विपन्न महिलालाई महिला आधारशिलाको खाद्य सामग्री सहयोग
महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था महिला आधारशिलाले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका महिलाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति एक/एक बोरा (२५ किलो) चामल, ५ किलो दाल, एक किलो नुन र एक लिटर तेल २१५ जनालाई प्रदान गरेको संस्थाकी अध्यक्ष रेणु शर्माले जानकारी दिइन् ।
कार्यालय रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित आधारशिलाको कार्यालयमा काम गर्ने तथा वरिपरि दैनिक ज्यालादारीमा काम गर्दै आएका तर बन्दले काम गर्न नपाएकाहरुलाई राहत सामाग्री प्रदान गरिएको थियो ।
यस खालको महामारी तथा असामान्य अवस्थाले शहरमा बसेर दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएकालाई बढी मार पर्ने भएकाले संस्थाले सहयोग गर्दै आएको उनको भनाइ छ ।
यस्ता सामाग्री महिला विशेष गरी गर्भवती तथा बिरामी वा शारीरिक रूपमा अशक्त, विपन्न एकल महिलाका परिवारलाई शनिबार राहत प्रदान गरिएको आधारशिलाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आइतबार वडा कार्यालयसँगको समन्वयमा थप २०० परिवारलाई राहत प्रदान गर्ने जनाएको छ ।
संस्थाले नाकाबन्दीका बेला पनि काठमाडौंको बढी श्रमिक बस्ने ठाउँहरुका परिवारलाई दैनिक निशुल्क खाना खुवाउने गरेको थियो ।
२५ वर्ष अगाडि स्थापना भएको महिला आधारशिलाले घरेलु तथा यौन हिंसा पीडित र बालबालिकाको लागि आश्रय दिने र पढ्ने बालिकाहरुलाई पढाउने र महिलाहरुका लागि आयआर्जनमा काम गर्दै आएको छ ।