौष्टिक तत्व खान नपाएर रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रोगले जितेको देखियो ।”
फागुन यता पटक पटक स्वास्थ्य टोली र जनप्रतिनिधिहरु पुगिरहेका छन् । अहिले १५/२० जना भन्दा बढी बिरामी भएको स्वास्थ्य प्रमुख दुवाडी बताउँछन् । बिरामी पर्नेहरु अधिकांश ४/५ वर्षदेखि १३/१४ वर्ष उमेरका रहेका छन् ।
चेपाङ समुदायको बाहुल्यता रहेको बस्तीमा अधिकांश घरमा वर्षभरि खान नपुग्ने विपन्न भएकाले गाउँपालिकाले उनीहरुका लागि खाद्य सामाग्रीदेखि स्वास्थ्य चेतनाको कार्यक्रम निरन्तर गरिरहेको गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवालले बताए ।
उनी भन्छन्, “गाउँपालिकाले हरेक हिसाबले चेपाङ समुदायको लागि काम गरिरहेको छ तर चेतनाको स्तर फेर्न समय लाग्दो रहेछ भन्ने अनुभव भएको छ । यो समुदायलाई माथि उठाउनु गाउँपालिकाको प्राथमिकता हो ।”
अशिक्षा र चेतनास्तरका कारण अझै बिरामी भएमा स्वास्थ्य चौकी नगएर धामी झाँक्री खोज्ने क्रम नै बढी रहेको जनप्रतिनिधिहरु बताउँछन् ।
विभिन्न समस्या रहेको चेपाङ बस्तीमा गर्मी लागेसँगै दादुरा र झाडापखालाका बिरामी बर्षेनि देखिने गरेका छन् ।