पश्चिमका तीन जिल्लामा ‘मास टेष्टिङ’, बन्दाबन्दीमा थप कडाई गरिने
कोरोना महामारी रोकथामका लागि २५ चैतसम्म जारी बन्दाबन्दीलाई थप कडाई र व्यवस्थित गर्ने सरकारले निर्णय गरेको छ। शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता युवराज खतिवडाले बन्दाबन्दीमा कडाई गर्न प्रदेश–प्रदेश र स्थानीय तह बीचको आवागमन समेत बन्द गर्ने निर्णय भएको बताए। उनका अनुसार, कोरोना परीक्षणलाई प्रभावकारी बनाउनेगरी निर्णय भएको छ।
कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोनाको संक्रमण देखिएकाले ती जिल्लाहरुमा ‘मास टेष्टिङ’ गरिने भएको छ। पहिलो चरणमा -यापिड परीक्षण गरिने र थप पुष्टि दोस्रो चरणको परीक्षणबाट गरिने प्रवक्ता खतिवडाले बताए।
बन्दाबन्दी कति रहन्छ भन्नेबारे कुनै निर्णय नभएको उनले बताए। तर, कोरोना परीक्षण र रोकथामका कार्यमा अवरोध गर्ने कार्यमा कोही संलग्न भए प्रचलित ऐनअनुसार कार्बाही गरिने पनि निर्णय भएको छ।
शनिबार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ। दुई जना भारतबाट फर्किएका युवकमा संक्रमण देखिएको छ। एक महिला भने कतारबाट फर्किएका युवक मार्फत संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसलाई सरकारले दोस्रो चरणको संक्रमण भनेको छ।