बन्दाबन्दीमा विपन्न परिवारलाई राहत वितरण
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले बन्दाबन्दीले खाद्यान्न समस्या भएका गरीब र विपन्न परिवारलाई नारायण नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।
नगरपालिकाले अतिविपन्न, असहाय र मजदुरका परिवारलाई केन्द्रित गर्दै राहत वितरण शुरु गरेको हो । नगरप्रमुख रत्नबहादुर खड्काले शनिबारदेखि राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिए ।
उनले राहत वितरणका लागि वडा–वडावाट लगत संकलन गरिएको र जनप्रतिनिधिको रोहवरमा खाद्यान्न सामग्री वितरण गर्न शुरु गरिएको बताए।
राहत सामग्रीमा प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नुन र २ वटा लाइफव्याय साबुन लगायत सामग्री रहेको नारायण नगरपालिका १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएका कारण विपन्न परिवारहरु संकटमा परेको हुँदा राहत वितरण शुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
बन्दाबन्दीको समयमा दैनिक ज्यालादारी र मजदुरी गरेर छाक टार्ने वर्गका परिवारलाई खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको छ । जसअनुसार नारायण नगरपालिकाले सबै वडामा राहत वितरण गर्न लागेको हाे।
नगरपालिकाले बनाएको मापदण्ड अनुसार आफ्नो आयस्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहायको रुपमा राखेर राहत वितरण गरेको छ ।
नगरपालिकाले अहिलेसम्म १ हजार १० जना गरीब र विपन्नको लगत संकलन गरेको र अरु पनि थपिनसक्ने जनाएको छ ।
यज्ञराज थापा, दैलेख