रिपोर्ट शनिबार, चैत २२, २०७६

दक्षिण कोरियाले यसरी नियन्त्रण गर्‍यो कोभिड-१९

हिमालखबर

दक्षिण कोरियाले यसरी नियन्त्रण गर्‍यो कोभिड-१९
दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ-वहा। तस्वीर:रोयटर्स

- सीन फ्लेमिङ/वर्ल्ड इकोनोमिक फोरम

  • अचानक संक्रमणको चपेटामा परेपनि दक्षिण कोरिया यति वेला कोरोनाभाइरस (कोभिड-१९) संगको युद्धमा जित हाँसिल गरिरहेको छ ।
  • दक्षिण कोरियाका सबै क्षेत्रले चिकित्सकहरूको सेवा र एकअर्काका बिरामीका लागि अस्पतालको ढोका कहिल्यै बन्द गरेनन् ।
  • कोरोनाभाइरस नियन्त्रणको राष्ट्रिय रणनीतिमा 'परिक्षण' मुख्य आधार बन्यो ।

 

"मेरो देशले कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रणमा लियो वा उस्तै चपेटामा छ भन्ने विषयले खासै अर्थ राख्दैन," भर्चुअल 'वर्ल्ड ईकोनोमिक फोरम'को कोभिड टास्क फोर्स मिटिङ्गलाई सम्बोधन गर्दै दक्षिण कोरियाली विदेशमन्त्री काङ क्युङ-वहाले भनिन्, "पूरै विश्व एकसाथ यसविरूद्ध लड्नु पर्छ ।"

गत जनवरीको अन्तिममा कोरोनाभाइरस संक्रमणको पहिलो केस फेला पारेदेखि नै दक्षिण कोरियाले आफ्नो सारा मूल्य चुकाएर त्यस विरुद्धको लडाइ लडिरहेको छ । उसको त्यो प्रयास जित हाँसिल गर्नेमा पनि दृढ देखिएको छ । जसै संक्रमितको संख्या एकाएक ह्वात्तै बढ्यो त्यसलाई रोक्न कोरियाले अपनाएको 'मास टेस्टिङ' को विधिले निकै सहयोग पुर्‍यायो ।

"हामीले धेरै छिटो कदम चालेका थियौं, तर अच्चम लागेको छ, विशेष गरि यसको फैलावट देखेर", विदेशमन्त्रीले भनिन् । शुरुमा भेटिएका ३० जना संक्रमितको उपचारमा दक्षिण कोरियाले गरेको मिहिनेतको सकरात्मक नतिजा देखिएको थियो । तर ३१औं संक्रमितसँगै ती पुराना संक्रमितको अवस्था पनि पुन: खतरामा पर्‍यो ।

"त्यसपछि संक्रमण विष्फोटक तवरमा फैलियो । जसलाई नियन्त्रणमा लिन निकै गाह्रो भयो । हाम्रो त्यतिवेलाको अवस्था आज संक्रमणसँग जुधिरहेका यूरोपेली मुलुकहरूको जस्तै भएको थियो । कोरिया दिक्दार भएको थियो" उनले भनेकी छन् ।

सूपर-स्प्रेडर

१९ जनवरीदेखि १८ फेब्रुअरीसमम दक्षिण कोरियामा ३० जना मात्रै संक्रमित थिए भने एक जनाको पनि मृत्यु भएको थिएन ।  जब १८ फेब्रुअरीमा ३१औं संक्रमित भेटियो, त्यसपछि विस्तारै फैलिरहेको संक्रमणको गती एकाएक बदलिन पुग्यो । र, १० दिनमै ३१ जनाबाट २३०० मा पुग्यो ।

३१औं संक्रमित जसले ठूलो जनमानसमा उक्त संक्रमणमा फैलाउन पुग्यो त्यसलाई सूपर-स्प्रेडरका रुप अर्थ्याइयो । जसले संक्रमण भेटिएको अघिल्लो दिन राजधानी सोल र डाएगो सहरको ठूलो भिडभाडमा यात्रा गरेकी थिइन् । त्यसपछि उनी सामान्य सडक दुर्घटनामा परिन् र हस्पिटलमा उपचार गर्न पुगिन् ।

त्यसअघि ज्वरो आउँदा पनि उनी दुई पटक चर्चमा गएकी थिइन्, भने एक साथीसँगै होटलमा खाना खान पुगेकी थिइन् । उनमा कोरोनाभाइरसको संक्रमण देखिएसँगै उनी गएको चर्च र त्यस आसपासका सयौं मानिसहरूमा कोरोनाभाइरस पोजिटीभ देखियो ।

३१औं संक्रमित सूपर-स्प्रेडर जस्तै अरू व्यक्तिहरू पनि जो कोरीयाली स्वास्थ्यकर्मीको सम्पर्कमा ढिलोगरि पुगे उनीहरूले प्रकोपलाई ठूलो क्षेत्रसम्म फैलाउने काम गरे ।

दक्षिण कोरियामा संक्रमितहरूको तथ्याङ्क। स्रोत: स्टाटिस्टा।

 

मिश्रित-प्रतिक्रिया

त्यति व्यापक रणनीति बनाएर समयमै कार्यन्वयन गर्दा समेत दक्षिण कोरियामा फैलिएको यसको संक्रमणको गतिले सरकारलाई चकित पारेको थियो ।

"तपाईंहरूले योजना निर्माण गरेर एक कदम अघि रहन जरुरी हुन्छ," दक्षिण कोरियाली विदेशमन्त्रीले भनेकी छन् "हामीले राज्यका सारा संयन्त्रहरू प्रयोग गर्‍यौं । हामी धेरै विकशित प्रजातन्त्रिक मुलुक हौं, हाम्रो प्रधानमन्त्रीले मन्त्रीस्तर हुँदै प्रदेशदेखि स्थानीयस्तरसम्म संयन्त्र बनाउनु भयो ।"

यही संयुक्त रणनीतिले देशैका विभिन्न क्षेत्रमा द्रुत गतिमा एकैसाथ काम गर्‍यो ।

"जब एउटा प्रान्तको अस्पतालमा बेडको अभाव हुन्थ्यो, हामी तुरुन्तै अर्को प्रान्तलाई त्यसको व्यवस्थापन गर्न भन्थ्यौं । जब एक प्रान्तमा स्वास्थ्यकर्मीको अभाव हुन्थ्यो, हामी तुरुन्तै अर्को प्रान्तलाई त्यसको व्यवस्था गर्न आग्रह गर्थ्यौं." उनले कोरियाले गरेको व्यवस्थापनको विधिलाई सुनाइन् ।

टेस्टिङ टाइम्स

"तपाईं नागरिकसँग नरम व्यवहार गर्नुहोला र उनीहरूको विश्वासलाई गुम्न नदिनुहोला, यो संकटमा निकै महत्वपूर्ण विषय हो," विदेशमन्त्री काङले जोड दिएकी छन्, "हाम्रो सफलताको रहस्य नै हामी जनतासँग पारदर्शी हुनु हो । हामी संक्रमणका विषयमा होस चाहे राज्यले चालेका कदमका विषयमा कुनै पनि विवरण लुकाएनौं । जसले हामीलाई त्यस्तो भयावह अवस्थाबाट पार लगाउँदै छ ।"

सन् २०१५ मा दक्षिण कोरियाले कोरोनाभाइरसकै कारण लाग्ने मर्स रोगको महामारी सामना गर्नुपरेको थियो । त्यतिवेला मर्सबाट खाडीका केही राष्ट्र बाहेक सबैभन्दा धेरै दक्षिण कोरियाले क्षति भोग्नु परेको थियो, जहाँ १८५ वटा केस पुष्टि भएका थिए ।

यसले पनि परिक्षण नै कुनै पनि यस्ता भाइरल नियन्त्रणका लागि सबैभन्दा उपयोगी विधि हो भन्ने दृढ विश्वास पैदा गराएको थियो ।

त्यसैले जब कोभिड-१९ दक्षिण कोरियामा फैलियो परिक्षणलाई नै सबैभन्दा बढी प्राथमिकतामा राखियो, जुन विधि अपनाउन अरू मुलुकरू चुके ।

"यसरी द्रुत गतिमा फैलिने भाइरस नियन्त्रणका लागि 'परिक्षण' अत्यन्तै महत्वपूर्ण कार्य हो" काङले भनिन् "अहिलेसम्म हामीले करिब ३ लाख ५० हजार भन्दा बढीलाई परिक्षण गरिसकेका छौं । कसैलाई पनि छोड्नुभन्दा पहिले हामी पटकपटक उसको परिक्षण गरेर मात्रै निर्णय लिन्छौं, जसका कारण हामी ऊ पूर्ण रुपमा भाइरसमुक्त छ भन्न सक्छौं ।" उनले दक्षिण कोरियामा १४५ वा १५० जनामा एक जनालाई परिक्षण गरेको जानकारी गराइन् ।

भविष्य हेर्नुहोस्

इटाली, चीन, बेलायत र अमेरिकाका विभिन्न भू-भागहरू जस्तो दक्षिण कोरियामा बन्दाबन्दी लकडाउन पनि थिएन । तर पनि विद्यालयहरू बन्द गरिए । पुन: खोल्ने प्रयास भए पनि तत्काललाई स्थगित गरियो । विदेशमन्त्री काङका अनुसार ती विद्यालयहरू छिट्टै खोल्नुपर्नेछ ।

"हामीले ६ अप्रिलमा विद्यालयहरू खोल्ने लक्ष्य राखेका छौं । शिक्षा लिन पाउने अधिकार हाम्रो सामाजिक मान्यताको महत्वपूर्ण हिस्सा हो । हामीले दुई पटकसम्म विद्यालय खोल्ने निर्णयलाई स्थगन गर्‍यौं, अब हामी हाम्रा बालबालिकाको सिक्ने र शिक्षा लिने अधिकारलाई अझैं धेरै कुण्ठीत गर्न चाहादैनौं," विदेशमन्त्री काङको दृढता छ, "यसको मतलब हामीले अबको दुई हप्ताभित्र संक्रमण नियन्त्रणका लागि एकदमै मेहनत गर्नुपर्नेछ ।"

यति आशावादी हुँदाहुँदै पनि काङले सावधानीतर्फ पनि ध्यान दिएकी छन् । "कोरोनाभाइरसलाई पराजित गर्‍यौं भन्नुको मतलब अब यसको त्रास सकियो भन्ने होइन," उनी भन्छिन् ।

"विद्यालय खुले पनि यहाँको अवस्था सामान्य हुनेछैन, जस्तो अवस्था कोरोनाभाइरसको संक्रमण आउनुभन्दा पहिले थियो । संक्रमण पछिको अवस्था निकै फरक हुनेवाला छ र यो निकै लामो समयसम्म रहने छ," काङ अबको आवश्यक्तालाई औंल्याउँछिन् "त्यो सामान्य अवस्थामा फर्किनका लागि हामी सबै मिलेर कुनै विकल्प  खोज्नुपर्छ ।"

(वर्ल्ड इकोनोमिक फोरमका लागि सीन फ्लेमिङले तयार पारेको सामाग्री)

अनुवाद:दिपेश शाही

प्रतिकृया दिनुहोस