सप्तरीबाट काठमाडौं ल्याइएका इन्डोनेसियन गोप्य स्थानमा
करीब तीन महीनादेखि नेपालमा रहेका १३ इन्डोनेसियनलाई काठमाडौं ल्याएर गोप्य ठाउँमा राखिएको छ। बन्दाबन्दीपछि सप्तरीबाट स्कर्टिङ गरी ल्याइएका उनीहरुलाई राखेको ठाउँका स्थानीयले विरोध गरेपछि दुई पटक ठाउँ सारेर स्थान गोप्य राखिएको हो।
उनीहरु तब्लिगी जमातका सदस्य हुन्। २१ जनवरीमा नेपाल प्रवेश गरेका उनीहरु नेपाल इज्जित (धार्मिक सम्मेलन) का लागि आएका थिए। सप्तरीमै स्वास्थ्य जाँच गरेर उनीहरुलाई ल्याइएको ललितपुर प्रहरीले जनाएको छ।
सप्तरीबाट ल्याएर उनीहरुलाई इमाडोलस्थित मस्जिदमा राखिएको थियो। तर, त्यहाँका स्थानीयले विरोध गरेपछि गोदावरी भिलेज रिसोर्टमा राखियो।
त्यहाँ पनि स्थानीयले विरोध गरेपछि प्रहरीले बिहीबार राति नै ठाउँ सारेको थियो। अहिले उनीहरुलाई राखिएको ठाउँ प्रहरीले गोप्य राखेको छ।
स्थानीयले उनीहरु कोरोना भाइरस संक्रमित हुनसक्ने डरका कारण विरोध गरेका हुन्। तर, उनीहरु कोही पनि दिल्लीको बंगलेवाला मस्जिदमा भएको इज्जितमामा सहभागी नभएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्। उक्त इज्जितमा सहभागीहरु कोरोनाभाइरस संक्रमित भएको फेला परेको छ।