कोभिड-१९ विहीबार, चैत २०, २०७६

इटालीबाट के सिक्ने, के नसिक्ने ?

हिमालखबर

इटालीबाट के सिक्ने, के नसिक्ने ?
तस्बीरः भक्स डटकम

– ग्यारी पी. पिसानो, रफाइल्ला सादुन र माइकल जानिनि

विश्वभरिका नीतिनिर्माताहरूले दु्रतगतिमा फैलिरहेको कोभिड १९ महामारी निस्तेज पार्न संघर्ष गरिरहेका छन् तर यसक्रममा आफू कहाँ छु भन्ने थाहा पाइरहेका छैनन् ।

चीन, दक्षिण कोरिया, सिंगापुर र ताइवान जस्ता देशले गरेका अभ्यास र तौरतरिका बारे धेरै लेखिसकिएको छ । दुर्भाग्यवश सम्पूर्ण यूरोप र संयुक्त राज्य अमेरिकामा कोभिड १९ लाई प्रारम्भिक अवस्थामा राख्न धेरै ढिलो भइसकेको छ र नीति निर्माताहरू फैलिइसकेको महामारी नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेका छन् ।

यसक्रममा उनीहरूले इटालीमा प्रारम्भमा गरिएका धेरै त्रुटि दोहोर्याइरहेका छन्, यसले पनि महामारीले उग्ररूप लिइरहेको छ । यस आलेखको उद्देश्य अमेरिका, यूरोप र अन्य भूगोलका नीतिनिर्माताहरूलाई इटालीले गरेको गल्तीहरूबाट सिक्न र तीव्रगतिमा फैलिरहेको संकटले निम्त्याएको चुनौती पहिचान गरेर समाधान गर्न सहयोग पुगोस् भन्ने हो ।

२१ फेब्रुअरीदेखि २२ मार्चसम्म इटालीले पहिलो आधिकारिक कोभिड १९ संक्रमित बिमारी पत्ता लगायो । यसलगत्तै सरकारले आवागमन र अत्यावश्यक नभएका व्यावसायिक गतिविधि बन्द गर्ने घोषणा गर्यो। यो अत्यन्त छोटो अवधिभित्र देशमा सुनामी भन्दा बेजोडको धक्का लागिसकेको थियो । यसक्रममा धेरैले मृत्युवरण गरिसकेका थिए । निश्चय पनि यो दोस्रो विश्वयुद्धपछि इटालीले बेहोर्नुपरेको सबैभन्दा ठूलो संकट थियो ।

यस संकटका केही पक्षहरू निःसन्देह समयसँगै शुरु भएको ‘छोर्तुना’ (इटालियन भाषामा दुर्भाग्य) मान्न सकिन्छ । जुन स्पष्टतः नीतिनिर्माताको पूर्ण नियन्त्रणमा थिएन । अन्य पक्षहरूमा इटालीका नेताहरू कोभिड १९ द्वारा उत्पन्न खतराको परिणाम बुझ्ने, व्यवस्थित तवरले सम्बोधन गर्ने, प्रारम्भिक तवरमा कार्यान्वयन गरिएका उपायहरूको सफलताबाट पाठ सिक्ने र असफलताका अवरोधहरू पहिचान गर्ने स्थानमा थिए ।

महत्वपूर्ण कुरा के हो भने चीनमा कोभिड १९ ले पूर्णरूपमा प्रभाव जमाइसकेपछि अन्यत्र देखापर्यो । उक्त भाइरस नियन्त्रण गर्ने वैकल्पिक उपाय (चीन र अन्य ठाउँमा) पहिले नै कार्यान्वयन गरिसकिएको थियो । यसले सबै कुरा थाहा पाइसकेर मात्र केही गर्ने भनेर बस्नुभन्दा विद्यमान सूचनाका आधारमा जे गर्नुछ त्यो गरिहाल्नु पर्छ भन्ने सुझाव दिएको छ ।

यहाँ असफलतासँग सम्बन्धित केही स्पष्टीकरणहरू छन् जुन संकट पैदा भएपछि त्यसलाई परास्त गर्ने तरिका र चाहिएका वेला निर्णय लिन खोज्दा देखिने कठिनाइहरूसँग सम्बन्धित छः

पूर्वाग्रहको पहिचान
प्रारम्भिक चरणमा इटालीमा कोभिड १९ संकट संकट जस्तो थिएन । प्रारम्भिक अवस्थामा गरिएका आपतकालीन घोषणाहरूलाई त्यहाँका नागरिक र नीति निर्माणकर्ताले समेत सन्देहपूर्ण दृष्टिले हेरे ।

कोभिड १९ विरुद्ध खटिरहेका स्वास्थ्यकर्मी । तस्बीरः बिजनेस इन्साइडर

धेरै वैज्ञानिकहरूले केही हप्ता अघिदेखि नै देशमा महाविपत् आउन सक्ने चेतावनी दिइरहेका थिए । फेब्रुअरीको अन्त्यमा केही राजनीतिज्ञले मिलानमा जम्मा भएर भाइरसका कारण देशको अर्थव्यवस्था धर्मराउन नपाओस् भनेर सार्वजनिक रूपमै हातेमालो गरे । एक हप्तापछि तिनैमध्येका एक राजनीतिज्ञलाई कोभिड १९ संक्रमण भएको पत्ता लाग्यो ।

इटालीबाहेक अन्य केही देशमा पनि यस्तै खालका क्रियाकलाप दोहोरिए । यो हामी मान्छेमा रहेको संज्ञानात्मक पूर्वाग्रह (व्यक्तिगत मान्यता वा पूर्व जानकारी) का आधारमा मात्रै सुनिश्चित हुन खोज्ने प्रवृत्तिबाट प्रेरित थियो ।

महामारीको खतरा सामान्य देखिए पनि तीव्रगतिमा फैलिन्छ । यस्तो अवस्थामा तत्काल के भइरहेको छ भन्ने सूचना थाहा पाउन र यसको सामना गर्न के गर्ने भन्ने उपाय पहिल्याउनै कठिन हुनेगर्छ । कडा कदम चाल्ने प्रभावकारी समय भनेकै प्रारम्भमै हो ।

अर्थात् सामान्य देखिएकै बेला, रोगी भेटिनु अघि नै यस्तो कदम चालिहाल्नु पर्छ । यस्तो हस्तक्षेप तत्काल उपयोगी हुनसक्छ तर पछि पुनरावलोकन गर्दा कतै अनावश्यक त थिएन भन्ने पनि लाग्न सक्छ । तर, यो जोखिमको खेल खेल्न अधिकांश राजनीतिज्ञ चाहँदैनन् ।

नेताहरूमा साहस चाहिने यही बेला हो, जसलाई निकटका व्यक्तिहरूले प्रोत्साहित गर्न सक्छन् । अनिश्चितताको समयमा प्रलोभनलाई बेवास्ता गर्न सक्नुपर्छ । विभिन्न क्षेत्रका विज्ञहरूसँगको विशेषज्ञता संकलन, वर्गीकरण र विश्लेषण गर्नुपर्छ । आंशिक जानकारीलाई पूर्णता दिन तिर लाग्नुपर्छ ।

आंशिक समाधानको बेवास्ता
इटालियनहरूबाट लिन सकिने दोस्रो पाठ व्यवस्थित दृष्टिकोणको महत्व र आंशिक समाधानहरूको जोखिम हो । इटालीको सरकारले कोभिड १९ महामारीसँग जुध्दै ‘लकडाउन’ गरिएका क्षेत्र (रेड जोन) हरूमा श्रेणीबद्ध रूपमा विभिन्न खालका प्रतिबन्ध घोषणा गर्दै गयो । देशभरि लागू नहोउन्जेल ती प्रतिबन्धहरू विस्तार गर्दै लगियो ।

सामान्य समयमा यो दृष्टिकोण संभवतः दूरदर्शी र विवेकी ठहरिन्छ । तर, इटालीमा भने यसले भाइरसको संक्रमण रोक्ने भन्दा पनि फैलाउन सहायता गर्यो। एक ठाउँदेखि अर्को ठाउँ बसाइँ सरेका हुलका हुल स्थानीयले पनि भाइरस आफूसँगै लिएर गए । र, संकट थपिंदै गयो ।

अत्यावश्यक सिकाइ
नेतृत्वमा सफलता र असफलताबाट जतिसक्दो चाँडै सिक्ने क्षमता र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढता चाहिन्छ । निश्चय नै चीन, दक्षिण कोरिया, ताइवान र सिंगापुरबाट महत्वपूर्ण पाठ सिक्न सकिन्छ । ती देशहरू प्रारम्भिक अवस्थामै संक्रमण धेरै हदसम्म रोकथाम गर्न सक्षम भए ।

भेनेटो शहर । तस्बीरः एपी

कहिलेकाहीँ उत्कृष्ट अभ्यासहरू सहजै थाहा पाउन सकिँदैन । त्यसका विविध कारण हुनसक्छन् । इटालीको स्वास्थ्य सेवा प्रणाली स्थानीय तहसम्म फैलिएको छ र तिनले फरक फरक नीति अवलम्बन गरेका छन् । जस्तो कि लोम्बार्डी र भेनेटो शहरलाई नै लिन सकिन्छ । यी उस्तै आर्थिक तथा सामाजिक स्थिति भएका र छिमेकी शहर हुन् ।

लोम्बार्डी यूरोपकै धनी र उत्पादनशीलमध्येको शहर हो । २६ मार्चसम्ममा यहाँका १ करोडमध्ये लगभग ३५००० जनसंख्या कोरोना भाइरसबाट संक्रमित देखिए, ५००० जनाको त मृत्यु नै भयो । विपरीत ५० लाख जनसंख्या भएको भेनेटोमा कोरोनाकै कारण २८७ जनाको मात्र मृत्यु भयो, ७००० मात्र संक्रमित भेटिए ।

लोम्बार्डी र भेनेटो, खासगरी यी दुवै शहरले समान सामाजिक दूरी र सीमित क्षेत्रमात्र बन्द गर्ने नीति नै अँगालेका थिए । तर, भेनेटो यत्तिमै सीमित भएन । भेनेटोले भाइरससँग लड्न बहुआयामिक रणनीति अपनायो । जस्तैः

–भेनेटोमा प्रारम्भमै रोगसूचक र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको व्यापक परीक्षण गरियो ।

–संक्रमणको अधिक जोखिममा रहेकाहरूको खोजी गरियो । संक्रमितका परिवार र छिमेकीहरूलाई समेत परीक्षण गरियो । टेस्टिङ किट उपलब्ध नभएर परीक्षण गर्न नपाएकाहरूलाई आफैं क्वारेन्टिनमा बस्न प्रेरित गरियो ।

–घरमै लक्षण पहिचान गर्न र हेरचाह गर्न विशेष जोड दिइयो । संभव भएसम्म बिरामीको घरैबाट स्याम्पलहरू संकलन गरियो र प्रयोगशालामा पठाइयो ।

–स्वास्थ्य सेवा र अत्यावश्यक कामदारहरूको अनुगमन र सुरक्षाका लागि विशेष प्रयासहरू गरियो । यी प्रयासहरूमा स्वास्थ्यकर्मी, नर्सिङ होम र हेरचाह गर्नेहरू, सार्वजनिक क्षेत्र सुपरमार्केट क्यासियर्स, फर्मासिस्ट, र सुरक्षा सेवामा रहेका कर्मचारीलाई विशेष प्राथमिकतामा राखियो ।

तर, लोम्बार्डीका अधिकारीहरूले भने केन्द्रीय सरकार अन्तर्गतका स्वास्थ्य अधिकारीहरूले दिएको निर्देशन मात्र मानिरहे ।

तथ्यांक संकलन र प्रवाह
इटालीले तथ्यांकसँग सम्बन्धित दुईवटा समस्या सामना गर्नुपर्यो। महामारी शुरु हुने वेला तथ्यांककै कमी थियो । त्यसमाथि पनि नयाँ महामारीले भाइरस र सरुवा रोग विज्ञानमाथिको विज्ञताले पनि समस्या थपेको हुनसक्छ ।

यसबाहेक वैज्ञानिकभन्दा पनि काल्पनिक भनाइले पनि भ्रम फैलाउने काम गर्यो । कोभिड १९ परीक्षण नगरीकन अरु नै किटबाट परीक्षण गरिएको भन्ने हल्लाले पनि शुरुमा वास्तविक तथ्यांक आकलन गर्न गाह्रो भएको देखियो ।

लोम्बार्डी शहर । तस्बीरः गेट्टी इमेजेज्

राज्य र अस्पतालका मृत्युदरका आकडालाई पनि संयोजन गर्ने क्षमतामा कमी देखियो । यस्ता महामारीमा अस्पतालका तथ्यांक अहम् हुन्छन् । तथ्यांकमा देखिने असंगतिले नीति निर्माता र सरकारले गर्ने लगानी र चाल्ने कदम प्रभावित हुन पुग्छ । इटालीले पनि त्यही भोग्यो ।

फरक निर्णय क्षमता
वास्तवमा महामारी रोकथामका लागि के र कस्ता प्रयास प्रभावकारी हुनसक्छन् भन्ने कुराको निष्कर्ष पाउन अबका केही महीना वा वर्ष पनि लाग्नसक्छ । किनकि अहिलेसम्म भाइरसको प्रकृति र स्वभाव नै राम्ररी केलाउन सकिएको छैन ।

तर, यस्तो अन्योलका बेला पनि के नगर्ने भन्ने कुरा भने इटालीको अनुभवले सिकाएको छ । त्यो हो, फरक निर्णय गर्ने क्षमता र अवधारणा । मुख्यतः दुई कुरा, पहिले समय खेर नफाल्ने र दोस्रो युद्धस्तरमा काम गर्ने । बहस र अध्ययन पछि गर्दै गरौंला, तर अहिले युद्धमा जस्तै मानव र आर्थिक संसाधन परिचालन गरिहाल्नुपर्छ ।

संकटबाट पार पाउने हो भने सामान्य अवस्थाभन्दा फरक सोंचका लागि अन्य प्राथमिकताका सूची स्थगन गरेर कोभिड १९ विरुद्ध लड्नु आजको आवश्यकता हो । काम कठिन हो, तर महामारीले हामीलाई यसो नगर्ने छुट दिएको छैन ।

(‘हावर्ड बिजनेस रिभ्यू’मा प्रकाशित आलेखको सम्पादित अंश)

 

प्रतिकृया दिनुहोस