सेना गुहार्नु सरकारको विफलता : साझा पार्टी
साझा पार्टीले कोरोनाभाइरस रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री खरीदको जिम्मा नेपाली सेनालाई दिनु सरकारको विफलता र लज्जाको विषय भएको बताएको छ।
सरकारले ओम्नी समूहसँग भएको स्वास्थ्य सामग्री खरीद सम्झौता विवादास्पद भएपछि त्यसलाई रद्द गरेर बिहीबार यसको जिम्मा सेनालाई दिएको थियो।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा इतिहासकै शक्तिशाली भनिएको सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर सेना गुहार्नु राम्रो संकेत नभएको उल्लेख छ। संकटको घडीमा सरकारको आदेश पालना गर्नु सेनाको कर्तव्य भए पनि यो स्थिति आउनुमा सरकारी अकर्मण्यता कारक भएको उक्त पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विपद्को वेला सरकारका बदनियतपूर्ण निर्णयले सिर्जना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने सरकारको कदम आपत्तिजनक रहेको समेत साझाले टिप्पणी गरेको छ।
साझा पार्टीले नेपाली सेनालाई ढाल नबनाई समस्याको राजनीतिक समाधान खोज्नु पर्ने औंल्याएको छ ।
साझाले पार्टीले २०६९ सालमा तत्कालीन राजनीतिक नेतृत्वले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि सरकारको नेतृत्व नै तत्कालीन प्रधान न्यायाधीशलाई सुम्पिएको स्मरण गराउँदै संकट गहिरिंदै र सरकार झन् कमजोर हुँदै जाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस् भन्ने कामना समेत गरेको छ।