विदेशी विद्यार्थी र घुम्न आउनेहरू आफैं टिक्ने अवस्था नभए घर फर्कंदा हुन्छ : अस्ट्रेलिया
अस्ट्रेलिया सरकारले विभिन्न कारणले त्यहाँ पुगेका व्यक्ति र विदेशी विद्यार्थीहरूलाई आफ्नो सुरक्षा आफै गर्न नसक्ने अवस्था भए आफ्नो देश फर्किन सुझाव दिएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले वर्तमान अवस्थामा अस्ट्रेलिया सरकारले आफ्ना नागरिकको सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले अरू देशका नागरिकको जिम्मा लिन नसकिने बताएका हुन् ।
"विद्यार्थी भिसा र अरू विभिन्न अस्थायी प्रयोजनका लागि भिसा प्राप्त व्यक्तिलाई यहाँ बस्नुपर्ने कुनै बाध्यता छैन" मोरिसनले मन्त्रिपरिषद्को बैठकपछि क्यानबेरा टूडेका रिपोर्टरसँग भनेका छन् ।
"यदि तिनीहरू आफ्नो सम्पूर्ण जिम्मेवारी लिन सक्दैनन् भने तिनीहरूका लागि सबैभन्दा उत्तम विकल्प भनेको घर फर्किनु नै हो," उनले भनेका छन् "हामीले यहाँ रहेका कतिपयको भिसा रद्द गर्नुपर्ने हुनसक्छ ।"
अस्ट्रेलिया अध्ययनका लागि धेरै नेपालीको गन्तव्य मुलुक हो । नेपाल सरकारले हरेक नेपाली नागरिकलाई आफू जहाँ रहेको सोही ठाउँमा सुरक्षित रुपमा रहन आग्रह गर्दै आएको थियो ।
सरकारी समाचार संस्था राससलाई अन्तर्वार्ता दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यहाँ रहेका अन्य मुलुकका नागरिकको सरकारले जिम्मा लिने र बाहिर मुलुकमा रहेका नागरिकको सोही देशको सरकारले जिम्मा लिने विश्वास व्यक्त गरेका थिए ।
उनले भारतमा मजदुरी गर्न गएका नेपालीलाई सीमा प्रवेश गर्न नदिएको विषयमा उक्त अभिव्यक्ति दिएका थिए । तर आज अस्ट्रेलियाका प्रधानमन्त्रीले विद्यार्थी र अन्य अस्थायी भिसामा रहेकालाई आ-आफ्नो मुलुक फर्किन सुझाव दिएसँगै नेपाल सरकारको अपेक्षामाथि चुनौती थपिएको छ ।
यसअघि चीनको वुहानमा रहेको करिब एक सयभन्दा बढी विद्यार्थीलाई जहाज चार्टर गरेर स्वदेश ल्याइएको थियो ।