गोर्खा ब्रुअरीको एक ट्रक बियर बेच्ने चालक पक्राउ
ट्रक साहुको मिलोमतोमा एक ट्रक बियर अर्कै व्यापारीलाई बेच्ने चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
गत ३० फागुनमा नवलपरासीको गोर्खा ब्रुअरीबाट जनकपुरका लागि हिंडेको बियर बोकेको ना ५ ख २६८६ नम्बरको ट्रक चालकले साहूसित मिलेर बाटैमा भारतीय व्यापारीलाई बेचेका थिए ।
जनकपुर हिंडेको ट्रक रौतहटको गरुडा नपा ६ अमरपटीमा उमेश यादवको घर भाडामा लिई राखिएको थियो । ट्रक साहू कटहरिया नपाको जमुनिया टोलका फैमुल हकले भारतीय व्यापारी विकास साहलाई एक ट्रक बियर बेचिदिएका थिए ।
बेचिएको बियर भारतीय व्यापारी साह, ट्रक साहू हक र चालक गढीमाई नपाको गम्हरिया लक्ष्मीपुर टोलका जबिउल्ला अन्सारी मिलेर अमरपटीमा घर भाडामा लिई भण्डारण गरेका थिए ।
बियरको खोजी भएपछि इलाका प्रहरी कार्यालय गरुडाले गत ३ चैतमा बियर बरामद गरेको थियो । बरामद गरिएको बियर १४४० कार्टुन रहेको र प्रचलित मूल्यमा करीब पचास लाख रुपैयाँको हुने बताइएको छ ।
बियर बरामद भएपछि ट्रक साहू, भारतीय व्यापारी र चालकको खोजी गरिरहेको प्रहरीले चालक अन्सारीलाई पक्राउ गर्न सफल भएको छ ।
फरार ट्रक साहू र भारतीय व्यापारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।
सञ्जय मित्र, रौतहट