थप तीन जनामा काेराेना संक्रमण, एक जना नेपालमै संक्रमित भएको पुष्टि
नेपालमा थप तीन जनामा काेराेनाभाइरस संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। जसमध्ये दुई जना कैलालीका र एक जना कञ्चनपुरका हुन्।
मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको जनाइएको छ।
मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाए अनुसार, योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ। यसअघि संक्रमण देखिएका सबै जना विदेशबाट आएकाहरु थिए।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेको छ। जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्।